Comments Add Comment

नयाँ पत्रकारलाई चाहिँ कुट्न पाइन्छ ?

मोरङको सुन्दर हरैंचा नगरपालिकामा अवस्थित सुकुना बहुमुखी क्याम्पसको विषयलाई लिएर केही दिनदेखि यहाँ नेकपा र कांग्रेसमा आवद्ध अखिल र नेवि संघवीच तनाव भइरहेको छ । केही झडपमा घटना पनि भएका छन् । यहीक्रममा शुक्रबार नेविसंघको जुलुसको तस्वीर र भिडियो खिचिरहेका बेला नेविसंघ र तरुण दलका कार्यकर्ताहरुले मलाई कुटपिट गरे । भिडियो खिच्न प्रयोग भइरहेको स्मार्ट फोनमा पनि क्षति पुर्‍याइदिए ।

कुटपिटको घटनापछि म बिराटचाैक स्थित सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएँ । पत्रकार महासंघ मोरङले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको कुटपिटको विरोध गर्‍यो । प्रेस चौतारी र प्रेस सेन्टरका महासचिवद्वयले काठमाडौंबाट शुक्रबार नै संयुक्त विज्ञप्ति जारी गरेर पत्रकार कुटिएको घटनाको विरोध गरे ।

प्रदेश १ का महासंघका सभापति विक्रम लुइँटेलले पनि पत्रकारमाथि भएको घटनाको विरोध गर्दै मोरङ प्रहरी प्रशासनसमक्ष दोषीलाई कारवाही गर्न आग्रह गरे ।

स्वास्थ्य जाँचसँगै मैले बेलबारी प्रहरीमा स्थानीय सञ्चारकर्मी साथीहरुको सहयोगमा जाहेरी दर्ता गराएँ । त्यसक्रममा नेकपा समर्थित अखिलका कार्यकर्ताहरुले मलाई स्थानीय कांग्रेस नेताका नाममा समेत जाहेरी दिन आग्रह गरेका थिए । तर, मैले मानिनँ । जो व्यक्ति कुटपिटमा संलग्न भएको हो, उसलाई मात्रै कारवाही होस् र यो घटनालाई राजनीतिकरण नगरियोस् भनेर नै मैले स्थानीय कांग्रेस नेताका नाममा समेत जाहेरी दिइयोस् भन्ने नेकपाका कार्यकर्ताको सल्लाह अस्वीकार गरेको हुँ । घटनामा संलग्नै नभएको व्यक्तिलाई मुद्दा चलाएर दुःख दिनु भनेको सामन्ती संस्कार हो भन्ने मेरो बुझाइ छ ।

ममाथि सामुहिक कुटपिटमा संलग्न भएको आरोपमा मैले नेबिसंघका मोरङ ३ नम्बर क्षेत्रका क्षेत्रीय सभापति होमनाथ पोखरेल र तरुण दलका मोरङ कोषाध्यक्ष नवीन रिजालविरुद्ध किटानी जाहेरी दिएको छु । अन्यको पहिचान नभएकाले खोजी गरेर कारवाही होस् भन्ने मेरो माग छ । तर, प्रहरीले अहिलेसम्म उनीहरुमाथि कारवाही गरेको थाहा भएको छैन ।

प्रेस युनियनको अचम्मको वक्तव्य

रिपोटिङमा रहेका बेला पत्रकार हो भनेर चिन्दाचिन्दै ममाथि कुटपिट भएकोमा पत्रकार महासंघलगायत सबैले भत्सर्ना गरिरहेका बेला विहीबार नै प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत र सचिव गोपाल पोखरेलका नामबाट एउटा अनौठो विज्ञप्ति जारी भयो ।

नेपाली कांग्रेसको भातृ संगठन युनियनका नाममा जारी भएको प्रेस विज्ञप्तिमा ‘निकेश बराल पत्रकार होइनन्, उनी विगत ५ दिनदेखि सुकुना क्याम्पसमा  गर्न गएका थिए’ मात्रै भनिएको छैन, नेविसंघका कार्यकर्ताको टाउको काट्ने मोर्चाका अग्रपंक्तिमा थिए’ सम्म भनिएको छ । विज्ञप्तिमा मलाई अखिलको कार्यकर्तामात्रै होइन, टाउको काट्ने अभियन्ताका रुपमा समेत किटानीसाथ चित्रित गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति-

बेलबारीका पुराना पत्रकार भन्ने नामले मैले एकतर्फीरुपमा चिनेका भोजराज अंकलको विज्ञप्ति देखेर म चकित परें । सुकना क्याम्पसमा झडप भएको बिहान म कोठामै सुतिरहेको थिएँ, पछि थाहा पाएर रिपोटिङमा गएको हुँ । बरु मैले काम गर्ने उज्यालो अनलाइनमा नेविसंघका नेता होमनाथ पोखरेलको भाषणको रिर्पोटिङ गरेर बाइलाइन समाचार चाहिँ छापेको छु । (हेर्नुहोस् समाचार)

म सुकुना क्याम्पसको नियमित विद्यार्थी हुँ । अखिल वा नेविसंघमा लाग्न पाउने मेरो अधिकार हो, तर म न अखिलको कार्यकर्ता हुँ, न त नेविसंघको । यो अवस्थामा म ‘टाउको काट्ने मोर्चा’ मा संलग्न हुने कुरै भएन ।

प्रेस युनियन मोरङको अध्यक्षजस्तो जिम्मेवार पदमा बसेका पत्रकार भोजराज अंकललाई म के आग्रह गर्न चाहन्छु भने यदि म नेविसंघको टाउको काट्ने मोर्चामा अग्रपंक्तिमा सामेल थिएँ भने मलाई सिधै पक्राउ गर्नुभए हुन्छ । जेलमा हाले हुन्छ । किनभने, लोकतनत्रमा कसैको पनि ‘टाउको काट्ने व्यक्ति’लाई उन्मुक्ति दिनुहुँदैन भन्ने मेरो मान्यता छ । अन्यथा जिम्मेवार पत्रकारले भर्खरै मिडियामा प्रवेश गरेको नवप्रवेशी पत्रकारलाई यसरी ‘हत्यारा’ जस्तो जघन्य आरोप लगाउनु सैह्य हुँदैन ।

ममाथि नेविसंघका कार्यकर्ताहरुले कुटपिट गरेपछि स्वाभाविक रुपमा नेकपा र अखिलका नेता कार्यकर्ताले मलाई मेट्नुभयो, स्वास्थ्यलाभको कामना गर्नुभयो र ढाडस दिनुभयो । यसका लागि नेकपालाई धन्यवाद दिन चाहन्छु । तर, म नेकपाका सबै गतिविधि सही हुन् भन्दै अन्धसमर्थन गर्ने पक्षमा छैन । कुटपिट र गुण्डागर्दीर् जसले गरे पनि दोषीमाथि सजायँ हुनैपर्छ, चाहे नेकपाले गल्ती गरेको होस्, चाहे कांग्रेसले ।

जहाँसम्म निकेश बराल पत्रकार हो कि हैन, छानविन होस्, ‘अखिलका कार्यकर्तालाई पत्रकार मानिँदैन’ भन्ने युनियनका अध्यक्ष भोजराजको भनाइ छ, त्यसमा म पत्रकार हो कि हैन भनेर छानविन गरिँदा मलाई अन्यथा हुनेछैन ।

अझ कांग्रेस-कम्युनिष्टका कार्यकर्तालाई पत्रकार नमानौं र पत्रकारितालाई व्यवसायिक मर्यादायुक्त बनाऔं भन्ने हो भने त्यो हामीजस्ता नयाँपुस्ताका लागि झनै स्वागतयोग्य हुनेछ । यो अभियान म सहयोग गर्न म तयार छु ।

जहाँसम्म निकेश पत्रकार होइन भन्ने युनियनको दाबी छ, यसमा म आफ्नो बारेमा केही भन्न चाहन्छु । हो, म मोरङमा चिनिएको पत्रकार होइन । म पत्रकार भैसकेको पनि छैन, यो क्षेत्रमा भर्खरै प्रवेश गरेको किशोर हुँ ।

गत वर्ष काठमाडौंस्थित नेपाल कमर्श क्याम्पसमा पढ्दै गर्दा मैले पढाइसँग मिल्ने आर्थिक न्युज डटकममा काम गरे । मध्य बानेश्वरमा अफिस रहेको सोही अनलाइनको डेस्कबाट मैले पत्रकारिताको कखरा सिकेको हुँ । तर, पारिवारिक अवस्थाका कारणले दोस्रो वर्षदेखि सुकुना क्याम्पसमा म सिफ्ट भएर अहिले डेरा बसेर सुकुना क्याम्पसमै अध्ययनरत छु ।

अनलाइनको डेस्क, एडमिन सञ्चालन, न्युज पोष्टिङ एवं मल्टिमिडियामा मसँग प्राविधिक ज्ञान र अनुभव भएकाले मैले बेलबारीबाट भर्खरै सुरु हुन थालेको उज्यालो प्रदेशमा यही महिनादेखि रिपोर्टरको जागिर पाएको हुँ । म बेलबारीस्थित कार्यालयमा हाजिर भएर काम गर्न थालेको एक महिना पनि पुगेको छैन । लेखक बन्ने मेरो धोको हनि घर खर्च धान्न पारिवारिक समस्या भएकाले मैले अध्ययन सँगसँगै पत्रकारिता सुरु गरेको हुँ ।

मजस्तो भर्खरै उच्च शिक्षा पढ्दै गरेको सामान्य परिवारको युवकले पत्रकारिता क्षेत्रमा आउन मिल्छ कि मिल्दैन भोजराज अंकल ? आज वा अहिल्यैदेखि मिडियाको अफिसमा जागिर खान मिल्छ कि त्योभन्दा पहिले  प्रेस युनियनले चिन्ने भएपछि मात्रै यो क्षेत्रमा प्रवेश गर्न पाइन्छ ?

अनि, मजस्तो भर्खरै पत्रकारितामा आएको रिपोर्टरलाई चाहिँ सडकमा  कांग्रेसको जुलुसको तस्वीर लिँदै गर्दा समातेर ड्याम ड्याम कुटपिट गर्न मिल्छ ? अन्यथा, प्रेस युनियन मोरङको विज्ञप्तिको अर्थ के हो ? झडपका दिन डेरामा सुतिरहेको व्यक्तिलाई ‘नेविसंघको टाउको काट्ने मोर्चाको अगुवा’ भनेर आरोप लगाउनु आफैंमा जघन्य अपराध हो कि होइन ?

प्रेस स्वतन्त्रताका पहरेदार प्रेस युनियनका केन्द्रीय नेताहरुले यसको जवाफ दिउन् । नेपाल पत्रकार महासंघले पनि काठमाडौंदेखि बेलबारीसम्मको मेरो ट्रयाक रेकर्ड हेरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment