+
+
Shares

एनआरएनएको हिसाब वेबसाइटमा राखियोस्

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २९ गते १५:१७

२९ भदौ, काठमाडौं । गैरआवासीय नेपालीहरुको संगठन एनआरएनएभित्र विभिन्न विकृतिहरु देखा परेको भन्दै एनआरएनए युके नागकि समाजले संगठनको आम्दानी खर्च वेभसाइटमार्फत् सार्वजनिक गर्न भनेको छ ।

‘एनआरएन युके नागरिक समाजका तर्फबाट’ भन्दै ३६ जनाले बेलायतबाट जारी गरेको अपीलमा सेप्टेम्बर १५ मा समानान्तर सम्मेलन हुन नइरहेको भन्दै दुःखसमेत व्यक्त गरिएको छ ।

यसरी एनआरएनएको विकृतिबाट असन्तुष्ट हुँदै विज्ञप्ति जारी गर्ने ३६ जना एनआएनहरुमा बेलायतबासीहरुमा डा. राघव धिताल, खगेन्द्र नेपाली, बी के पाण्डे, शीवजी श्रेष्ठ, सिरीप्रसाद लिम्बू, चिरन्जीवी ढकाल र आङकल्जंग लामाहुनुहुन्छ । त्यसैगरी चण्डिराज राई, विश्वासदीप तिगेला, सुरेशजंग शाह, उमेश मोक्तान, नरेश काङमाङ राई, बिनोद मोक्तान, शशी थापा सुब्बा, जंग सुनुवार, सुबासिं गुरुङ, अर्क तिमिल्सिना, शंकर दाहाल र टीका लिम्बूले पनि अपीलमा हस्ताक्षर गर्नुभएको छ ।

त्यसैगरी प्रसाद थेवे, नरेन्द्र इदिंगो, बद्री योंग्या, लेखनाथ पाण्डे, डम्बर लिम्बू, धनसरी राई, भोला खनाल, दीपक शेरचन, महेश अधिकारी, गोविन्द बेलबासे, पवन शर्मा, गजेन्द्र मादेन, वाचस्पति रेग्मी, होम सुनुवार, किरण राई, कमला थापा र डा. चन्द्र लक्सम्बासमेत हुनुहुन्छ ।

अपीलकर्ताका मागहरु

१. विधानको परिभाषाअनुसार गैरआवासीय नेपालीको सक्रिय सहभागिता बढाउनाका लागि सदस्यताको विद्यमान व्यवस्थामा आवश्यक परिवर्तन गरियोस् ।

२. गैरआवासीय नेपाली मध्ये गोर्खा सैनिकहरु भिन्न ढंगले गैरआवासीय नेपाली बनाइएका हुन् । त्यसैले उनीहरुको आइसीसीमा विशेष प्रतिनिधित्वको व्यवस्था मिलाईयोस् ।

३. सदस्य संख्याका आधारमा आइसीसीमा प्रतिनिधित्व गर्ने व्यवस्थाको कारण भित्रिएको विकृतिलाई हटाउन हरेक देशमा रहेका नेपालीहरुको अनुमानित संख्याको आधारमा प्रतिनिधि संख्या कायम गरियोस् ।

४. संस्थामा प्रजातान्त्रिक अभ्यास कसरी संस्थागत गर्न सकिन्छ, त्यसको लागि ठोस कदम अविलम्व चालियोस् ।

५. नेपाल सरकारले मागेर दोहोरो नागरिकता दिनेवाला छैन । त्यसैले यो संघर्ष गरेर लिनु पर्छ भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ । त्यसैले संगठनलाई कुटनीतिक मात्र होइन संघर्षशील पनि बनाउने नीति तथा कार्यक्रम तय गरियोस् ।

६. संस्थाको हर-हिसाब प्रत्येक वर्ष रजिस्टर्ड लेखापरीक्षकबाट लेखापरीक्षण गराइयोस् । साथै आम्दानी खर्चको विस्तृत विवरण वेभसाइटमार्फत पारदर्शी बनाइयोस् ।

७. विभिन्न मुलुकमा रहेका राष्ट्रिय समितिहरुमा आम गैरआवासीय नेपालीहरुको सहभागिता रहोस् भन्नाका लागि काउन्सिल अवधारणालाई अगाडि बढाइयोस् ।

८. संस्थाको पहलमा व्यापारिक प्रतिष्ठान बनाउने वा पूँजी संकलन गर्ने कार्यलाई दुरुत्साहित गरियोस् । लगानीमैत्री वातावरण निर्माण गर्ने कार्यमा मात्र संस्थालाई सीमित राखियोस् ।

एनआरएनए यूकेका लागि

१. विधानको परिभाषाले समेटिने सबै बेलायतवासी नेपालीहरु स्वतः सदस्य हुने मताधिकार लगायतको अधिकार प्राप्त गर्ने व्यवस्था गरियोस् ।

२. हुलाक मतदानको व्यवस्था खारेज गरी बेलायतभरि बढीभन्दा बढी ठाउँमा मतदान केन्द्र राखी गैरआवासीय नेपालीको परिभाषाभित्र पर्ने प्रमाण तथा परिचय-पत्र देखाएर प्रत्यक्ष उपस्थितिमा मतदान गर्ने व्यवस्था गरियोस् ।

३. एनआरएनए यूकेको विद्यमान सांगठानिक स्वरुपले ल्याएको विकृतिलाई रोक्न तथा संघको लक्ष्य र उद्देश्यको मूलप्रवाहलाई आत्मासात गरी यूकेमा स्थापित भई सकृयरुपमा सञ्चालन भइरहेका नेपाली संघ-संगठनहरुको साझा प्रतिनिधित्वमूलक नेतृत्यदायी छाता संगठनको रुपमा एनआरएनए यूकेलाई स्थापित गरी काउन्सिलको अवधारणालाई लागु गरियोस् ।

४. सम्पूर्ण आम्दानी तथा खर्चको विस्तृत विवरण वेबसाइटमा राखी हिसाब किताब पारदर्शी गरियोस् तथा रजिष्टर्ड लेखा परिक्षकद्वारा लेखापरीक्षण गर्ने व्यवस्था गरियोस् ।

५. केही संभ्रान्त, धनिमानी तथा एलिट समुदायले मात्र आफ्नो वर्चश्व कायम राख्ने गरी संस्था सञ्चालन भइरहेकाले, यो गलत कार्यलाई निरुत्साहित गर्दै संस्थालाई समतामूलक, समावेशी र प्रतिनिधिमूलक बनाई आम बेलायतवासी नेपालीको सुख-दुःखको साथी बन्न सक्ने अवस्था सिर्जना गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?