Comments Add Comment

वामदेवलाई राजदूत नियुक्तिको अधिकार दिन परराष्ट्रमन्त्रीको माग

१ साउन, काठमाडौं । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत नियुक्तिका लागि प्रधानमन्त्री र सत्तारुढ दलका शीर्षनेताहरुले वास्ता नगर्दा आफू निरीह बनेको गुनासो गरेका छन् । प्रधानमन्त्रीले नभ्याएको अवस्थामा कार्यवाहक प्रधानमन्त्री वामदेवलाई राजदूत नियुक्तिको जिम्मेवारी दिइनुपर्ने मन्त्री पाण्डेले बताएका छन् ।

mahendra-pandeyपरराष्ट्र मन्त्रालयका ६ जना ‘करिअर डिप्लोम्याट’लाई राजदूत नियुक्त गरेर पठाउने र अन्य राजनीतिक नियुक्तिका ८ जनाका लागि छलफल गर्ने आफ्नो प्रयासमा कसैले चासो नदिएको उनले बताए ।

प्रधानमन्त्री सुशील कोइरालाले कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई अधिकार दिने हो भने अब बस्ने मन्त्रिपरिषद बैठकबाटै ६ जना राजदूत नियुक्त गर्न सकिने मन्त्री पाण्डेले बताए ।

नेपालको आवासीय राजदूतावास रहेका ३२ देशमध्ये अहिले १४ देशमा राजदूत खाली छन् । तीमध्ये ८ जना मन्त्रालयकै सहसचिवले पाउनुपर्ने दाबी उनीहरुले गरे पनि मन्त्री ६ जनालाई मात्र पठाउने पक्षमा छन् । त्यसमा पनि अमेरिका, बेलायत, भारतजस्ता मुलुकमा भने कर्मचारीलाई राजदूत नबनाउने मन्त्री पाण्डेले बताए । ‘भारत, अमेरिका, बेलायत लगायत मुलुकमा राजनीतिक नियुक्ति हुन्छ’ मन्त्रीले अनलाइनखबरसँग भने ।

पाण्डेले आफू मन्त्री भएपछि राजदूत बन्ने व्यक्तिको न्युनतम योग्यता र मापदण्ड मस्यौदा बनाएका छन् । यसअघि जसले जसलाई चाहे पनि राजदूत बनाइदिने गरेकोमा अब त्यो व्यवस्था अन्त्य गर्न आफूले मापदण्ड बनाएको उनको भनाइ छ । ‘तर यसमा पनि छलफल गरौं भन्दा नेताहरुसँग समय छैन’ उनले भने ।

कुुन-कुन ठाउँमा खाली ?

हाल राजदूत खाली रहेका दूतावास तथा मिसनहरुमा धेरैजसो हाइफ्रोफाइल मुलुक तथा मिसन छन् । वासिङटन डीसी, नयाँ दिल्ली, ओटावा, बर्लिन, पेरिस, लण्डन, दोहा कतार, कुवेत, ब्राजिल, प्रेटोरिया, कायरो, कोलम्बो र जेनेभामा राजदूत पद खाली छन् ।

त्यस्तैै बहराइन र ओमानमा पनि राजदूत पठाउने तयारी भइरहेको छ । वासिङटन, नयाँ दिल्ली, लण्डन, जेनेभा, ब्राजिल, प्रेटोरियामा राजनीतिक नियुक्ति गर्ने तयारी भइरहेको छ ।

राजदूत बन्ने लाइनमा रहेका सहसचिवहरुमा खगनाथ अधिकारी, दीपक धिताल, अम्बिका लुइँटेल, अमृत राई, कालीप्रसाद पोखरेल र अर्जुनकान्त मैनालीको नाम टुंगो लागेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment