Comments Add Comment

इराकको टिक्रिट शहरमा पाँच नेपाली संकटमा

१० असार, काठमाडौं । सुन्नी मुसलमान विद्रोहीले कब्जामा लिएको इराकको टिक्रिट शहरमा पाँचजना नेपालीहरु अप्ठ्यारोमा परेका छन् । बम विस्फोटनबाट पासपोर्ट जलेका उनीहरुले अस्पताल छेऊको कन्टेनरमा लुकेर ज्यान जोगाइरहेको इराकबाट एनआरएनका महासचिव सीताराम चौधरीले अनलाइनखबरलाई बताए ।

‘पाँचजना नेपालीले अस्पतालको कन्टेनरमा लुकेर उद्धारका लागि हामीलाई आग्रह गरेका छन्, चौधरीले अनलाइनखबरसँग भने- ‘हामीले यसबारे पाकिस्तानमा राजदूत भरतराज पौड्याललाई जानकारी गराइसकेका छौं । तर, त्यहाँ इराकी सरकारका सुरक्षा अधिकारीहरु जान सक्ने अवस्थै छैन, मानवअधिकारकर्मीहरु गए भने बेग्लै कुरा ।’

कन्टेनरभित्र पाँच नेपालीका साथै केही बंगलादेशीहरु पनि रहेको र बंगाल सरकारले पनि उनीहरुको उद्धारका लागि प्रयास गरिरहेको चौधरीले अनलाइनखबरलाई बताए । साथै सो कन्टेनरमा केही भारतीय नर्स र डाक्टरहरु पनि लुकिरहेको चौधरीले जानकारी दिए । नजिकैको अस्पतालमा काम गर्ने नर्स र डाक्टरहरुको उद्धारका लागि भारतले पनि प्रयास गरिरहेको उनले जानकारी दिए ।

इराकमा रहेका नेपालीहरुको उद्धारका लागि एनआरएनको तर्फबाट आफूहरुले सक्दो प्रयास गरिरहेको चौधरीले बताए । तर, इराकको अवस्था बिग्रँदै गएकाले जतिसक्दो चाँडो भाग्न र बग्दात केन्द्रित हुन एवं सकेसम्म नेपाल फर्कन आफूहरुले त्यहाँ रहेका नेपालीलाई सल्लाह दिइरहेको उनले अनलाइनखबरलाई बताए । ‘इराकको अवस्था सुध्रिनुको साटो अझै नाजुग हुँदै गएको छ, त्यसैले सकेसम्म नेपाल र्फकन उपयुक्त हुने हामीले सल्लाह दिइरहेका छौं,’ चौधरीले भने- ‘इराकमा रहेका नेपालीलाई हामी सकेसम्म सम्पर्क गरिरहेका छौं र राजदूतबास एवं नेपाल सरकारसँग पनि हामी सम्पर्कमा छौं ।’

यता नेपाल सरकारले पनि इराकमा रहेका नेपालीहरुको अवस्था बुझ्नका लागि त्यहाँ अनुगमन टोली पठाउने तयारी गरिरहेको जनाएको छ । सरकारले त्यहाँ रहेका नेपालीको उद्धारका लागि सम्बन्धित मित्र राष्ट्र र अन्तरराष्ट्रिय संघसंस्थासँग समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इराकमा रहेका नेपालीबारे छलफल गर्न सोमबार मन्त्रालयमा मन्त्रीसहित उच्चपदस्थ अधिकारीहरुको बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment