+
+

पढ्न गएका विद्यार्थीको पानी ओसार्दै दिन बित्छ

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ११ गते ११:४६

११ साउन, भोजपुर । विद्यालयमा गएपछि विद्यार्थीको काम पढ्नु हो । विद्यालयमा विद्यार्थीलाई पढ्ने वातावरण निर्माणको जिम्मा सरकारको हो । तर, भोजपुरको एउटा विद्यालयका विद्यार्थीहरुको दिन पानी खोज्दैमा जान्छ । सदरमुकामबाट पूर्वको याङपाङ गाविसस्थित रचना प्राथमिक विद्यालयका विद्यार्थीले खानेपानीको अभावमा छट्पटिनुपर्ने बाध्यता छ ।Rachan-Primery-School

घरबाट किताव, कपी कलम बोकेर विद्यालय पुग्ने विद्यार्थीहरु दिनभर विद्यालयमा पानी ओसार्न व्यवस्त हुन्छन् । उनीहरु दिनभरको पढाई माया मारेर गाग्री र तुम्लेटमा एक घण्टाको पैदल दूरीबाट विद्यालयमा पानी ओर्साछन् । आफैंले ल्याएको पानी विद्यार्थीले धित मर्ने गरी पिउन पाउँदैनन् ।उक्त विद्यालयको कक्षा ५ का छात्र झलक श्रेष्ठ विद्यालयमा पढ्नु भन्दा बढी पानी बोक्दै समय बित्ने गरेको बताउँछन् । ‘पानी बोकर उब्रेको समयमामात्रै पढ्छौं’, श्रेष्ठ भन्छन्, ‘विद्यालयमा प्यास मेट्ने पानी नभएका बेला शिक्षाको प्यास मेट्न त फुर्सदै हुन्न ।’

विद्यार्थीहरु खानेपानी अभावको समस्याबाट मुक्ति चहान्छन् । दिनभर पानी बोक्न व्यस्त हुने विद्यार्थीले शिक्षकले पढाएको कुरा पनि राम्ररी नबुझ्ने गरेको गुनासो गरे । विद्यार्थीले बोकेर ल्याएको पानी शिक्षकहरुले विद्यालयका सबै विद्यार्थीलाई लाईनमा राखेर खुवाईदिने गर्छन् । विद्यार्थीले कुनै दिन धित मर्नेगरी पानी खान नपाउँदा पठनपाठन समेत प्रभावित हुने गरेको छ । यो विद्यालयमा खानेपानीको अभाव भएको वर्षौं भइसक्दा पनि कसैले ध्यान नदिएको स्थानीय बताउँछन् ।

विद्यालयको खानेपानी संकटबारे व्यवस्थापन समितिले आवाज उठाउँदै आएको छ । तर, सम्बन्धित निकायले समस्या हल गर्नेतर्फ चासो दिएको छैन । शिक्षक विद्यार्थीका लागि विद्यालयमै शौचालय छ तर, पानी नभएका कारण प्रयोग गर्नै समस्या छ । स्थापनाकालदेखि नै विद्यार्थीहरुले पानी अभाव झेल्दै आएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतम बताउँछन् ।

विद्यालय २०४५ सालमा स्थापना भएको थियो । ‘गाउँ विकास समितिमा पटक पटक समस्याबारे भनेका छौं’, अध्यक्ष गौतमले भने, ‘तर गाविसले कुनै चासो देखाएन । दलका नेताले पनि भेदभाव गर्दा विद्यालयमा पानी पुग्न नसकेको हो ।’ विद्यालय स्थापना भएदेखि खानेपानी उपलब्ध गराउने दल तथा गाविसको बाचा हात्ती आयो हात्ती आयो फुस्सा भएको गौतमले गुनासो गरे ।

यहाँका बासिन्दा ठुलो खानेपानी योजनाको पर्खाइमा छन् । केन्द्रीयस्तरका योजना पर्ने आशमा गाउँबासी बसेको पनि वर्षौं भइसक्यो । काकाकुलको जस्तै समस्या टर्ने आशमा बसेका गाउँले खानेपानी नहुँदा निराश छन् । हाल रचना प्राविमा २ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक शिवराज भण्डारी दलका नेताले चुनाव जितेर गएपछि गाउँको समस्या चटक्कै भुल्ने गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?