News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई शृंखला अन्तर्गत वेस्ट इन्डिजलाई ९० रनले हराउँदै शृंखला एक खेल अगावै जितेको छ।
- नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भएको थियो।
- आदिल आलमले ४ विकेट लिए भने आसिफ शेख र सन्दीप जोराले क्रमशः ६८ र ६३ रन बनाए।
१३ असोज, काठमाडौं । वेस्ट इन्डिजलाई लगातार खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई शृंखला एक खेल अगावै जितेको छ ।
नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । वेस्ट इन्डिज कुनैपनि बेला खेलमा हावी हुन सकेन ।
नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए ।
नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।
यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो । यस खेल जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला समेत जितेको छ ।
प्रतिक्रिया 4