Comments Add Comment

दैनिक हजार किलो फलाम संकलन

२२ भदौ, काठमाण्डौं । महानगरपालिकाले छतमाथिका होर्डिङ बोर्ड हटाउने क्रममा दैनिक १ हजार केजी फलाम संकलन गरिरहेको छ ।

‘होर्डिङ बोर्ड हटाउँदा निस्केको फलाम जोखेर राख्ने गरिएको छ,’ महानगर नगर प्रहरी विष्णु बोगटीले भने, ‘सरदरमा दैनिक १ हजार केजी फलाम जम्मा भइरहेको छ ।’ गत १ साउनदेखि ‘विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन नीति’ लागू गर्दै महानगरले छतमाथिका होर्डिङ बोर्ड हटाउन थालेको हो ।

हालसम्म उसले २ सय ३ ओटा ठूला आकारका होर्डिङ बोर्ड हटाइसकेको छ । यसबाट निस्केको फलाम पनि ३० हजार केजी पुगिसकेको छ । संकलित सबै फलाम लिलाम गरिने भएको छ ।

महानगरपालिकाले छतमाथिका सबै होर्डिङ बोर्ड हटाउन विज्ञापन व्यवसायीलाई पटकपटक आग्रह गरेको थियो । तर, व्यावसायीले अटेर गरेपछि महानगरपालिका आफैंले होर्डिङ बोर्ड निकाल्न थालेको हो ।

महानगरपालिका क्षेत्रमा ६ सय ओटा ठूला आकार (८ सय वर्गफिट) का होर्डिङ बोर्ड रहेको अनुमान छ । मझौला आकारका होर्डिङ बोर्ड करिब ७ सय ३० छन् । महानगरपालिकाले छतमाथिका पूरै र अन्यको हकमा कानुनी मापदण्डबाहिरका सबै होर्डिङ बोर्ड क्रमशः हटाउने बताएको राजधानी दैनिकमा खबर छ ।

‘२२औं नगर परिषद् बैठकले छतमाथि होर्डिङ बोर्ड राख्नै नदिने र भएकालाई पनि हटाउने निर्णय गरेको छ,’ महानरपालिका राजस्व महाशाखा प्रमुख धुव्र काङ्खलेले भने, ‘त्यसैले, अब बिस्तारै छतमाथिका सबै होर्डिङ बोर्ड हट्नेछन् ।’

विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन नीतिमा २ सय वर्गफिटभन्दा ठूला होर्डिङ बोर्ड दर्ता नगरिने, सार्वजनिक स्थल र पोलमा राखिएका होर्डिङ बोर्ड हटाइने, ऐतिहासिक सम्पदा, सिंहदरबार, प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको बाहिरी सीमादेखि १ सय मिटरसम्ममा ३० वर्गफिटको व्यावसायिक परिचय पार्टी मात्र राख्न दिइनेलगायत उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment