+
+

नेपालमा जनविद्रोहको सम्भावना छैन : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २८ गते १२:१७

BIplap

२८ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दको गोप्य योजना के छ भन्ने धेरैलाई थाहा छैन । मिडियामा उतिसाह्रो आउन नरुचाउने विप्लवको भित्री कार्ययोजना अनलाइनखबरले फेला पारेको छ ।

नेकपा-माओवादीको गत असारमा सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्यको काउन्टरमा विप्लवले अलग्गै दस्तावेज ल्याएका थिए । उक्त दस्तावेज सुरक्षा निकाय र सेनासम्म पुगिसकेको भए पनि वौद्धिक समदाय र मिडियामा भने यसबारे खासै बहस भएको छैन ।

आफ्नो दस्तावेजमा विप्लवले नेपालमा जनविद्रोह असम्भव रहेको ठोकुवा गरेका छन् । विद्रोह असम्भव भएकाले पार्टीलाई भूमिगत बनाएर जनयुद्धमा जानुपर्ने र डन एवं भ्रष्टाचारीमाथि कारवाही थाल्नुपर्ने उनले प्रस्ताव गरेका छन् । माओवादीका केन्द्रीय नेताले राजधानी छाड्नुपर्ने विप्लवको प्रस्ताव छ ।

जनयुद्धको जगमा जनविद्रोह सारसंग्रहवाद

विप्लव भन्छन्- नेपालमा विद्रोहको सम्भावनै छैन, विद्रोह विद्रोह भन्दै गइयो भने एमाले र प्रचण्डकै ठाउँमा पुगिन्छ

पार्टीले पालुङटार बैठकदेखि नै लिँदै आएको जनयुद्धको जगमा जनविद्रोह गर्ने लाइन प्रचण्ड र बाबुरामको सेवा गर्ने सार संग्रहवादी लाइन भएको विप्लवले बताएका छन् । ‘प्रचण्ड र बाबुरामले जनविद्रोहलाई जनसेना विसर्जन बनाए, पालुङटारदेखि सातौं महाधिवेशनसम्म हामीले जनयुद्धको जगमा जनविद्रोह भन्यौं, नेपालमा जनविद्रोह सम्भव छैन ।’

शान्ति सम्झौता गर्दा ०६३ सालमा प्रचण्ड बाबुरामले ‘सशस्त्र संघर्षको अन्त्य’ भन्ने शब्द स्वीकार गरेका बेला पार्टीमा विरोध आएको विप्लवले खुलासा गरेका छन् । तर, प्रचण्डले दुश्मनलाई उत्तेजित नबनाउन त्यतो शब्द स्वीकार गरिए पनि उनले सत्ता कब्जा गर्ने आश्वासन दिएको उनले बताएका छन् ।

biplov‘खरिपाटीमा प्रचण्ड र बाबुरामले विद्रोहमा जोड दिए,’ विप्लवले भनेका छन्,- ‘त्यो हतियार बिसाउन र ससदवादी बन्नलाई थियो । जनयुद्धको जग भनेको त्यसको अनुभव र शिक्षामात्रै होइन ।’

विप्लवले आफ्नो दस्तावेजमा इतिहासको समीक्षा गर्दै भनेका छन्- पालुङटार बैठकमा हाम्रो र बाबुरामको दुई लाइन थियो, हामीले जनयुद्धको जगमा जनविद्रोह भन्यो, बाबुरामले संविधान निर्माण भने, प्रचण्डको वीचमा झुल्ने आधा लाइन बन्यो ।’

परिस्थितिबारे विप्लवको निचोड

नेपालका आधारभूत विशेषता केलाउँदै विप्लवले नेपालको गाउँ र सहर संसारको कुनै पनि विशेषतासँग मेल नखाने बताएका छन् । गाउँ र सहरको सूचना गोप्य नरहने उनको तर्क छ ।

मुलुकको परिस्थितबारे उनले दस्तावेजमा भनेका छन्- ‘क्रान्तिको उर्वर भूमि निम्न मध्यम वर्ग हो । नेपालमा प्रतिक्रािन्त भएको छ । विगतको तुलनामा राज्य झन् सुदृढ भएको छ । क्रान्तिकारी आन्दोलन विभाजित भएको छ । विद्रोहका लागि आवश्यक सामथ्र्यको अभाव छ । पार्टीको आन्तरिक शक्ति रक्षात्मक बनेको छ । विस्तारवाद, साम्राज्यवाद र दलाल पुँजीवादको साँठगाँठ बढ्दै गएको छ ।’

यही परिस्थितिको विश्लेषणका आधारमा विप्लव भन्छन्- ‘नेपालमा विद्रोहको सम्भावनै छैन । विद्रोह विद्रोह भन्दै गइयो भने एमाले र प्रचण्डकै ठाउँमा पुगिन्छ । जनयुद्धको सम्भावना छ । तर, रुस र चीनको जस्तो होइन, देशको विशेषतालाई पक्डेर वस्तुवादी बनाउनुपर्छ ।’

डन र भ्रष्टाचारीलाई ठोक्दै भूमिगत हुने लाइन

राजनीतिक परिस्थिति विद्रोहका लागि प्रतिकूल छ भनिसकेपछि विप्लवले पार्टीलाई भूमिगत बनाएर जनकारवाही अघि बढाउनुपर्ने नीति अघि सारेका छन् ।

‘संगनात्मरुपले पार्टीलाई भूमिगत ढाँचासहित स्थानान्तरण गर्दै भूमिगत कार्यशैलीमा लैजानुपर्छ,’ उनले आफ्नो दस्तावेजमा भनेका छन्-‘नेतृत्व पङ्ती पनि राजधानीबाट बाहिर सर्नुपर्छ । जबसलाई बैधानिक मोर्चाका रुपमा राख्न कोसिस गर्नुपर्छ । त्यो पनि नभए भूमिगत बनाउनुपर्छ । भ्रष्टाचारी र डनविरुद्ध कारवाही गर्नुपर्छ । जाँडरक्सी खाने, जुवा तास खेल्ने र महिला हिंसामा संलग्नविरुद्ध संघर्ष अघि बढाउनुपर्छ ।’

माओवादी सचिव विप्लवले नेपालमा चीन र रुसको जस्तो नभई नेपाली मोडेलको जनयुद्ध गर्ने भने पनि आफ्नो दस्तावेजमा यसबारे प्रष्ट व्याख्या गर्न सकेका छैनन् ।

नयाँ पार्टीको संगठनात्मक रुवरुप कस्तो हुने भन्ने विषयमा पनि उनको दस्तावेजमा स्पष्ट व्याख्या छैन । जनयुद्ध नेपालमा कसरी सम्भव छ भन्ने स्पष्ट व्याख्या नगरी डन र भ्रष्टाचारीलाई ठोक्ने र भूमिगत हुने कुरामा मात्रै जोड दिइएको छ ।

तर, उनले मोहन वैद्यको नेतृत्वमा रहेको आफ्नै पार्टीप्रति तीव्र असन्तोष पोखेका छन् । पार्टी ठूलो अर्कमन्यतामा फसेको र कार्यदिशाको समस्या परेको विप्लवले बताएका छन् ।

प्रचण्ड र वैद्यवीच एकता भए विप्लव जंगल पस्ने

माओवादी सचिव विप्लवको दस्तावेज हेदाृ उनी प्रचण्डको नेतृत्वमा पाटीृ एकता गर्ने पक्षमा देखिँदैनन् । उनको अर्जुनदृष्टि भूमिगत पार्टीको पहलकदमीमा सशस्त्र जनयुद्ध गर्नेदिशातिर स्पष्ट सोझिएको छ । भलै त्यो ‘जनयुद्ध’को भविश्य के होला भन्ने अलग्गै विश्लेषणको पाटो हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?