Comments Add Comment

हिमालय एयरको सुरुवातले बढायो पर्यटन क्षेत्रको विश्वास

himalaya air  for 650 (6)
नविन अर्याल

४ भदौ, काठमाडौं । चिनियाँ लगानीमा नेपालमा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी हिमालय एयरलाइन्स सुरु हुने भएपछि नेपाली पर्यटन व्यवसायी चिनियाँ पर्यटक वृद्धि हुनेमा आशावादी देखिएका छन् ।

चिनियाँ र नेपाली व्यवसायीको संयुक्त लगानीमा हिमालय एयरलाइन्सले कार्तिक ११ गतेदेखि अन्तर्राष्ट्रिय उडान भर्दै छ । तिब्बत एयरलाइन्स, एचआइएफ एभिएसन इन्भेष्टमेन्ट कम्पनी र यति वल्र्ड इन्भेष्टमेन्ट प्रालिबीच मंगलबार काठमाडौंमा हवाई सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।

‘विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देशसँग साझेदारी गरेर अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्न लागेका छौं’ एचआइएफका निर्देशक सुमन पाण्डेले भने- ‘यसले नेपालमा चिनियाँ पर्यटकहरुको आकर्षण बढाउने निश्चित छ ।’

करिव एक अर्ब ४० करोड जनसंख्या रहेको चीनबाट वाषिर्क १० करोड बढी पर्यटक विदेश भ्रमणमा जान्छन् । विदेश भ्रमणमा जाने चिनियाँ पर्यटकको केही हिस्सामात्र नेपाल भित्राउन सकेमा नेपालको पर्यटन व्यवसायले फड्को मार्ने पाण्डेको ठहर छ ।

अहिले नेपालमा जम्मा एक लाखको हाराहारीमा मात्र चिनियाँ पर्यटक आउने गरेका छन् । सन् २०१५ सम्म प्रतिबर्ष २ लाख चिनियाँ पर्यटक नेपाल भित्राउने लक्ष्य पाटा नेपाल च्याप्टरले लिएको छ ।

नेपालबाट चीनको तिब्बत लगायत अन्य गन्तव्यहरुमा पुग्ने हवाई भाडा महंगो छ । हिमालय एयरलाइन्सले उडान सुरु गरेपछि प्रतिस्पर्धाको आधारमा हवाई भाडा घट्ने हुँदा पनि धेरै चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउने व्यवसायीहरुको अनुमान छ ।

himalaya air  for 650 (3)

पछिल्लो समय नेपालको पर्यटन विकासमा हवाई सेवा नै बाधक रहेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने राष्ट्रिय ध्वजाबाहक नै जहाजबिहीन भएपछि नेपालको उड्डयन बिजनेस बिदेशी एयरलाइन्सको हातमा पुगेको छ ।

चाइना एयरको संजाल

नेपालमा रहेको पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै यहाँबाट अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्न आफुहरु सहमत भएको तिब्बत एयरलाइन्सका प्रमुख छेङ यिरुले बताए ।

तिब्बत एयरलाइन्सको मुख्य हिस्सेदारमा एयर चाइना र तिब्बतको प्रान्तीय सरकार रहेका छन् । एयर चाइनाले अहिले विश्वका धेरै मुलुकहरुमा आफ्नो सेवा सञ्चालन गरिरहेको छ । एयर चाइनाको चीन र विश्वका अन्य मुलुकसँगको नेवटर्कका कारण तिब्बत एयरलाइन्सले नेपालमा बढी पर्यटक भित्राउन भूमिका खेल्ने एचआइएफका निर्देशक सुमन पाण्डे बताउँछन् ।

हिमालय एयरलाइन्सले चीनको ल्हासा, चेङ्दु, बेइजिङ, हङकङ र संघाईमा उडान भर्ने पाण्डेले जानकारी दिए । यसले गर्दा नेपालको चीनको कुनाकुनासम्म प्रचार प्रसार हुने उनले विश्वास लिएका छन् । नेपालमा गौतम बुद्धको जन्मस्थल लुम्विनी रहेको हुँदा पनि चिनिया बौद्धमार्गी पर्यटकहरुको आकर्षण बढ्ने उनले बताए ।

नीतिगत सुधारको परिणाम

भर्खरैमात्र चिनियाँ सरकारले नेपाल भ्रमणमा निस्कने आफ्ना नागरिकलाई पासपोर्ट र टिकटमात्र देखाए पनि इमिग्रेसनबाट प्रवेश दिन थालेको छ । नेपालले चिनियाँ पर्यटकलाई अनअराइभल भिषा दिने भए पनि चिनियाँ अध्यागमनले नै आफ्ना नागरिकलाई बिना भिषा नेपाल आउन दिँदैनथ्यो । जसका कारण उनीहरुको भ्रमण प्राथमिकतामा नेपाल पर्दैनथ्यो ।

himalaya air  for 650 (4)

अब नेपाल आएर भिसा लगाउन सक्ने व्यवस्था भएपछि स्वतः उनीहरुको नेपाल भ्रमणमा आकर्षण बढ्ने विश्वास गरिएको छ । चीनबाट ठूलो संख्यामा पर्यटकहरु तिब्बत भ्रमणमा आउने गर्छन् । सहज हवाई सेवा उपलब्ध भएपछि उनीहरुलाई नेपालसम्म तान्न सकिने सम्भावना रहेको पाण्डे बताउँछन् ।

चिनियाँ मात्र नभई अन्य मुलुकका पर्यटक भित्राउन पनि हिमालय एयरलाइन्सले भूमिका खेल्ने व्यवसायीहरुको बिश्वास छ । हिमालय एयरलाइन्सले भारतको दिल्ली, मद्रास, मुम्बई, बैंङलोर, मलेसिया, दुबई, दोहा, बैंकक, सिंगापुर लगायतका गन्तव्यहरुमा पनि उडान भर्नेछ ।

यी गन्तव्यहरुमा नेपाल एयरलाइन्सले पनि उडान भर्दै आएको छ । नेपाल एयरलाइन्सले पनि छिट्टै दुईवटा एयरबसका न्यारोबडी जहाज ल्याउँदैछ ।

‘हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले सस्तो भाडामा यात्रु उडान सुरु गरेमा पक्कै पनि यी गन्तव्यका नागरिक नेपाल भ्रमणमा आउनेछन्’ पर्यटन बोर्डका एक अधिकारीले भने- ‘हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गर्नु नेपालको पर्यटन विकासका लागि सकरात्मक पाटो हो ।’

हिमालय एयरलाइन्सले नेपालका पर्यटन व्यवसायी र पर्यटन बोर्डसँग मिलेर काम गर्ने पाण्डेले बताए । नेपालका नयाँ-नयाँ गन्तव्यहरुको पहिचान गरी अन्तर्राष्ट्रिय मार्केटिङमा जाने उनको भनाई छ ।

पहिलो उडान ल्हासा, यस्तो छ विस्तार योजना 

हिमालय एयरलाइन्सले काठमाडौंलाई आधार बनाएर उडान सञ्चालन गर्ने भएको छ । यसले आफ्नो पहिलो उडान कार्तिक ११ गते तिब्बतको ल्हासामा गर्ने पाण्डेले जानकारी दिए ।

himalaya air  for 650 (1)

साढे २ अर्ब रुपैयाँ लगानीमा हिमालय एयरलाइन्सले हवाई सेवा सुरु गर्न लागेको हो । कम्पनीले पाँच वर्षभित्रमा कुल पुँजी १ देखि डेढ अर्ब डलर पुर्‍याउने लक्ष्य राखेको एचआइएफ एभिएसनका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बताए ।

एयरलाइन्समा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत र नेपाली कम्पनीहरुको ५१ प्रतिशत हिस्सा रहने छ । यसले विश्वका १४ मुलुकमा हेवाई सेवा सञ्चालनको अनुमति प्राप्त गरिसकेको छ ।

‘पहिलो वर्षमा कम्तीमा ३ वटा एयरबस ३२० एयरक्राफ्टबाट उडान सेवा उपलब्ध गराउँछौं’ एचआइएफ अध्यक्ष पाण्डेले भने- ‘दोस्रो वर्षमा जहाजको संख्या ५ पुर्‍याउने लक्ष्य छ, आगामी पाँच वर्षमा १५ वटा जहाजबाट सेवा पुर्‍याउने योजना अगाडी बढाएका छौं ।’

एक स्वदेशी अन्तर्राष्ट्रिय हवाई सेवाले हवाई यात्रीहरुको संख्या उल्लेख्य बढाउन मद्दत पुग्ने बताउँदै अध्यक्ष पाण्डेले यसबाट देशको समग्र आर्थिक र पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्न जाने विश्वास व्यक्त गरे ।

तिब्बत एयरलाइन्सले संयुक्त लगानीलाई सफल बनाउन प्राविधिक, व्यवस्थापकीय, एवं बजार प्रवर्द्धनका लागि आवश्यक सहयोग प्रदान गर्ने अपेक्षा राखेको उनले भनाई छ ।

लगानीकर्ता कम्पनीको अवस्था

हिमालय एयरलाइन्सको लगानीकर्ता एचआइएफ एभिएसन वित्तीय संस्था, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा लगानी गरिरहेको कम्पनी हो ।

himalaya air  for 650 (2)

यति वल्र्ड इन्भेष्टमेन्ट कम्पनी यति एयरलाइन्स ग्रुप अफ कम्पनीजको भगिनी संस्था हो । यो संस्थाको प्रमुख आङ छिरिङ शेर्पा हुन् । यो समुहले नेपालमा हवाई सेवा, होटल, पर्यटन र बीमा क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ ।

तिब्बत एयरलाइन्समा एयर चाइना र तिब्बतको प्रान्तीय सरकारको लगानी रहेको छ । यसले सन् २०११ बाट पहिलो पटक विश्वव्यापी रुपमा उच्च भौगोलिक भूभागबाट हवाई सेवा सुरु गरेको हो ।

हाल यो एयरलाइन्सले ३२० सिरिजका ९ वटा एयरबसबाट आफ्नो सेवा सञ्चालन गरिरहेको छ । यसै वर्षभित्र ३२० सिरिजका ३० वटा नयाँ एयरबस थप गर्ने घोषणा यो एयरलाइन्सले गरेको छ ।

सन् २०२० सम्ममा यस एयरलाइन्सले आफ्नो सेवामा एयरबसहरुको संख्या ४० पुर्‍याउने लक्ष्य राखेको अध्यक्ष छेङ यीरुले बताए । यसले चनभित्र नै २४ गन्तव्यहरुमा सेवा पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment