Comments Add Comment

उपेन्द्रले अध्यक्ष ताकेपछि मधेशवादी दलको एकता भाँडियो

८, असार काठमाडौं । उपेन्द्र यादवले अध्यक्षको दाबी नछाडेपछि मधेश आधारित तीन दलबीचको एकीकरण भाँडिएको छ । एकीकृत पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव दुवैको दावी छ । यादवले एकीकृत पार्टीको अध्यक्ष नपाए एकता नहुने भनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअघि नै एकीकरण सक्ने उनीहरुको योजना भाँडिएको हो ।

upendra-yadavगत संविधानसभा निर्वाचनमा नराम्ररी पराजित भएपछि मधेशका तीन प्रमुख दल तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम र सद्भावना पार्टीबीच एकीकरण पहल भइरहेको थियो । ती दलका नेता सम्मिलित कार्यदले एकीकृत पार्टीका नाम, झण्डा र अन्य राजनीतिक विषय टुंगो लगाइसकेका छन् । तर, नेतृत्वमा कुरा नमिलेपछि एकता प्रक्रिया अलपत्र परेको तमलोपाका एक बरिष्ठ नेताले बताए ।

तीन पार्टी एकीकरणको सैद्धान्तिक सहमति भइसकेपछि नेतृत्वको बारे टुंगो लगाउन शुक्रबार साँझ बिजुलीबजारस्थित तमलोपाको कार्यालयमा बसेका तीन दलको शीर्ष बैठकमा कुरा नमिलेको सद्भावनाका अध्यक्ष महतोले स्वीकारे । ‘मधेशी जनताले तीन पार्टी एकीकरण हुनुपर्छ भनिरहेका छन्, हामीबीच पनि सहमति भइसकेको हो, तर नेतृत्वमा कुरा मिलेन’ महतोले भने ।

स्रोतका अनुसार उपेन्द्र यादवले एकीकृत पार्टीको अध्यक्ष आफै हुनुपर्ने दाबी गरेका छन् । उनले विजय गच्छदारले पार्टी एकीकरण गरेर अध्यक्ष बनाउन प्रस्ताव ल्याइसकेको बताउँदै अध्यक्ष नपाए एकता नहुने संकेत दिएका छन् । तर, तमलोपा र सद्भावनाले मधेशको सबैभन्दा बरिष्ठ नेता भएकाले महन्थ ठाकुरलाई अध्यक्ष बनाउनुपर्ने अडान राखेका छन् । ‘महन्थ बाहेक अरुमा सहमति हँुदैन । उपेन्द्र यादवको एकीकरणप्रति रुची नै देखिएन’ एक नेताले भने ।

मोदी आउँदा चौथो शक्ति बन्ने सपना अधूरै

यसअघि ठाकुरलाई अध्यक्ष र यादवलाई संसदीय दलको नेता बनाउने सहमति भएको नेताहरुले बताएका छन् । सोही सहमति अनुसार अध्यक्षपछिको दोस्रो पदमा बस्न महतो राजी भएका थिए । उनीहरुबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअघि नै तीन पार्टी एकीकरण गरी मुलुकको चौथो शक्तिका रुपमा मधेशीहरु छन् भनेर देखाउने अनौपचारिक सहमति पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment