
News Summary
Generated by OK AI. Editorially reviewed.- कमल थापाले आगामी १५ जेठबाट हुने आन्दोलन शान्तिपूर्ण रहने बताएका छन् र दुष्प्रचार नगर्न चेतावनी दिएका छन्।
- उनी भन्छन्, आन्दोलन भ्रष्टाचार, कुशासन र धर्मपरिवर्तनको विरुद्धमा हो र यसले देशको समृद्धि र प्रगति ल्याउने उद्देश्य राख्दछ।
- थापाले सरकारलाई आफ्नो माग र आन्दोलन प्रति गम्भीर हुन आग्रह गर्दै दमनकारी कदमले असजिलो परिस्थिति सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।
३० वैशाख, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न चेतावनी दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएका हुन् ।
‘ब्रह्मलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको छ,’ उनले भने, ‘आन्दोलन शान्तिपूर्ण हुनेछ । हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भइरहेको धर्मपरिवर्तनको विरुद्धमा छौं, देशको समृद्धि र प्रगति चाहन्छौं ।’
संविधानले दिएको अधिकार प्रयोग गरेर फरक विचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गर्दा हिंसात्मक आन्दोलनको नाम दिएर दबाउने प्रयास नगर्न उनको चेतावनी छ । त्यस्तो दुष्प्रयास भए असजिलो परिस्थिति निर्माण हुने थापाले बताएका छन् ।
‘हामी राष्ट्रियता बलियो बनाउन चाहन्छौं । प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिँदैछ । त्यो चिर्दै अघि बढ्छौं,’ अध्यक्ष थापाले भने, ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ । दमन गर्न तर्फ अग्रसर भई जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रूपमा असजिलो परिस्थिति निर्माण हुनेछ ।’
राजावादी पार्टी र संघसंस्थाहरूले आगामी १५ जेठबाट अनिश्चितकालीन जनआन्दोलन अघि बढाउने घोषणा गरेका छन् । त्यसको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन थापाले कार्यकर्तालाई निर्देशनसमेत दिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई थापाले पार्टीमा स्वागत समेत गरे ।
प्रतिक्रिया 4