Comments Add Comment

सशस्त्रको पेट्रोल पम्पबाटै काठ तस्करी, इन्पेक्टरले पोले एआईजी

१६ भदौ, काठमाण्डौं । सशस्त्र प्रहरी बलले चितवनको टिकौलीमा सञ्चालन गरेको पेट्रोल पम्पबाट अवैध रूपमा काठ तस्करी हुँदै आएको खुलासा भएको छ ।

पेट्रोल पम्पमा कार्यरत सशस्त्र प्रहरीले अवैध काठ भण्डारण गरी बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्मा र जिल्ला वन कार्यालयका प्रमुख (डीएफओ) को टोलीले शनिबार त्यहाँ छापा मारी भण्डारण गरिएका काठसमेत नियन्त्रणमा लिएको छ । छापा मार्न सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनका अधिकृतसमेत साथमा गएका थिए । स्रोतका अनुसार, काठ बरामद भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले शनिबार नै प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुबोध अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले काठ बरामद घटनाले ‘सशस्त्र प्रहरीको छविमाथि नै प्रश्नचिह्न खडा गरेको’ भन्दै यथाशक्य चाँडो सत्यतथ्य विवरण पेस गरी कारबाही सिफारिस गर्न छानबिन समिति गठन गरेका हुन् । सो टोली शनिबार साँझ घटनास्थल पुगिसकेको छ । सशस्त्र प्रहरी बलले कल्याणकारी कोषमार्फत चितवनको टिकौलीका अलावा काठमाडौं, भक्तपुर र पोखरासहित चार ठाउँमा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ । टिकौलीमा भने सशस्त्र प्रहरी बलले सशस्त्रकै अतिरिक्त महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराईका काका माधव र अन्य एकजनाको साझेदारी पेट्रोलपम्प सञ्चालन गरेको राजधानी दैनिकमा खबर छ । सो पेट्रोल पम्पको सञ्चालन तथा सुरक्षा भने सशस्त्र प्रहरीबाटै हुँदै आएको थियो ।

स्रोतका अनुसार जंगलको बीचमा रहेको सो पेट्रोल पम्पमा अवैध काठ भण्डार गरी फर्निचरसमेत बनाइने गरिएको थियो । ती फर्निचर काठमाडौंलगायत प्रमुख सहरमा बिक्रीका लागि लगिने गरिएको थियो । छापा मार्दा सतिसाल र सालको काठ बरामद भएको स्रोतले बतायो । यी काठका विभिन्न खालका फर्निचर बनाई खोलेर राखेको अवस्थामा थिए । १५ क्युफिट ती काठ करिब २ सय पिस रहेको बताइएको छ । सो पेट्रोल पम्पमा सशस्त्र प्रहरी निरीक्षक सन्तराम चौधरीको टोली खटिँदै आएको छ । उनले प्रमुख जिल्ला अधिकारी शर्मालाई ती काठ एआईजी ऋषभदेव भट्टराईको भएको र काठमाडौं पठाउन राखिएको बयान दिएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment