
२९ वैशाख, काठमाडौं । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकाको मध्यस्थतामा युद्धविराम सहमति भएलगत्तै पाकिस्तानले आफ्नो हवाई क्षेत्र खुकुलो बनाइसकेको छ ।
पाकिस्तानले भारतीय विमानहरूको ओभरफ्लाइटबाहेक अन्यका लागि आफ्नो हवाई क्षेत्र खोलिसकेको छ । भारतले भने आफ्नो हवाई क्षेत्र पूर्णरूपमा खोल्ने आधिकारिक घोषणा गरिसकेको छैन ।
पाकिस्तानसँग लडाइँ सुरु भएपछि भारतले ९ मे २०२५ देखि १५ मे २०२५ सम्म जम्मु र कश्मीर, पञ्जाब, हिमाचल प्रदेश, राजस्थान र हरियाणाका ३२ वटा विमानस्थलहरू बन्द गरेको थियो । युद्धविराम घोषणा भए पनि अवस्था ‘अझै संवेदनशील’ भएको भन्दै भारतले आफ्ना विमानस्थलहरुबाट नागरिक उडानहरु अझै खुला गरेको छैन ।
भारत उत्तर प्रदेशका एक पत्रकार इन्दल कश्यपले अनलाइनखबरसँग भने, ‘युद्धविराम घोषणा भए पनि दुबै देश बीचको विश्वासको अभाव र लगातारको उल्लंघनका आरोपहरूले स्थिति अझै संवेदनशील देखिएको छ । यसले गर्दा विमानस्थल, विद्यालय, बजार र यातायात सेवाहरू, पूर्ण रूपमा पुनः सञ्चालनमा आउन समय लाग्न सक्छ । स्थानीय प्रशासनले जारी गर्ने आधिकारिक सूचनाहरूको पर्खनु नै उपयुक्त हुनेछ ।’
युद्धविराम उल्लंघनको आरोप
शनिबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम सहमत भएको बताएका थिए । त्यसको केही घण्टामै दुवै देशका शीर्ष अधिकारीहरुबाट ट्रम्पको भनाइ पुष्टि भएको थियो ।
यद्यपि युद्धविराम भएको केही घण्टाभित्रै दुबै पक्षले एकअर्कामाथि उल्लंघनको आरोप लगाएका छन् । त्यसैले स्थिति अझै संवेदनशील रहेको बताइन्छ ।
आणविक अस्त्र सम्पन्न भारत र पाकिस्तानबीच संघर्ष सुरु भएपछि विमानस्थल, सपिङ मल, शिक्षण संस्था सबै बन्द गरेर सुरक्षा तैनाथी बढाइएको थियो ।
पञ्जाबका केही सहरहरू जस्तै, चण्डीगढ़मा, युद्धविरामको घोषणा भए पनि सपिङ मल, बार, रेस्टुरेन्टहरू बेलुका ७ बजे बन्द हुने र भोलिपल्ट बिहान पुनः खुल्ने व्यवस्था गरिएको छ ।
पञ्जाब, हरियाणा, जम्मु–कश्मिर र पश्चिम बंगालका केही क्षेत्रमा विद्यालयहरू पनि बन्द छन् ।
आईपीएल कहिलेदेखि सुरु होला ?
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण, ९ मे २०२५ मा हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच खेल चल्दाचल्दै बीचमै रोकिएको थियो ।
लगत्तै आईपीएलको यस संस्करणका सबै खेल एक हप्ता स्थगित गर्ने निर्णय गरिएको थियो । एक हप्ता स्थगित भनिएकाले १६ मे २०२५ बाट खेलहरू पुनः सुरु हुने अपेक्षा गरिएको छ । यद्यपि यसबारे आधिकारिक निर्णय सार्वजनिक हुन बाँकी छ ।
हाल, आईपीएल २०२५ को बाँकी खेलहरूको तालिका र स्थानहरू पुनः निर्धारण गर्न भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले विभिन्न पक्षहरूसँग परामर्श गरिरहेको जनाएको छ । अन्तिम म्याच २५ मे मा हुने अपेक्षा गरिएको छ, तर यो पनि सुरक्षा र अन्य कारकहरूमा निर्भर हुने अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया 4