+
+

‘रोमान्टिक छवि’ बदलिने अपेक्षामा आर्यन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १८:१०

काठमाडौं । अभिनेता आर्यन सिग्देलको भनाइलाई पत्याउने हो भने उनी नास्तिक र एकदम आस्तिक दुवै होइनन् । उनी भगवान मनभित्र छ भन्ने कुरामा विश्वास गर्छन् ।

उनी अभिनित सोसल–ड्रामा ‘पुजार सार्की’ जेठ १० गतेदेखि प्रदर्शन तयारीमा छ । फिल्ममा उनी पुजारीको भूमिकामा छन् । उनको पात्र दलित समुदायकी युवतीसँग विवाह गरेर सामाजिक समानताको सन्देश दिन चाहन्छ । उनको पात्र ब्राह्मण हो तर जातमा ‘झर्न’ चाहन्छ ।

बुवा पण्डित भएपनि आर्यनमा पूजापाठ गर्ने बानी थिएन । ‘म आउट अफ ट्रयाकको मान्छे हुँ । बुवा पण्डित हुनुहुन्छ । म चाहिं खासै टीका नलगाउने मान्छे परें । मनमा भएको भगवानलाई देखाइरहनुपर्दैन भन्ने सोचमा विश्वास राख्छु,’ उनी भन्छन् ।

‘पुजार सार्की’मा देखिने आर्यनको ब्राह्मण लुक उनकै पिताबाट प्रभावित छ । निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्वीर देखेका थिए । पात्र निर्माण गर्ने राउतलाई त्यो फोटोको याद आयो । अनि आर्यनसँग फोटो मागेर पात्र निर्माणमा काम गर्न थाले ।

‘उनले त्यो फोटो मागे पछि मैले दिएँ । त्यो फोटोअनुसार मेरो लुक्स ट्राइ गर्ने बित्तिकै फाइनल भयो । तर क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो,’ उनले भने । छोरामा आफ्नो लुक देखेपछि आर्यनका बुवा समेत खुसी भए ।

‘निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो,’ आर्यनले सम्झिए । फिल्ममा आर्यनको अपोजिटमा अञ्जना बराइली छिन् । अञ्जना दलित समुदायकी युवतीको रोलमा छिन् । मन्दिरका पुजारी आर्यनसँग उनको प्रेम हुन्छ ।

‘फिल्मभित्र पूजापाठ गर्दागर्दै अञ्जनासँग अफेयर हुने हो । मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिंडेको किसिमको छ । त्यसकारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिनँ,’ आर्यनले भने ।

उनी अहिले पनि मानिसमा जातीय सचेतनाको कमी देख्छन् । ‘कति घटना अहिले पनि घटिरहेका छन् । कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान् । त्यही परिस्थितिसँग जुधेर फिल्म अघि बढेको छ । यसमा मेरो चरित्र निर्माण कठिन थियो,’ उनले सम्झिए ।

आर्यनको करिअर रोमान्टिक फिल्मका अभिनेताको रुपमा भयो । उनी आफ्नो त्यो छविलाई बदल्न चाहन्छन् । ‘पुजार सार्की’ उनलाई त्यो मौका हुनसक्छ । यसअघि उनले आर्टहाउस फिल्म ‘होमवर्क’ पनि गरे तर त्यसले उनको छवि बदल्न सकेन ।

‘पुजार सार्की’ले रोमान्टिक एक्टरको छवि बदल्ने उनको आशा छ । ‘हामीले यो धारको चलचित्र पनि गर्नुपर्छ र अर्को मूलधारको चलचित्र पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो । दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई पनि फाइदा हुन्छ,’ आर्यन भन्छन्, ‘राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको फिल्म पनि गर्छु । मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिच्किचाउनुभएका भएका निर्मातालाई यो फिल्मले त्यो मेटाइदिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?