Comments Add Comment

मदन भण्डारी भैदिएका भए….. मोदी बन्थे कि ?

कमल मादेन

UML-Progrmनवौं महाधिवेशनका दृश्यहरु

गत असार १९ गते एमालेको नवौं महाधिवेशन उदघाटनको दिन भृकुटीमण्डप आसपास अत्यधिक भिडभाड थियो । पुतलीसडकबाट पश्चिमतर्फको भृकुटीमण्डप सडकखण्ड पूरै जाम थियो । दिउँसो १.३० बजेतिर एमाले समर्थकहरु महाधिवेशन उदघाटनस्थलतर्फ छिर्न जोड गरिरहेका थिए । उनीहरु दशौं हजारौंको संख्यामा स्वस्तफूर्त भेला भएका थिए । प्रतिनिधिलाई मात्रै भित्र छिर्ने अनुमति थियो ।

होहल्ला शुरु भयो । उनीहरु व्यस्थापन पक्षसँग रोष प्रकट गरिरहेका थिए । मध्यदिनमा छटपटाउँदै थिए । उदघाटन हेर्न र सुन्न नदिइएकोमा जबरजस्त फोहोरी आरोप लगाउँदै थिए । मैले धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लाबाट आएका झुण्डहरुले आक्रोश पोखिरहेको सुनें ।

विद्यार्थी समुह थप आक्रोशित हुँदै गए । शुरुमा नेताविरोधी नारा लगाए । त्यसपछि स्वागतद्वार धमाधम ढाल्न थाले । हेर्दाहेर्दै १,२ गर्दै सबै ढालियो । ढलेका स्वागतद्वार च्यात्ने काम भयो । मैले पहिले १०/१५ जनाको समूहले ब्यानर ढाल्ने र च्यात्ने काम गरे । तिनीहरु त्यस्तै २०/२२ वर्षका थिए ।

स्वागतद्वार लडाइरहेको केही फोटो र फुटेज लिएँ । पहिले ती युवाहरु हतारमा आक्रोअ र डरसहित विध्वंश गरिरहेका देखिन्थे । कतैबाट अवरोध भएन । धेरैले ठिकै गरे भने होलान् । उनीहरु पनि आनन्दले टायर बाल्न र नाराबाजी गर्नतिर लागे ।

महाधिवेशनको दोस्रो दिन मुख्य प्रवेशद्वार पूर्वतर्फ प्रायः सबैजसो ओली समुहको र पश्चिमतर्फ नेपाल समुहको क्षेत्रजस्तो देखिन्थ्यो । उम्मेदारको पर्चा जंगलमा सुकेका पातले जमिन ढाकेजस्तै छरिएका थिए । बाँड्नेले एउटा होइन १०-२० वटा एकैजनालाई दिन्थे । त्यहाँ माधव समुहको पर्चा बढी थियो । मैले जति पनि पर्चा बटुलेर घर ल्याएँ, ती धेरैजसो नेपालसमुहसँग सम्बन्धित थिए ।

वामदेव गौतमका प्रचारकहरुले वामदेवकै ४/५ फिट लामोे पोष्टर भिरेको पनि देखियो । तर, तिनीहरु १०/१५ को संख्याभन्दा बढी देखिँन ।
महाधिवेशनको तेस्रो दिन मुख्यद्वार पश्चिमतिर ‘हाम्रा माधव नेपाल महान् छन…’. यस्तै केही शब्द प्रयोग गरेर एउटा झुण्ड नाचगान गरिरहेको थियो । भिडभाडमा सुनियो ‘लौ माधव नेपाल समुह हदैसम्म तल ओर्लिएर प्रचार गर्न थाल्योे’ । नभन्दै मुख्यद्वार पूर्वतर्फ पनि ‘पूर्वबाट हाम्रा ओली उदाए’ भनेर अर्को समुह नाचगानमा जुट्यो । त्यो जयजयगान प्रतिस्पर्धाको एक रुप थियो ।

अर्को आश्यचर्य के देखियो भने नेताहरु मुख्यद्वारसम्म दुई अगल दिशाबाट आउँथे । ओलीसमुह अक्सर पूर्वर् र नेपालसमुह पश्चिमतर्फबाट मुख्यद्वार पुग्थे । जुन समुहका नेता आए, ती समुहका कार्यकर्ताहरु फलानो नेता जिन्दावाद भन्दै घेर्न पुग्थे । प्रवेशद्वार र वरपर प्रहरीले ढाकेको थियो

कमल मादेन
कमल मादेन

मदन भण्डारीको कर्मथलो

जनताको बहुदलीय जनवादका प्रवर्तक/प्रणेता मदन भण्डारीले कोशी अञ्चलमा सघनरुपमा काम गरेको अञ्चल हो । मदन ०२५ सालतिर पुष्पलाल समुहको मुक्तिमोर्चामा काम गर्थे । जनवादी गीतहरु लेखेर आफै गाउँथे । उनको एक गीत ‘हलीदाइ जोताराले बाँधेर ल्याऊ सामन्ती साँडेलाई…….’ भन्ने थियो । सुनसरीका ओम कोइराला अझै यो गीत गुन्गुनाउँछन् ।

कोइरालाका घरमा भण्डारी केहीपटक पुगेका थिए । एकपटक कोइरालाकी आमाले भूमिगत मदनलाई ‘तिमी हाम्रो नातेदार हौ, मेरी बहिनीको देवर हौ । तिम्रो थर भण्डारी हो’ भनेकी थिइन् । त्यसबेला मदनले ‘आमा, हामी नातेदार पर्छौ, पर्दैनाैं थाहा छैन । तर मेरो थर भण्डारी होइन’ भनेका थिए ।
मदनले कोशीमा मुक्तिमोर्चा, कोर्डिनेशन केन्द्र, नेकपा मालेमा रही ०४५ सालसम्म काम गरेका थिए । मदनले जनताको बहुदलीय जनवादको अवधारणा पूर्वमा रहँदै बनाएका हुन् ।

भण्डारीको कर्मथलोमा केपी कमजोर

नवौं महाधिवेशनमा ओली समुहको केन्द्रमा बहुमत देखिए पनि पूर्वाञ्चलमा हारेको छ । ओलीसमुह अञ्चल -पूर्ण)तर्फ कोशी, सगरमाथा र जनकपुरबाट हारेको छ । कोशीबाट राजेन्द्र गौतमले हारे । नेपाल समुहका जीवन घिमिरेले जिते ।

कोशीबाटै भूगोलतर्फ लडेका गुरु बराल हारे । बैकल्पिक उम्मेदवार किशोरचन्द्र दुलाल पनि हारे । सगरमाथाबाट ओली समुहका नरेन्द्र पोख्रेल हारे । नेपाल समूहका जगन्नाथ खतिवडाले जिते । त्यसैगरी नेपाल समूहका लक्ष्मण पौडेलले जनकपुरबाट पनि जिते । अञ्चल -पूर्ण)तर्फबाट जितेका केन्द्रीय सदस्यले अञ्चल इञ्चार्जको कार्यभार लिने परम्परा छ । एमाले अञ्चल इञ्चार्जको भूमिका संगठन निर्माणमा महत्वपूर्ण हुने गर्छ ।

उसो त ओलीसमुहको कोशीबाटै महिला (पूर्ण) र जनजाति पूर्णतर्फबाट महिन सुब्बा, शिवमाया तुम्बाहाम्फे, शेरधन राई, डम्बरध्वज सम्बाहाम्फे, खगेन्द्र राईहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । तिनीहरुको अञ्चल (पूर्ण) सदस्यको जस्तो साँगठनिक विस्तारमा खासै भूमिका हुँदैन ।
ओली समुहको अञ्चल (पूर्ण) तर्फ कुलमध्ये ९ केन्द्रीय सदस्य जितेको बताइएको छ । नेपाल समुहले बागमती, उपत्यका र नारायणी गरी ६ अञ्चलमा (पूर्ण) सदस्य जितेको छ । एमालेले उपत्यकालाई छुट्टै अञ्चलको हैसियत दिएको छ ।

ओलीको हारका कारणहरु

पहिलो-भीम आचार्य : संस्कृति तथा पर्यटन उड्डयन मन्त्री रहेका आचार्यले महाधिवेशनताका आर्चायले पर्यटनबोर्डबाट ठूलै रकम लेनदेन गरेको हल्का चर्चा चलेको थियो । नेताले नेपालमा अनैतिक रुपमा पैसा बटुल्नु सामान्य नै मानिन्छ । नेपालीलाई लुट्ने कांग्रेस, माओवादी, एमाले (सबै गुट), मधेसवादी पार्टी आदि-आदि नै हुन् । त्यो नेपालीलाई राम्ररी थाहा छ । मन्त्री आचार्य महाधिवेशनको केही हप्ता अगाडिसम्म मौन बसेका थिए । मैले पहिले-पहिले आम चुनावमा मतदान गर्ने गरेको क्षेत्र मन्त्री आचार्यको चुनावी क्षेत्र हो ।

महाधिवेशनपूर्व सुनसरीका केही साथीहरुलाई मन्त्री आचार्य महाधिवेशनका निम्ति जोडतोडले लागेका होलान् भनेर सोधेको थिएँ । उत्तर बेग्लै थियो । मित्रहरुले ‘मन्त्री आचार्यले त आफ्ना निकटवर्तीहरुलाई कसैलाई पनि कुनै समुहमा खुलेर नलाग्न सुझाव दिएको गाँईगुई छ’ भने । मलाई मात्र होइन, स्वयम् भन्नेहरु पनि अचम्म मानिरहेका थिए । तर, महाधिवेशनको मुखमा मन्त्री आचार्य नेपाल समुहमा कम्मर कसेर लागे ।महाधिवेशनमा आचार्यले आफ्नै नाम अंकित डटपेन र डायरी बनाई प्रतिनिधिहरुलाई बाँड्न भ्याए । के पनि सुनियो भने मन्त्री आचार्यले केही प्रतिनिधिलाई महाधिवेशन अवधिभर मन्त्रीक्वार्टरमै राखे । तिनीहरुमध्ये केहीले आचार्यलाई मत खसाले पनि अरुले ओली समुहलाई दिएको चर्चा सुनसरीमा अझै सेलाएको छैन ।

दोस्रो लालबाबु पण्डित : कोशी अञ्चलबाटै लालबाबु पण्डित अहिलेका सामान्य प्रशासनमन्त्री हुन् । पण्डित मन्त्री भएपछि एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ताकारले ‘मन्त्रीज्यू तपाई सभासद पनि होइन, कसरी मन्त्री बनिनु भो ?’ भनेर सोधेको थियो । त्यसबेला पण्डितले भनेका थिए ‘मलाई कमरेड अध्यक्ष झलनाथ खनालले मन्त्री बनाएका हुन् । म त मन्त्री हुने दिन रिङरोड हुँदै कोटेश्वरतर्फ बसमा जादैथिएँ ।’ त्यही बेला अध्यक्ष खनालले मन्त्री भइस् भनेर फोन गरे । त्यस अघिसम्म पण्डितलाई केही गाइँगुइँसम्म थाहा थिएन, अरे ।

विदेशी नागरिकता र ग्रीनकार्ड सन्दर्भ उछालेर पछि हटेका पण्डित नेता माधवकुमार नेपालको कोटामा मन्त्री बनेका हुन् । ओलीसमूहका प्रतिनिधिका लागि कोशी अञ्चलबाट खनाल तथा नेपालका २ मन्त्री हुनु असजिलो अवस्था थियो । महाधिवेशनमा तिनै मन्त्रीको उम्मेदवारी उपाध्यक्ष र सचिवमा परेको थियो । त्यसले ओली समुहका लागि वातावरण झन असहज बन्यो ।

तेस्रो राजेन्द्र गौतम : तर, पनि कोशी अञ्चलमा ओलीसमुहको पराजयको पहिलो कारण राजेन्द्र गौतम हुन् । गौतम महाधिवेशनअघि कोशी अञ्चलमा एमाले इञ्चार्ज थिए । तिनी तत्कालीन संस्थापन पक्षधर थिए । गौतमले संस्थापना पक्षको धर्मअनुसार ओलीसमुह कमजोर बनाउन लागि परे । उनले ओलीसमुहका धेरै कार्यकर्ता तथा नेताहरुलाई संस्थापना समुहमा भित्रियाएका थिए । जब वामदेव गौतमले ओली समुहसँग गठबन्धन गरे, त्यसपछि राजेन्द्र गौतम पनि ओली समुहका भए । तर, तिनले संस्थापना पक्षमा भित्र्याएका अधिकांश एमालेजनहरु महाधिवेशनताका नेपाल समुहमै लागे । त्यसअर्थमा राजेन्द्र गौतमको धरातल कमजोर थियो ।

केही कोशीका प्रतिनिधिहरुका अनुसार केेन्द्रीय सदस्य सोझै महाधिवेशनमा प्रतिनिधि नहुने व्यवस्था भए गौतम प्रतिनिधि बन्न हम्मेहम्मे पथ्र्यो । राजेन्द्र गौतम अञ्चलतर्फ उठ्नै हुन्थेन । अञ्चल (पूर्ण) तर्फ उठे र हारे । बरु खुल्लातर्फ उठेका भए जित्ने सम्भावना थियो । प्रायः विद्यार्थी नेताहरु जो जति उठे, सबैले जिते । तिनीहरु सबै भूगोलतर्फ अर्थात खुल्ला तर्फबाट उठेका थिए । राजेन्द्र गौतम पनि पहिले विद्यार्थी नेता थिए । भूगोलतर्फबाट उठेको भए अहिले केन्द्रीय सदस्य हुन्थे ।

चौथो गुरु बराल : कोशी अञ्चलमा ओली समुहका गुरु बराल एकताका लोकप्रिय कम्युनिष्ट नेता मानिन्थे । तर, गुरुले कहिल्यै पावर इन्टरटेन गर्न पाएनन् । त्यो अर्थमा उनी अभागी नेता हुन् । गुरु अधिवेशन केही महिनाअघि लडेर अशक्त भएका थिए । गुरुकोे स्थिति महाधिवेशनमा भाग लिन सक्ने वा नसक्ने जस्तो थियो । लठ्ठी टेकेर सहभागी भए । उम्मेदवारी दिए । महाधिवेशन हलमा गुरुलाई देखेर ओलीसमुहका प्रतिनिधिहरु ‘बिरामीहरुको जत्था’ भनेर खिसिटियुरी गर्थे ।

गुरु भन्दापछि कोशीबाटै केन्द्रीय सदस्य भएकाहरु उपाध्यक्ष र सचिवमा उठ्दै थिए । ओली समुहले गुरुलाई सचिवसम्म उम्मेदवारी दिलाउनुपथ्र्यो । गुरुले केन्द्रीय सदस्यमा उठेर गल्ती गरे । गुरु करिव २०/२२ बर्षदेखि केन्द्रीय सदस्य रहँदै आएका थिए । फेरि केन्द्रीय सदस्यमै उम्मेदवारी दिनु हारको अर्को कारण बन्यो ।

अन्य कारणहरुः कोशीमा ओली समुह कमजोर हुनुको तेस्रो कारण स्वयम् ओली समुहको नेतृत्वपंक्ति रह्यो । उम्मेदवारी मिलाउन नेतृत्व पंक्तिले प्रतिनिधिहरुको इच्छाअनुसार गर्न सकेन । अधिकांश प्रतिनिधिहरुको रायबमोजिम ओली समुहबाट जित्ने सम्भावना भएकाहरु उम्मेदवार नै बन्न सकेनन् । त्यो ओली समुह प्रतिनिधिको भ्रम पनि हुन सक्छ । तर, त्यसबेला उम्मेदवारी छनौटलाई लिएर प्रतिनिधिहरुमा असन्तुष्टि उब्जिएको थियो । त्यो असन्तुष्टिले महासचिव ईश्वर पोख्रेल नै झण्डै झण्डै हारे । उनले बालबाल जिते । ओली समुहका पोख्रेल नेपाल समुहका सुरेन्द्र पाण्डेभन्दा मात्र ६ मत बढ ल्याई बिजयी भएका हुन् ।
कोशीबाट महाधिवेशनपूर्व ओली समुहका युवा तथा विद्यार्थी नेता विनोद ढकाल केन्द्रीय सदस्य हुने निकै चर्चा थियो । तर, ढकाल उम्मेदवार नै बन्न सकेनन् । ढकालका निम्ति राजेन्द्र गौतम र गुरु बराल बाधक बने ।
नेपाल समुहले प्रतिनिधि चयनमा जसरी काम गरे, त्यसअनुसार ओलीसमुहले ध्यान दिएर लाग्न सकेन । तेह्रथुममा ओलीसमुहका जिल्ला अध्यक्ष तेजमान कन्दङ्वा मनोनित कोटामा बसे । महाधिवेशनमा मनोनित कोटा विवादित भयो । कन्दङवाजस्ता ओलीसमुहका धेरै मनोनित कोटामा बस्नेहरु हेरेका हेरेकै भए ।
एमालेको विभिन्न केन्द्रिय बिभागमा बसेका पिताम्बर तिम्सिना तेह्रथुमबाट प्रतिनिधि भए । तिनी केन्द्रीय विभागहरुबाटै प्रतिनिधि हुन सक्थे । तर, तेह्रथुमबाट प्रतिनिधि भए । तिम्सिनाले तेह्रथुमबाट उठेर १ प्रतिनिधि घटाए ।

ओली समुहले प्रतिनिधि चयनमा पूर्वाञ्चलमा व्यापक हेलचेकि्रयाइँ गर्‍यो । एमाले एक नेताका अनुसार मोरङमा ओली समुहले प्रतिनिधि बढी जित्नुपथ्र्यो । तर, प्रचार-प्रसारमा ध्यान कम दिएकै कारण नेपाल समुहभन्दा ओलीसमुह पछि पर्‍यो ।
उपन्यासका पात्र जीवन घिमिरे

अब कोशी अञ्चलमा संभवतः जीवन घिमिरे नयाँ कोशीे इन्चार्ज हुनेछन् । घिमिरे मोरङको आन्तरिक एमाले कलहमा एकापक्षका खम्बा हुन् । घिमिरे पुराना पञ्चायतकालकै प्रभावशाली विद्यार्थी नेता पनि हुन् । उनी संगठन सञ्चालनप्रति निपूर्ण छन् ।

मैले सञ्जय थापाको २४/२५ बर्षअघि एक उपन्यास पढेको थिएँ, उपन्यासको नाम त संम्झना छैन (संभवत बुङलाका ती साँझहरु…) । त्यसका मुख्य पात्रको नाम जीवन घिमिरे थियो । उपन्यासमा घिमिरेको सशक्त भूमिका छ । नवौं अधिवेशनपछि कोशीमा घिमिरेलाई सशक्त भूमिका निभाउने अभिभारा आइपरेको छ । कोशीमा गुरु बराल र भीम आचार्यहरुपछि सशक्त भूमिका निभाउने पालो अब घिमिरेको आइपरेको छ । घिमिरेभन्दा कनिष्ट बिद्यार्थी नेताहरु पहिल्यै एमाले केन्द्रीय सदस्य भइसकेका छन् । त्यसअर्थमा घिमिरे गुरु बराल, भीम आचार्य, लालबाबु पण्डित, राजेन्द्र गौतमहरुका कारण स्थान नपाएका एमाले नेता हुन् ।

उसो त कोशीमा नेपाल र खनालका स्थायी समर्थक त्यति छैनन् । कार्यकर्तालाई को नेपाल अथवा को खनाल समुहका नेता हुन् भनेर खुट्याउन सधै अन्योल हुन्छ । तर, नवौं महाधिवेशनमा नेपाल खनाल गठबन्धन मजबुत देखियो । त्यसबाट समग्र पूर्वाञ्चलमा ओलीसमुहको दुर्दिन थपिएको छ ।
एमालेभित्र अधिवेशनताकाकै गुटउपगुट कायम रहे पूर्वाञ्चल ओलीसमुह अझ कमजोर नै रहने सम्भावना बढेर गएको छ । त्यसबाट ओली समुहका खासखास व्यक्तिहरु पिरलिनु पर्ने छ । महाधिवेशनको समीकरण यथावत रहे त्यो स्वभाविक हुनेछ ।

अर्कोतिर कोशीमा इन्चार्ज तथा सह-इन्चार्ज -धर्मप्रसाद निरौला- सुनसरी) दुबै तराईका छन् । कोशीका ४ जिल्ला पहाड तथा हिमाली छन । ती ४ जिल्लामा अञ्चल प्रमुख तथा सह-प्रमुखको उपस्थिति कति होला ?
अन्तमा, फेरि मदन भण्डारी
मदन भण्डारीले लेखेको एउटा गीत यस्तो छ-
‘बल्छन् महलमा दिपावली हजार ।
झमक्क जगमगाए पैसा हुने बजार ।
झुप्रा र बुकुरी छन् दिउँसै पनि अँध्यारा ।
तिनीहरुभित्र आउँदैन कहिल्यै कुनै तिहार ।…….’

मदन बितेको दुई दशक भयो । राजनीतिक परिवर्तनहरु भएका छन् । तर, मदनले गाएको गीतको सारमा खासै परिवर्तन भएको छैन । गाउँमा धेरै जनताको घरमा छोरा वा श्रीमान बिदेश गएवापत तिहार आउँछ । बिदेश जान नसक्नेहरुको हालत गीतमा भनिएकै जस्तो छ ।

पछिल्लो ५/६ वर्षमा चार कम्युनिष्ट नेताहरु आलोपालो गर्दै प्रधानमन्त्री भए (पुष्पकमल दाहाल, माधवकुमार नेपाल, भलनाथ खनाल र बाबुराम भट्टराई) । मनमोहन अधिकारीसहित नेपालमा ५ जना कम्युनिष्ट प्रधानमन्त्री भए । जनताका निम्ति मनमोहनले नायक हुन् । अन्य चार प्रधानमन्त्री जनताका निम्ति खलनायक रुपमा त चित्रित त भएनन । तर, नायक पनि हुन सकेनन् ।

बाबुराम भट्टराईले बाटो फराकिलो बनाउनेसम्म कामको थालनी गरे । त्यो जनतालाई सास्ती कम गर्ने काम हो । जुन जनताले कहिल्यै भुल्ने छैनन् । चौडा सडक बनाउने कामले भट्टराईको प्रधानमन्त्री कार्यकालमा भएका अन्य नराम्रा कामलाई ओझेलमा पार्न सक्छ । एमालेमा मदन भण्डारी भैदिएको भए सायद त्यस्तो हुन्थेन । संभवत भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मनमोहन अधिकारीले झै शीर उचो पार्न सक्थे होला ।
अब पालो केपी शर्मा ओलीको आउँदैछ । ओलीज्यू मनमोहन अधिकारीजस्तो हुने कि अन्य जस्तै बन्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment