Comments Add Comment

मुख्य बजारको सटर भाडा मासिक ३८४ रुपैयाँ !

१२ चैत, विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रमा खाली सटर पाउनै मुश्किल पर्छ । पाइहाले पनि मासिक २० हजारदेखि ६० हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

तर विराटनगरको मुख्य बजार बुधहाट चोकमा रहेको सरकारी सटर भने मासिक जम्मा ३ सय ८४ रुपैयाँमा लगाएको पाइएको छ ।

विराटनगर – ९ बुधहाट चोकमा महानगरपालिकाले सी र डी गरी दुईवटा व्यवसायिक प्लट सञ्चालन गरिरहेको छ । महानगरले उपभोक्ता समिति मार्फत सञ्चालन गरेको डी प्लटबाट मासिक ३८४ रुपैयाँदेखि अधिकतम ३ हजार १ सय ५० रुपैयाँमा भाडा उठाउने गरेको हो । यही प्लटसँग जोडिएका व्यक्तिको घरहरुमा भने सटर भाडा न्यूनतम ३० हजार रुपैयाँ छ ।

डी प्लटमा साना र ठूला गरी २० वटा सटर छन् । तीमध्ये १० वटा सटर विराटनगर मेनरोड र ठाकुरबारी रोडसँग जोडिएका छन् । २० वटा सटरबाट मासिक सरदर २९ हजार रुपैयाँमात्र भाडा उठ्ने गरेको छ ।

व्यस्त बजारको सटरभाडा न्यून मूल्यमा लागेको पाएपछि महानगरपालिकाले नयाँ टेण्डर प्रक्रिया अघि बढाएको छ  । उपभोक्ता समितिमार्फत चलेको डी प्लटको सटरभाडा न्यून पाइएपछि नयाँ टेण्डर प्रक्रिया अघि बढाइएको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिए ।

वडा अध्यक्ष भन्छन् : थाहै थिएन

विराटनगर महानगरपालिकाका ९ का अध्यक्ष विश्वनाथप्रसाद साह महानगरको २० वटा सटरको भाडा मासिक २९ हजार भाडा उठ्ने भन्दा आफू पनि छक्क परेको बताउँछन् । ‘बजार कसैले ६०, कसैले ६५ हजारमा भाडा लगाउँछन्’ उनी भन्छन् ‘महानगरको वोर्ड बैठकमा कुरा उठेपछि मात्र थाहा पाए डी प्लटबाट २९ हजार भाडा उठ्दो रहेछ ।’

विराटनगर महानगरमा जनप्रतिनिधि आएको डेढ वर्ष भयो । तर भाडाको बिषयमा जानकारी नभएको उनको भनाइ छ । उनका अनुसार डी प्लट ३०/३५ वर्ष अघिदेखि महानगरले सटर भाडामा लगाउन थालेको हो ।

व्यापारी पुगे उच्च अदालत

महानगरले डी प्लटमा नयाँ टेण्डर आह्वान गरेपछि २० वटा सटर चलाइरहेका व्यपारीहरु भने उच्च अदालत पुगेका छन् ।

सस्तो भाडादरमै सटर पाउनुपर्ने भन्दै महानगरको निर्णयविरुद्ध उत्प्रेषणयुक्त परमादेशको मागसहित उच्च अदालतमा रिट हालेका छन् । तर शुक्रबार न्यायाधीश हरिप्रसाद भण्डारीको इजलासले परमादेश जारी गर्नुनपर्ने आदेश दिएको छ ।

अदालतको आदेशपछि नयाँ टेण्डर प्रक्रिया सुरु भएको प्रवक्तासमेत रहेका वित्तीय महाशाखा प्रमुख प्रधानले बताए । नयाँ टेण्डरपछि डी प्लटबाट मासिक ५ लाख रुपैयाँसम्म भाडा उठ्ने महानगरपालिकाको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment