Comments Add Comment

धेरै मानिस हृदयघातले मर्छन्, क्यान्सरले हैन : मनिषा

२८ भदौ, काठमाडौं । ‘सबैले मलाई क्यान्सर सर्भाइभर भन्छन् तर, वास्तवमा म क्यान्सर क्रुस्याडर हुँ । समयमै रोग पत्ता लगाएर सबैको साथ र सहयोगसहित आफ्नो आत्मवलले म क्यान्सरविरुद्ध लड्न सफल भएँ ।’  शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने क्यान्सरसम्वन्धी सम्मेलनमा क्यान्सरविरुद्धको लडाइँ जितेर स्वस्थ्य भएकी अभिनेत्री मनिषा कोइरालाले भन्नुभयो-‘क्यान्सर मृत्यु हैन भन्ने कुरा सबैलाई बताउन आवश्यक छ ।’

Manisha-koirala
काठमाडौंमा भए क्यान्सरसम्वन्धी सम्मेलनलार्इ सम्बोधन गर्दै कोइराला । तस्वीर सौजन्य : स्वास्थ्य खबर पत्रिका

पछिल्लो दिन मनिषा क्यान्सरबारे जनचेतना जगाउन व्यस्त हुनुहुन्छ । नेपाल आउनुअघि उहाँले मुम्बईमा रहँदा कोलकातामा क्यान्सरसम्वन्धी यस्तै एउटा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । त्यहाँ हालै मात्र क्यान्सरको उपचार गरेर खेलमा फर्किएका क्रिकेटर युवराज सिंह पनि सहभागी हुनुहुन्थ्यो ।

सम्मेलनमा सहभागी हुनुअघि मनिषाले भन्नुभएको थियो- ‘मैले निर्णय लिएको छु कि यो रोगबाट ठीक भएपछि मेरो जीवनको मिसन नै यो हुनेछ, म सबैलाई भन्नेछु जीवनको महत्व बुझ्न क्यान्सर हुनु पर्दैन । स्वस्थ जीवन दिएकोमा भगवानलाई धन्यवाद दिन क्यान्सर भइरहनुपर्दैन । हामीले जे उपहार पाएका छौं, त्यसको सदपयोग गरौं, खुसी मनाऔं ।’

आफूले अस्पतालको बेडमा रहँदा जीवनको महत्व बुझेको भन्दै मनिषाले भन्नुभयो- ‘अस्पतालको बेडमा रहँदा मैले जीवनको महत्व बुझेँ । कुनै पनि समय केही पनि हुन सक्छ । दुर्घटना वा अरु नै केही । हामी वर्षौंदेखि काम गरिरहेका हुन्छौं, सपना देखिरहेका हुन्छौं तर, सब चिज चुट्कीका भरमा सिद्धिन सक्छ ।’ उहाँले अघि भन्नुभयो- ‘मैले अहिले स्वस्थ हुनका लागि कति दुःख सहनु परेको छ, जसलाई हामी वेवास्ता गरिरहेका थियौं । मैले बुझें कि स्वास्थ्य निकै महत्वपूर्ण रहेछ ।’

आफूले उपचारका क्रममा युवराज सिंहसँग कुराकानी गरेको भन्दै मनिषाले भन्नुभएको छ- ‘उहाँले लाखौं मानिसलाई प्रेरणा दिनुभएको छ, मलाई पनि आशा जगाउनुभएको छ । उहाँ महान खेलाडी हो तर, जसरी उहाँ क्यान्सरसँग लडेर फेरि मैदानमा र्फकनुभएको छ । यो ठूलो संघर्ष हो ।’

क्यान्सरबारे धेरै भ्रम रहेको भन्दै उहाँले भन्नुभयो-‘क्यान्सरको बारेमा धेरै भ्रम छ । क्यान्सर शब्दले नै डराइदिन्छ । यो केही गम्भीर छ तर, जसरी हामी प्रस्तुत गछौं, त्यस्तो पनि छैन । धेरै मानिसहरु हृदयघातका कारण मर्छन्, क्यान्सरबाट हैन ।’

आफूलाई क्यान्सर लागेपछि गुगलमा जानकारी खोज्ने क्रममा धेरै रोएको उहाँले सुनाउनुभयो । ‘मानिसहरुले गुगलमा हुन्छ भने, मैले पनि पढेँ । सबै नकारात्मक कुरा थिए । त्यो पढ्दा म पनि रोइरहेकी थिएँ’ उहाँले भन्नुभयो-‘मैले डाक्टरलाई सोधेँ, उहाँले गुगल बन्द गर्न भन्नुभो र कुनै प्रश्न छ भने मलाई सोध्न भन्नुभो । क्यान्सरका बारेमा धेरै गलत सूचनाहरु छन् ।’

समयमै उपचार गर्नुभयो भने क्यान्सर निको हुने सम्भावना धेरै हुने र समयमै उपचार हुन सकेन भने लामो समयसम्म बाँच्ने उपायहरु रहेको उहाँको भनाइ छ ।

उपचारका क्रममा आफूले चिकित्सकबाट राम्रो सहयोग पाएको मनिषाको अनुभव छ । ‘चिकित्सकले त मलाई यसबारे सोच्न छाड्नुस् भनेका छन् । डाक्टरले त सहजै दिमागबाट हटाउनु भने’ उहाँले भन्नुभयो- ‘तर, मैले सजिलो छैन भनेँ । मैले मृत्युलाई निकै नजिकबाट हेरेको छु । मैले कसरी बिर्सने ?’ मानिस जुनुसुकै बेला मर्न सक्ने भन्दै उहाँले भन्नुभयो- ‘के त्यसो भए अब दुःखी भएर बस्ने ? हैन । मसँग अहिले जीवन छ, आमा, साथी, सबैसँग राम्रो सम्वन्ध छ । खुसी हुनुस् ।’

चलचित्रमा फकर्ने तयारी

उहाँले डिसेम्बरसम्म आराम गर्ने र त्यसपछि फिल्ममा फर्कने बताउनु भएको छ ‘अफरहरु मेरो बाटोमा आउँदैछन् । म कलाकार हुँ र मलाई अभिनय गर्न मन पर्छ । म पुनः सिनेमामा र्फकन चाहन्छु र यो मेरो प्राथमिकता हो’ उहाँले भन्नुभयो- ‘तर, नोभेम्बर डिसेम्बरसम्म भने फिट हुन समय लाग्ने छ ।’ केही राम्रो अफर आएको भन्दै उहाँले क्यान्सरसँग सम्वन्धित राम्रो स्क्रीप्ट आए स्वीकार गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment