अमेरिकी रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने प्रयास तत्कालका लागि असफल भएको छ । अमेरिकी प्रतिनिधिसभाले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रस्ताव रोकिदिएको छ ।
रिपब्लिकन सांसद थोमस मेसीले उक्त प्रस्ताव पेस गरेका थिए । उनले कांग्रेसको स्वीकृतिबिना इरानविरुद्ध सैन्य कारबाही गरेको आरोप लगाउँदै हेगसेथलाई पदबाट हटाउनुपर्ने माग गरेका थिए ।
मंगलबार अमेरिकी प्रतिनिधिसभामा प्रस्तावमाथि मतदान भएको थियो । महाभियोग प्रस्तावलाई सिधै सदनमा अघि बढाउने वा न्यायिक समितिमा पठाउने भन्ने विषयमा मतदान हुँदा अधिकांश सांसदले समितिमा पठाउने पक्षमा मत दिएका थिए ।
मतदानमा २११ सांसदले प्रस्ताव न्यायिक समितिमा पठाउने पक्षमा र २०४ जनाले विपक्षमा मतदान गरे । रिपब्लिकन पार्टीका झन्डै सबै सांसदले समितिमा पठाउने पक्षमा मतदान गरेका थिए । प्रस्तावक थोमस मेसीले भने फरक मत राखेका थिए ।
यो निर्णयसँगै हेगसेथविरुद्ध महाभियोग अघि बढाउने प्रयास तत्कालका लागि प्रभावहीन बनेको छ ।
निर्णयपछि पेन्टागनमा ६ महिनापछि भएको पहिलो पत्रकार सम्मेलनमा रक्षामन्त्री हेगसेथले आफूविरुद्धको महाभियोग प्रयासलाई मजाक र षड्यन्त्रको संज्ञा दिए ।
तर डेमोक्रेटिक पार्टीले भने यो विषय यहीँ समाप्त नभएको बताएको छ । प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता हाकिम जेफ्रिजले भने, ‘यो अन्त्य होइन, सुरुवात मात्रै हो ।’
हाल अमेरिकी कांग्रेसका दुवै सदनमा रिपब्लिकन पार्टीको नियन्त्रण छ । त्यसैले हेगसेथविरुद्धको महाभियोग प्रस्ताव सफल हुने सम्भावना कम देखिएको थियो ।
तर आगामी जनवरीमा डेमोक्रेटिक पार्टीले कांग्रेसका दुवै सदनको नेतृत्व सम्हाल्ने भएकाले त्यसपछि यो विषयमा राजनीतिक दबाब बढ्न सक्ने देखिएको छ ।
प्रतिक्रिया 4