+
+

आशिष अविरल अर्थात् अ‘भाइरल’

विनोद घिमिरे विनोद घिमिरे
२०७५ चैत १६ गते १०:५१

१६ चैत, काठमाडौं । सांगीतिक बजारमा संगीतकार आशिष अविरलको बेग्लै चर्चा छ, अविरल होइन अ’भाइरल’ । एकपछि अर्को गीत ‘भाइरल’ हुन थालेपछि उनको नामै बदलिएको हो-आशिष अ’भाइरल’ ।

हुन पनि उनले संगीत र एरेन्ज गरेका गीतले अहिले बजार तताएका छन् । ०६३ सालतिर ‘बास्ना’ एल्बमका गीतलाई श्रोताले अत्यधिक मनपराएसँगै उनको चर्चा चुलिन थालेको हो । आनन्द अधिकारीको शब्द, नरेन्द्र प्यासीको स्वर र उनको संगीतमा ‘बास्ना’ एल्बम तयार भएको थियो । यी तीन सर्जकको यात्राले तीनवटै एल्बम जन्मायो- बास्ना, सृष्टि र वाणी । जसमा समावेश ‘तिमीविनाको जीवन’, ‘तिम्ले दिने माया’, ‘फूलको दिलमा पनि’, ‘माया ओ माया’ ‘जाम क्यारे उडेर’ लगायत बोलका गीत लोकप्रिय छन् ।

जतिबेला नेपाली संगीत बजार संक्रमण अवस्थामा थियो, त्यहीबेला आशिष अविरलको ‘बास्ना’ एल्बल नयाँ ऊर्जाका साथ बजारमा आएको थियो । सिआरबिटीमार्फत सर्जकले केही राहत पाउन लागेको अवस्थामा उनको एल्बम बजारमा आएको थियो । बास्नाका ‘तिमीविनाको जीवन’, ‘तिम्ले दिने माया’ बोलको गीत तत्कालीन समयमा सर्वाधिक बिक्री र सिआरबिटीका लागि सर्वाधिक डाउनलोड भए । आधुनिकतर्फ ‘तिम्ले दिने माया’ उनको डेब्यु गीत थियो ।

त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन, नेपाली सांगीतिक बजारमा उनी सधैँ बिकाउ बने । आधुनिक, लोक, चलचित्र सबै क्षेत्रको संगीत सिर्जना तथा गायनमा उनी अब्बल छन् ।

‘बास्ना’ एल्बमअघि उनले केही लोकगीतका एल्बम निकालेका थिए, आफ्नै स्वर र लय संकलनमा । जसले उनलाई काठमाडौंमा बस्न-खानका लागि सघाइरहेका थिए । बास्ना एल्बमपछि भने उनको यात्रा सफलतातर्फ मात्रै उन्मुख रहृयो ।

उनी संगीतकार, एरेन्जर मात्रै होइन, गायकका रुपमा पनि अहिले चर्चामा छन् । उनको संगीतसँगै गायकी रहेको ‘मर्जी होस्’ बोलको गीत अहिले चर्चामा छ भने चलचित्र ‘ए मेरो हजुर-३’ मा पनि उनले स्वर र संगीत दिएका छन् । ए मेरो हजुर-३ बाट चलचित्रको संगीतमा डेब्यु गरेका उनले अन्जु पन्तसँग गाएको ‘परान परान’ गीतले अहिले युट्युबमा राम्रो भ्यूज पाइरहेको छ ।

उनको संगीत र एरेन्ज रहेका हरेक गीत चर्चित छन् । उनको संगीत र संगीत संयोजन रहेको ‘नाइँ मलाई थाछैन’, ‘मीठो सारै मीठो’, ‘लाउनेले नजर लगायो त’, ‘माया लुकीलुकी’, ‘मेरो दुनियाँ बेग्लै छ’, ‘यो कुरा गोप्य’, ‘तिमी नै मेरो सास हौ’, ‘म बाँचेको’ लगायत बोलका गीत उदाहरण हुन् ।

‘शिव परियार, प्रमोद खरेल, वसन्त थापा लगायत साथीहरुले मलाई सुनाउनुहुन्छ- तपाईंलाई त मान्छेहरुले अविरल होइन, अ’भाइरल’ भनेर चिन्छन्,’ आशिष अविरल दंग पर्दै भन्छन्, ‘उहाँहरुबाट यस्तो सुन्दा खुसी नै लाग्छ ।’

रक्तिम परिवारदेखि  राग स्टुडियोसम्म

बाग्लुङ जिल्लाको मल्म गाविसमा जन्मे-हुर्केका अविरलको सांगीतिक यात्रा पनि गाउँदेखि नै सुरु हुन्छ । पञ्चैबाजा बजाउने परिवारका उनले सानैदेखि बाबुसँग बजाउन हिँड्थे । तर, उतिबेला उनले बाजा बजाउँदा सम्मान र स्याबासी होइन, अपमान र कुटपिट सहनुपर्थ्यो । उनी मन अमिलो पार्दै ती पुराना दिन सम्झन्छन् ‘बुबाको पछि लागेर विवाहमा बाजा बजाउन गएको थिएँ । नाच्ने निहुँमा जन्तीले मलाई कुचे, लात्तीले पनि हाने । त्यसपछि अरुको घरमा बाजा बजाउन गइनँ ।’

जति अपहेलना सहे पनि उनले संगीतलाई माया गर्न थालिसकेका थिए, उनीभित्र संगीतप्रतिको मोह जागिसकेको थियो । एसएलसी पास गरेपछि उनी बाग्लुङ सदरमुकाममा उच्च शिक्षाका लागि आए । त्यहाँ उनले अध्ययनसँगै संगीतको दुनियाँमा पनि हराउन पाए । त्यतिबेला रक्तिम सांस्कृतिक अभियानलाई उनीजस्तै बजाउन जान्ने कलाकार चाहिएको थियो । उनी झन्डै पाँच वर्ष अभियानमा लागे र त्यहीँबाट संगीतको आधारभूत ज्ञान पनि लिए ।

उनको प्रतिभालाई नजिकबाट नियालेका मसालका तत्कालीन नेता तथा अंग्रेजी गुरु झोकेन्द्र थापाले भने, ‘तपाईंजस्तो मान्छे यहाँ बसेर हुन्न । काठमाडौं गएर संघर्ष गर्नुस् ।’

उनी ०५७ तिर काठमाडौं आए- गायक, संगीतकार हुने सपना पालेर । त्यही साल रेडियो नेपालमा लोकगीत प्रतियोगितामा भाग लिएका उनले लोकगीतको रस र बजार बुझे, अनि लोकदोहोरीको एल्बम निकाल्न थाले । यसबाट धेरै फाइदा नभए पनि लगानी उठ्थ्यो र रहर पनि पूरा हुन्थ्यो ।

यसरी खासै कमाइ नभएपछि उनी एकपटक गाउँ फर्केर पढाउन थाले । तर, संगीतको नशा चढिसकेकाले उनी फेरि काठमाडौं फर्केर संघर्ष गर्न थाले । सिकाइको भोकले उनलाई डोरेमी संगीत पाठशाला, गुरुदेव कामतदेखि नोर्बु आप्पासम्म पुर्‍यायो । यो बीचमा उनले ललितकला क्याम्पसबाट संगीतमा स्नातक पढे । गुरु थापेर किबोर्ड बजाउन सिके । संगीतकार बिबी अनुरागीको प्रिज्मा रेकर्डिङ स्टुडियोमा केही समय संगीत, एरेन्ज, रेकर्डिङ सबन्धी कामहरु हेरे । भारत, बम्बईको भ्रमण गरे । संगीत, संगीत संयोजन सम्बन्धी अनलाइन कोर्सहरु पनि लिए । अहिले पुतलीसडकमा उनको राग रेकर्डिङ स्टुडियो पनि सञ्चालित छ ।

अझै पनि उनी संगीतसम्बन्धी खोज, अध्ययन र अभ्यासमा लीन छन् । उनी भन्छन्, ‘संगीत सागर हो । हामी त यसको एक किनाराबाट यात्रा गर्ने हो, सयर गर्ने हो, डुब्ने हो, खोज्ने हो ।’

उनीमा यस्तो चिन्तन आउनु पछाडिको कारण भारत भ्रमण पनि थियो । उनी त्यहाँ संगीत सिक्ने बहानामा एक प्रसिद्ध संगीतकारकहाँ पुगे । ती व्यक्ति एरेन्जर पनि रहेछन् । त्यहाँको साधन र प्रविधि देखेर उनलाई अनौठो लाग्यो । उनले थाहा पाए, त्यहाँ जसलाई उनले भेटे, त्यो व्यक्ति त पियानोवादक, संगीत शिक्षक, साउन्ड इन्जिनियर पनि रहेछन् । पश्चिमी संगीत ज्याज, ब्लुज, रक सबैको गहिरो अध्ययन गरेका, भारतीय शास्त्रीय संगीतको पनि उस्तै ज्ञान लिएका । आशिष भन्छन्, ‘ती संगीतकारले त्यतिबेला पनि पैसा तिरेर संगीत सिकिरहेका रहेछन् । मलाई लाग्यो, संगीतको साधना कहिल्यै सकिँदैन ।’

लोकशैली र डान्सबिटमा दबदबा

एकपछि अर्को सफल सुरुवाती समयमा उनले लोकगीतका क्यासेटबाट आर्थिक वा चर्चा हिसाबले पनि खासै सफलता पाएनन् । जब उनी आधुनिक हुँदै लोकशैलीका गीतमा आए, उनले संगीत र संगीत संयोजन गरेका गीत लोकप्रिय बनिरहे । अहिले एफएम रेडियोमा उनका गीत बजेकै हुन्छन् र युट्युबमा उनका गीतले भ्युअर कमाइरहेका छन् । सुरुवाती एल्बम बास्ना, सृष्टि र वाणीपछि उनी विशेषतः संगीत र संगीत संयोजनमा केन्द्रित हे ।

उनले संगीत संयोजन गरेका चर्चित लोकगीत औँलामा गनीसाध्य छैन, उदाहरणका लागि एउटै गीत काफी छ- सालको पात टपरी हुने । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर तथा वसन्त थापाको लय शब्द संकलन रहेको यो गीत नसुन्ने नेपाली कमै होलान् । अर्को लोकप्रिय ‘लालुमै’ लोकगीतको संगीत सिर्जना पनि उनैको हो ।

लोकशैली र डान्सिङ बिट रहेको संगीतमा अहिले उनको दबदबा नै छ । टीका प्रसाईंको स्वर रहेको ‘माया लुकी लुकी’, टीका प्रसाईंकै र सञ्जीव पराजुलीको स्वर रहेको ‘नाइँ मलाई था छैन’, प्रमोद खरेलको स्वर रहेको ‘यो कुरा गोप्य’, विश्व नेपालीको स्वर रहेको ‘मीठो सारै मीठो’ विश्व र सुजाना उपाध्यायको स्वर रहेको ‘म पनि बन्छु कि कवि देवकोटा’, निक्की कार्की र समीर आचार्यको स्वर र आनन्द अधिकारीको शव्द रहेको ‘मेरो दुनियाँ बेग्लै छ’ लगायत गीत उदाहरण हुन् । माथिका ‘दुनियाँ बेग्लै छ’ बोलको गीतमा आनन्द अधिकारीको शब्द रहेको छ भने अरु सबैमा एकनारायण भण्डारीको ।

त्यस्तै, मेलोडियस संगीतबाटै उदाएका उनका पछिल्ला मेलोडी गीत पनि चर्चित छन् । जसमा शिव परियारको स्वर रहेको ‘तिमी नै मेरो सास’, प्रमोद खरेलको स्वर रहेको ‘म बाँचेकै’ र चलचित्र ए मेरो हजुर-३ को ‘परान परान’ उदाहरण हुन् ।

संगीतकारकै रुपमा सफल र व्यस्त भएपछि अहिले उनले अरुको संगीत रहेको आधुनिक गीतमा संगीत संयोजन गर्न छाडेका छन् । उनी भन्छन्, ‘अरुको संगीतमा एरेन्ज गर्दा आर्थिक हिसाबले फाइदा हुन्छ नै । तर, यसो गरिरहँदा आफ्नो संगीत कर्म कम हुन्छ भन्ने लागेर अहिलेलाई रोकेको हुँ । लोकगीतमा भने एरेन्जको काम गरिरहेको छु । अब केही समय संगीत सिर्जनामै जोड दिने योजनामा छु ।’

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?