Comments Add Comment

‘भगवान तिमी मान्छे भै हेर, जिन्दगी तलाई मैले चिन्नै सकिन’

विजय आवाज

काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा नेपाली चलचित्रको एउटा चम्किलो तारा आजबाट सदाका लागि अस्तायो । सुख दुःख आफ्ना लागि केही नठान्ने चलचित्र निर्देशक शिव रेग्मीका धेरै सपनाले आजबाट विश्रमा लिए । ४९ वर्षको अल्पायूमै भौतिक शरीर छोडेर अर्कै संसारमा विलिन हुन पुगेका निर्देश रेग्मीलाई श्रद्धाञ्जली दिन बयोधा परिसरमा पुगेका चलचित्रकर्मी कमै थिए होलान्, जसको आँखा आँशुले भिजेको नहोस् । shiva-regmi-death-in-bayodaनेपाली दर्शकलाई सुख दुःख र हाँसो आँसु सबै जिन्दगीका पाटा हुन् भन्ने सन्देश सहितका सुपरिहट चलचित्र दिएका रेग्मीको जिन्दगीको अन्त्य दुखद असामायिक ढंगबाट भयो । मृगौलाको रोगबाट पीडित भएर ओच्छ्यान परेका रेग्मीलाई त्यही रोगले अब कहिल्यै एक्सन कट भन्न नदिने बाटो तर्फ लगेर गएको छ । नेपाली दर्शकमाझ आफ्ना चलचित्रबाट अमिट छाप छोड्न सफल रेग्मीको निधनले दर्शकहरुलाई पनि भावविहृवल बनाएको छ । ‘भगवान तिमी मान्छै भै हेर, कसैलाई चटक्कै चुडेर लग्दा त्यसको पीडा कस्तो हुन्छ अनि मात्र तिमीले महसुश गर्नेछौ ।’ आम चलचित्रकर्मी अहिले भगवानसँग यस्तै प्रश्न गरिरहेका छन् । नेपाली सिने नगरीका अग्ला कदका निर्देशक शिव रेग्मीलाई अल्पायूमै भगवानले आफ्नो बनाउँदा धेरैका आँखा रसाए, धेरैका मन भरिए अनि एउटा अभिभावक सिने नगरीले गुमायो । शिव रेग्मीको जीवनका बारेमा बुझाई आफ्नै थियो । उनी भन्ने गर्थे, ‘सुख दुख दुबै जिन्दगी ।’

यसैले त ‘आफन्त’ चलचित्रमा उनले कोरे ‘सुख पनि जिन्दगी, दुख पनि जिन्दगी, सुखदुख दुवै जिन्दगी, हार पनि जिन्दगी, जित पनि जिन्दगी, यस्तै रैछ जिन्दगी, जिन्दगी तलाई मैले चिन्नै सकिन’ । वि.सं २०२१ सालमा चितवनमा जन्मिएका रेग्मीको जीवनमा थुप्रै उतारचढाव आए, थुप्रै कालखण्ड उनले बिताए । करिब २१ बर्ष लामो सिने नगरीको यात्राको दौरानमा रेग्मीले थुप्रै प्रकारका जीवन भोगाई देखेका छन्, थुप्रै अनुभव गरेका छन् । नाटकबाट सुरु भएको उनको करिअर सिनेमासम्म आइपुग्दा एउटा उचाइमा पुग्न सफल भएको थियो । रेग्मीको जीवनको अन्त्य पनि नाटकीय ढंगबाटै भयो ।

नेपाली सिने नगरीको एउटा हस्तीलाई यति चाँडै गुमाउनुपर्ने कल्पना कसैले पनि गरेका थिएनन् । चितवनको नारायणी कला मन्दिरबाट आफ्नो कला यात्राको सुरुवात गरेका उनले ‘स्वेशभित्र हराएको नागरिक’ नामक नाटकबाट उत्कृष्ट लेखक विधामा राष्ट्रिय अवार्ड पनि जितेका थिए । ‘प्रेम पूजा’ नामक चलचित्रको कथा लेखेर सिने नगरीमा प्रवेश गरेका रेग्मीले ‘मोहनी’ सिनेमाको कथा लेखेपछि चर्चा कमाएका थिए । थुप्रै चलचित्रको कथा लेखेपछि उनले पहिलो पटक ‘आफन्त’ नामक सिनेमा निर्देशन गरेका थिए । यसपश्चात आफ्नो मान्छे, ए मेरो हजुर, सुख दुख, हामी तिन भाई, कहाँ भेटिएला, साथी म तिम्रो लगायतका थुप्रै सिनेमा उनले निर्देशन गरेका थिए । उनले नायक राजेश हमालसँग चलचित्र ‘सिन्दुर पोते’मा पनि अभिनय गरेका छन् ।

शिव रेग्मीले ‘आफन्त’ नामक सिनेमाको कथा बोकेर थुप्रै निर्देशकको ढोका पनि नचहारेका होइनन् । तर त्यतिबेला नायकले नायिकालाई बलात्कार गरेको कथा पच्दैन भन्ने धारणा धेरै चर्चित निर्देशकले राखेका थिए । आफन्तको कथामा कुनै पनि निर्देशकले सिनेमा बनाउने चासो नदेखाएपछि उनले आफूलाई नै यो कथाको क्याप्टेनको रुपमा उभ्याएका थिए । जुन सिनेमा व्यापारिक रुपमा हिट हुन पुग्यो । पहिलो सिनेमाबाट नै निर्देशक रेग्मीलाई कहिले पछाडी फर्केर हेर्नु परेन । उनले निर्देशन गरेका ‘पराई’ र ‘मनले मनलाई छुन्छ’ प्रदर्शनको लागि तयार भएका छन् । शिव रेग्मीले चलचित्र ‘आफ्नो मान्छे’बाट उत्कृष्ट कथा लेखकको अवार्ड, चलचित्र ‘सुख दुख’बाट ‘लक्स वेष्ट डिरेक्टर’ र मोसन पिक्चर्स अवार्डमा उत्कृष्ट लेखकको अवार्ड हात पारेका थिए ।

रेग्मीले आफ्नै लगानीमा तयार पारेको चलचित्र ‘मानिस’ भने व्यापारिक रुपमा सफल हुन सकेन । तर पनि उनलाई ‘मानिस’ले ‘बेष्ट डिरेक्टर’को अवार्ड जिताएको थियो । यसपश्चात चलचित्र युद्ध र राम बलरामले खासै चामात्कारिक व्यापार गर्न सकेनन् । तर आज भन्दा ६ बर्ष अघि प्रदर्शनमा आएको ‘कहाँ भेटिएला’ले बक्स अफिसमा हिटको व्यापार गरेपछि रेग्मीको धरमराउँदो करिअर फेरी उकालो लाग्यो । यो सिनेमाबाट उनले उत्कृष्ट निर्देशकको बिधामा राष्ट्रिय र पपुलर निर्देशकको विधामा नेफ्टा अवार्ड जित्न सफल भए । उनले नै निर्देशन गरेको चलचित्र ‘हाँसी देउ एक फेर’ असफल भयो ।

तर यहि चलचित्रबाट उनले उत्कृष्ट लेखकको विधामा राष्ट्रिय अवार्ड हात पारे । भूवन केसीको निर्माणमा तयार भएको चलचित्र ‘साथी म तिम्रो’ र ‘फूल’ नामक सिनेमाले व्यापारिक रुपमा कमाल मच्चाउन सकेन । तर पनि थुप्रै हिट सिनेमा दिएका रेग्मीले नेपाली चलचित्र क्षेत्रलाई कहिल्यै बिर्सन नसकिने गुन लगाएर गएका छन् । विगत ६ महिना देखि किड्नीको समस्याले पिडित भएपछि उनी ओछ्यानमा परे । उपचारका क्रममा थुप्रै रकम सकियो । तर पनि पैसाले रेग्मीको रोगलाई जित्न सकेन । आज उनको निधनमा सिंगो सिने नगरी र देश नै रोएको छ ।

शिव रेग्मीको चाहना थियो, ओस्कारसम्म नेपाली सिने नगरीलाई पुर्‍याउने । तर उनको यो चाहना अधुरो नै रहन पुग्यो । तर पनि रेग्मी नेपालीहरुको मन र मुटुमा सधै नै रहनेछन् । हरेक क्षेत्रमा दक्ष व्यक्तिको जन्म त भैरहन्छ, तर एक यूगमा मात्र यस्ता व्यक्तिको जन्म हुन्छ जसले आफ्नो कर्म क्षेत्रलाई एउटा उचाइमा पुर्‍याउन सफल हुन्छ । सिने नगरीका लागि एउटा नाम थियो, शिव रेग्मी । जो आज अस्ताएको छ, जिन्दगीलाई वुझ्न खोज्दा खोज्दै बिलाएको छ । तर भौतिक दुनियाँबाट मात्र…जो रहनेछ हाम्रो मन र मस्तिष्कमा सधै सधै । अल बिदा शिव रेग्मी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment