Comments Add Comment

सुशील र रामचन्द्र प्रधानमन्त्रीका लागि देउवालाई गुहार्दै

माधव धिताल

६ पुस, काठमाण्डौ । संविधानसभाको दोस्रो निर्वाचनमा पहिलो दल बनेको नेपाली काँग्रेसभित्र प्रधानमन्त्रीको बन्ने भन्ने विषयमा तीन शीर्ष नेताहरुवीच नै टकराव उत्पन्न भइरहेको छ । यसैवीच सुशील कोइराला र रामचन्द्र पौडेलले आफू प्रधानमन्त्री बन्ने भन्दै देउवाको सहयोग माग्न थाल्नुभएको छ । पार्टी सभापति सुशील कोइराला आफ्नो नेतृत्वमा पार्टी पहिलो शक्ति बनेकाले प्रधानमन्त्री बन्ने मुडमा हुनुहुन्छ भने पार्टी उपसभापति रामचन्द्र पौडेलले पनि आफू १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार भइसकेकाले अब आफूलाई प्रधानमन्त्री बन्ने मौका दिनुपर्ने बताउँदै आउनुभएको छ ।sushil,-sherbahadur-and-ram

उता तीनपटक प्रधानमन्त्रीको पद सम्हालिसकेका बरिष्ठ नेता शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको आकांक्षी रहेको उनीनिकट नेताहरुले बताउँछन् । पार्टी सभापति भइसकेको व्यक्ति एकपटक प्रधानमन्त्री बन्ने धुनमा कोइराला रहनुभएको छ । तर, प्रधानमन्त्री बन्न भने उहाँलाई त्यति सजिलो नभएको स्रोतको भनाइ छ ।

कोइराला आफू प्रधानमन्त्री हुन् कि उपसभापति पौडेल कि त बरिष्ठ नेता देउवालाई आफ्नो साथमा लिनुपर्ने हुन्छ । तर, उपसभापति पौडेल पनि प्रधानमन्त्रीको आकांक्षी रहेकाले सभापति कोइरालालाई बन्न दिनुभन्दा पनि आफू नै प्रधानमन्त्री बन्ने दाउँमा हुनुहुन्छ । यस्तै बरिष्ठ नेता देउवा भने आफूलाई पार्टीमा भूमिका दिएपछि मात्रै सभापति कोइरालालाई प्रधानमन्त्री तथा संसदीय दलको नेता बन्न दिने बताउँदै आउनुभएको छ । देउवाले आफूलाई पार्टीमा काम गर्ने मौका सभापतिले दिएमात्रै कोइरालालाई सहयोग गर्न सकिने बताउनुहुन्छ । पार्टीभित्रै तीन नेताहरु आआफ्नो दाउँपेचमा लागेकाले पार्टी सभापति कोइरालालाई प्रधानमन्त्री बन्न गाह्रो रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

देउवालाई पार्टी जिम्मा लगाउने मनस्थितिमा कोइराला

आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न पार्टी सभापति कोइरालाले वरिष्ठ नेता शेरवहादुर देउवालाई फकाइरहनुभएको देउवानिकट स्रोतको भनाइ छ । स्रोतले दिएको जानकारीअनुसार कोइरालाले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरे पार्टीको जिम्मा देउवालाई दिन कोइराला राजी हुनुभएको छ ।

देउवाले सभापति कोइरालालाई संसदीय दलको नेता र प्रधानमन्त्री बन्न आफूले सहयोग गर्ने तर पार्टीको मूख्य मूमिकामा रहेर काम गर्ने जिम्मा -पार्टीको सम्पूर्ण जिम्मा) आफूलाई दिनुपर्ने शर्त राख्नु भएको छ । सरकारको नेतृत्व र प्रधानमन्त्री बन्ने विषयमा सभापति कोइराला र नेता देउवावीच दैनिकजसो छलफल भइरहेको स्रोतको भनाइ छ ।

देउवाले आफू तीनपटक प्रधानमन्त्री भएर काम गरी सकेकाले सभापति कोइरालाले प्रधानमन्त्री बन्ने इच्छा देखाएकाले पनि प्रधानमन्त्री बन्न आफ्नो शर्त स्वीकार गर्नुपर्नेमा जोड दिँदै आउनु भएको छ । कोइरालाले उपसभापति रामचन्द्र पौडेलभन्दा बढी छलफल देउवासँग गरिरहेको स्रोतको भनाइ छ ।

रामचन्द्रले यसो भन्दैछन् देउवालाई

१७ पटकसम्म पार्टीकोतर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बन्नुभएका उपसभापति पौडेलले यसपटक आफूलाई प्रधानमन्त्री बनाउन देउवालाई मनाउने प्रयास गरिरहनुभएको छ । पौडेलले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरे पार्टी सभापतिमा देउवालाई सहयोग गर्ने आश्वासन दिइरहनु भएको स्रोतको भनाई छ ।

पौडेलकोे भनाइ उद्धत गर्दै स्रोतले अनलाइनखबरलाई भन्यो, ‘पौडेलजी सभापतिभन्दा पनि आफू प्रधानमन्त्री हुने दाउँमा हुनुहुन्छ । त्यसकै लागि उहाँले देउवालाई पार्टी सभापतिमा सघाउने भनेर मनाउने प्रयास गरिरहनुभएको छ ।’

पौडेलले कोइरालासँग प्रधानमन्त्रीका लागि बार्गेनिङ नगरेको भए पनि देउवासँग प्रधानमन्त्रीका विषयमा छलफल निरन्तर गरिएको स्रोतले बतायो । ‘पौडेललाई देउवाले प्रधानमन्त्री हुने भए आफूलाई पार्टी सभापतिमा सहयोग गर्ने लिखित प्रस्ताव जनाउन भन्नुभएको छ’ स्रोतले भन्यो ।

देउवाको आफ्नै दाउँ

बरिष्ठ नेता देउवाले भने पार्टी सभापति कोइराला र पौडेलको प्रस्तावबारे सोचिरहनुभएको स्रोतले बताएको छ । देउवाले यसपटक सभापति वा उपसभापति रामचन्द्र पौडेलमध्ये एकसंग कुरा मिले आफूले प्रधानमन्त्रीको दाबी छोड्ने मनस्थितिमा हुनुहुन्छ । देउवाका भनाइ उद्धत गर्दै स्रोतले भन्यो,’देउवा दाइ अहिले प्रधानमन्त्रीभन्दा पनि पार्टीको मूख्य भूमिकामा रहेर काम गर्ने मनस्थितिमा हुनुहुन्छ । कुरा मिले उहाँले प्रधानमन्त्रीको दाबी पेश गर्नु हुन्न ।’ कोइरालासँगको पटक-पटकको छलफलमा देउवाले आफू पार्टीमा भूमिकाविहीन भएकाले भूमिका दिन सभापतिलाई आग्रह गर्नुभएको छ ।

कोइरालाले भने आफूलाई प्रधानमन्त्री बनाए पार्टीको जिम्मा दिन आफू राजी भएको बताउनुभएको स्रोतको भनाइ छ । तर, देउवाले सभापतिले आफ्नो शर्त नमाने सभापति कोइरालाई प्रधानमन्त्री बन्नबाट रोक्ने र सकेसम्म आफू नभए रामचन्द्रलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बताउनुभएको छ ।

देउवाका प्रेस सहयोगी बद्री सिग्देलले भने नेता देउवा अहिले प्रधानमन्त्रीका लागि पार्टीमा झगडा गर्ने मनस्थितिमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले अनलाइनखबरसंग कुराकानी गर्दै भन्नुभयो,’देउवा जी सरकारी सेवामा भन्दा पनि पार्टीको संगठन निर्माणमा लाग्ने योजनामा हुनुहुन्छ । प्रधानन्त्रीभन्दा उहाँलाई पार्टीमा भूमिका चाहिँएको छ । कुरा मिल्यो भने उहाँ पार्टीको जिम्मा लिन तयार हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment