Comments Add Comment

वडा अध्यक्षको पम्पबाट मिसावटको पेट्रोल बिक्री, स्थानीयले मागे क्षतिपूर्ति

Photo Credit : आशिष मल्ल/मिसावटको पेट्रोल बिक्री गरिएको भन्दै विरोधमा उत्रिएका स्थानीय

१६ चैत, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ८ का अध्यक्ष नरबहादुर साँकीको लगानीमा सञ्चालित पम्पबाट प्रज्वलनशील तरल पदार्थ पेट्रोल मिसावट गरी बिक्री भइहेको स्थानीयले बताएका छन् । यस विषयमा स्थानीय प्रशासन मौन बसेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् र क्षतिपूर्तिसमेत मागेका छन् ।

पेट्रोलपम्प सञ्चालक वडा अध्यक्ष साँकी भने आफूले कमजोरी नगरेको र मिसावट देखिएमा सम्वन्धित व्यक्तिलाई कारबाही गर्न आफू पनि सहमत रहेको बताउँछन् ।

अमरगढी नगरपालिका वडा नं. ५ मा रहेको उग्रतारा आयल स्टोर भनेर चिनिने पेट्रोल पम्प नगरका वडा अध्यक्ष साँकीको लगानीमा सञ्चालित छ । पेट्रोल पम्पबाट पेट्रोलमा मिसावट गरी बिक्री गर्दा मोटरसाइकलबाट पानीजस्तो सेतो तरल पदार्थ निस्किएको देखिएको छ ।

शुक्रबार बिहान मात्रै पेट्रोलपम्पबाट तेल हालेर फर्किएको २ मिनेटमै मोटरसाइकल बन्द भएपछि तेलको पाइप खोलेर हेर्दा पानी निस्किएको अजयमेरुका मोटरसाइकल धनी हर्कबहादुर बोहराले बताए । यसभन्दा अगाडि गत पुस २२ गते पनि यस्तै भएको थियो ।

बैतडीबाट कन्चनपुर गइरहेका एक जना मोटरसाइकल धनीले उक्त उग्रतारा आयल स्टोरबाट पेट्रोल हाले, तर मोटरसाइकल केहीबेरमै रोकियो । ‘महेन्द्रनगर जाँदै थिएँ बाटोमा पेट्रोल सकिँदा डडेल्धुराको कीर्तिपुरबाट पेट्रोल हालेँ तर बागबजार पुग्न नपाउँदै बाइक रोकियो,’ नाम नबताउने सर्तमा उनले भने, ‘मोटरसाइकलको ओभरफ्लोबाट पानी जस्तो सेतो तरल बगिरहेको थियो । प्रहरीकै सामुन्ने जम्माजम्मी २ बोतल जति पानी जस्तो तरल पदार्थ निस्किएको थियो ।’

मोटरसाइकलबाट निस्किएको पानी बोतलमा

विज्ञानको सिद्धान्त अनुसार पानीभन्दा पेट्रोलको घनत्व बढी हुन्छ । खासमा जुन वस्तुको घनत्व पानीभन्दा बढी हुन्छ, त्यो वस्तु पानीमा सजिलै डुब्छ । त्यसैले पेट्रोल पानीमा डुबेर तल जान्छ, जसले गर्दा मोटरसाइकलको ट्यांकी पेट्रोलले भरिएजस्तो देखिन्छ तर तर तल बसिसकेको पानी देखिँदैन ।

मोटरसाइकलमा फ्युल फिल्टर नामक एक पुर्जा हुन्छ जसको काम पेट्रोलमा मिसिएको जेसुकैलाई पनि छानेर मोटरसाइकलको तल रहेको ओभरफ्लोबाट फाल्ने गर्दछ । पम्पबाट हालेको पेट्रोलमा केही मिसावट भएको हुँदा नै ओभरफ्लोबाट त्यती धेरै मात्रामा तरल निस्केको एक मोटरसाइकल मर्मतकर्ताले बताए ।

प्रशासन मौन

गत पुसमा भेटिएको दुई बोतल तरल पदार्थ प्रहरीले लगेको थियो । त्यसबारे प्रशासनलाई सोध्दा बाइकबाट निस्केको तरललाई परीक्षणका लागि पठाइएको र जाँचको नतिजा आए कार्वाही हुने जानकारी दिइएको थियो । तर न त नतिजा आयो न त कार्वाही नै भयो ।

पुनः शुक्रबार पनि पेट्रोलको नमूना परीक्षणका लागि लिएको बताउँदै परीक्षणमा मिसावट देखिएमा कारबाहीका लागि पछि नहट्ने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

तर उपभोक्ता हित विपरित कालोबजारी भइरहँदा स्थानीय प्रशासन र सरकार मौन बस्नु लज्जास्पद भएको यहाँका आम नागरिकको बुझाइ छ । आमजनताको उपभोग गर्ने अधिकार माथि बारम्बार खेलवाड भएको भन्दै स्थानीय उपभोक्ताहरुले छानविन गरी कारबाहीको माग गरेका छन्

डडेल्धुराको सदरमुकाममा दुई पेट्रोल पम्प रहेका छन्- बिरबेताल आयल स्टोर र उग्रतारा आयल स्टोर । एक पटकमा धनगढीस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयबाट ६/६ हजार लिटर पेट्रोल आउने गरेको भएपनि उग्रतारा पेट्रोल पम्पले भने एक दिनमै सिद्धियो भन्ने गरेको स्थानीय बताउँछन् ।

पेट्रोलपम्प स्थापना भएदेखि आजसम्म आइपुग्दा समेत पेट्रोल पम्पले सही रुपमा सेवा दिन नसकेको र जहिले पनि तेलको अभाव देखाएर टार्ने गरेको स्थानीय भुवन भण्डारीको आरोप छ ।

पेट्रोल सकियो भनेर भन्ने, तर पछि आफैं बोतल भरेर बेच्ने स्रोत बताउँछ । पेट्रोलियम पदार्थको वितरण सही रुपमा नभई एक दिनमै सकिएको भनेर उक्त पम्पले कालोबजारी गरिरहेको स्थानीय सेवाग्राहीको आरोप छ । पटकपटक पेट्रोल पम्पबाट स्थानीयलाई ठग्ने काम मात्र भएको उनीहरुको गुनासो छ ।

‘ब्ल्याक’मा पेट्रोल

एक पटकमा ६ हजार लिटर आएको पेट्रोल समान्यतया एक दिनमै सकिने गर्छ । सदरमुकाम कीर्तिपुरमा रहेको पेट्रोल सिद्धिएको केही दिनमै अमरगढी नगरपालिका वडा नम्बर १ मा रहेको पम्पमा पनि पेट्रोल सकिने अवस्था आउँछ, त्यसपछि डडेल्धुरामा पेट्रोलको चरम अभाव सुरु हुन्छ तर बजारभरी ‘ब्ल्याक’मा पेट्रोल पाइन्छ । ‘पम्पमा १०० रुपैयाँमा पाउने पेट्रोल बाध्य भएर १५० सम्म हालेर किन्न उपभोक्ता बाध्य हुन्छन् । प्रशासनलाई त्यो कालोबजारीबारे राम्ररी थाहा छ तर कुनै कदम उठाउन सक्दैन ।

डडेल्धुरामा रहेको उक्त पेट्रोलपम्पले मिसावट गरिएको पेट्रोल बिक्रीवितरण गरेको भन्दै स्थानीय आन्दोलित समेत भएका छन् । पेट्रोलमा मिसावट भएको देखेपछि उक्त पम्पबाट पेट्रोल हाल्नेहरु विरोधमा छन् । मोटरसाइकलमा मिसावट गरिएको पेट्रोल हालेर ठगी गरेको भन्दै स्थानीय सेवाग्राहीहरुले क्षतिपूर्तीको माग राखेका छन् ।

उनीहरुले घटनास्थलमै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिकाका प्रमुख र पेट्रोलपम्पका सञ्चालकलाई समेत बोलाएर मोटरसाइकलमा समस्या देखिए क्षतिपूर्ति दिनुपर्ने माग समेत राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment