Comments Add Comment

चुनावी तालमेलका लागि मधेसवादी दल सक्रिय

१६ भदौ, काठमाडौं । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले मधेसवादी दलहरुबीच चुनावी मोर्चावन्दीका लागि अन्तिम प्रयास गर्ने भएको छ ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग तालमेलको सैद्धान्तिक सहमति भइसकेको छ भने उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीसँग कुराकानीको तयारी भइरहेको छ । ‘हामी १८ गतेसम्म चुनावी अभियान सम्पन्न हुन्छ । त्यसपछि हामी मोर्चावन्दीको अन्तिम प्रयास गर्छौं’ सह-महामन्त्री जितेन्द्र सोनलले अनलाइनखबरसँग भन्नुभयो ।

उहाँका अनुसार २५ गतेपछि भने सहमति नभए पनि तमलोपाले उम्मेदवार छनोट र टिकट वितरणको काम थाल्नेछ ।’सकेसम्म हाम्रो पार्टी, उपेन्द्रजी, विजयजी र राजेन्द्रजीसहितको मधेसका मुख्य चार पार्टीको मोर्चावन्दी गरौं भन्ने प्रयास हो’ सोनलले भन्नुभयो- ‘२५ गतेसम्म सहमति भएन भने हामी टिकट वितरण गर्न थाल्छौं ।’

सदभावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले मधेसवादी दलहरुको एउटै मोर्चा बनाउन छलफल सुरु हुन लागेको बताउनुभयो । स्रोतका अनुसार सद्भावनाले तमलोपा र उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल दुबैसँग मोर्चावन्दीबारे छलफलको तयारी गरेको छ । उपेन्द्र यादव र विजयकुमार गच्छदार एउटै मोर्चामा बस्ने सम्भावना निकै कम भएकाले दुबै पक्षसँग छलफल गर्न लागिएको सद्भावनाका एक नेताले बताए ।

मधेसी जनअधिकार फोरमले मोर्चावन्दीबारे छलफल चलाएपनि ठोस निर्णय भएको छैन । फोरम नेपालको सरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीसँग मोर्चावन्दीको सम्भावना बढी छ ।

तमलोपा नेपाल र राष्ट्रिय सद्भावनाबीच एकता

तमलोपा नेपाल र राष्ट्रिय सद्भावना पार्टीबीच भने आइतबार पार्टी एकता हुने भएको छ । अधिकांश पदाधिकारीले पार्टी छाडेपछि महेन्द्र यादवले राष्ट्रिय सद्भावनाका सबै नेताहरुलाई पार्टीमा भित्र्याउन लाग्नुभएको हो ।

पार्टी एकताको गृहकार्य भइरहेको छ । कार्यदलले तराई मधेस सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल वा राष्ट्रिय तराई मधेस सद्भावना पार्टीको नाम प्रस्ताव गरेको छ । एकतापछि पार्टी अध्यक्ष महेन्द्र यादव र सह-अध्यक्ष सद्भावनाका वर्तमान अध्यक्ष रामनरेश यादव रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment