+
+

द ह्वाइट जोनद्धारा बाढीपीडितलाई ६ लाखको राहत सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २५ गते १०:२१

white-jine

२५ भदौ, काठमाडौं । अमेरिकामा रहेको नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था द ह्वाइट जोनले नेपालका बाढीपहिरो पीडितहरुलाई आर्थिक सहयोग गरेको छ ।

ह्वाइट जोनमा आबद्ध अमेरिकामा रहेको नेपालीहरुले संकलन गरेको आर्थिक रकम नेपालको सिन्धुपाल्चोक तथा बाँकेका बाढीपहिरोपीडितहरुलाई वितरण गरिएको हो ।

सोमबार एक कार्यक्रमको आयोजना गरी बाँकेकाे मनिकापुरका २ सय ७७ बाढीपीडितहरुलाई राहत स्वरुप तीन लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिएको ह्वाइट जोनका नेपाल च्याप्टर सचिव निरोज खड्काले जानकारी दिए । उनीहरूलार्इ दाल, चामललगायतका दैनिक प्रयाेजनका सामग्रीसहितको प्याकेट प्रदान गरिएको थियो ।

राहत पाएपछि खुसी भएका पीडितहरूले अाफूहरूलार्इ सरकारले भने कुनै सहयोग नगरेको गुनासो गरे । पीडित सुके कामीले भने-‘राहत पाइन्छ रे भनेको सुनेको थिए, अाज पाइयो खुसि लागेको छ । मेरो सात जनाको परिवारलार्इ केही दिनलार्इ भए पनि खान पुग्ने भयो ।’

जिल्ला प्रशासन कार्यालयको रोहबरमा बाढीपीडितहरुलाई राहत प्रदान गरिएको थियो ।

white-jone-1

सिन्धुपाल्चोकको विद्यालयलाई तीन लाख सहयोग

त्यस्तै उक्त संस्थाले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले पूर्ण रुपमा क्षति पुर्‍याएको वनसाँघु माध्यमिक विद्यालयलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गायिका आस्था राउतमार्फत उक्त रकम विद्यालयका प्रधानाध्यापक बलराम तिमल्सिनालाई प्रदान गरिएको हो ।

राहत पाएपछि खुसी व्यक्त गर्दै प्रधानाध्यापक तिमल्सिनाले ह्वाइट जोनले आफूहरुको पीडामा मलम लगाउने काम गरेको बताए । उनले भने-‘हामी यो बाढीपहिरोको घटनाबाट अत्यन्त मर्माहत भएका छौं । विद्यालयको भवनसँगै हाम्रा ३१ होनाहार छात्रछात्रालाई पहिरोले बगाएको छ । शब्दमा व्यक्त गर्न नसकिने पीडा भएपछि यसरी संघ संस्थाले सहयोग प्रदान गर्दा कोही आफ्नो भएको महशुस भएको छ । तपाईहरुले दिएको राहत यस क्षेत्रका विद्यार्थीको भविष्य निर्माणका लागि प्रयोग हुनेछ । सही ठाउँमा सदूपयोग गर्ने विषयमा हामी जिम्मेवार छौं ।’

पहिरोमा परी ज्यान गुमाएका १ सय ५६ मध्ये ३१ जना उक्त विद्यालयका विद्यार्थी रहेका थिए ।

अमेरिकाको क्यालिफोर्नियामा रहेको यस संस्थाले नेपाल र नेपालीको विकासका लागि काम गर्दै आएको संस्थाका अध्यक्ष पंकज खड्काले बताए । विदेशमा रहेका नेपालीले थोरैमात्र सहयोग गर्दा पनि नेपालमा धेरै विकास गर्न सकिने भन्दै बाढीपहिरो पीडितलाई राहतस्वरुप अमेरिकामा रहेका नेपालीबाट संकलन गरेको रकम नेपालको सिन्धुपाल्चोक र सुर्खेतमा गएको पहिरोमा परी पीडित भएकाहरुलाई प्रदान गरेको उनले बताए । आगामी दिनमा पनि दैवी प्रकोपमा परेकालाई राहत प्रदान गर्नुका साथै नेपालको विकासका लागि कदम चाल्ने खड्काले बताए । पीडामा परेका नेपालीलार्इ सहयोग गर्न राहत रकम प्रदान गर्ने सम्पूर्ण सहयोगदाताहरूलार्इ खड्काले धन्यवाद ज्ञापन गरेका छन् ।

मानवता, स्वतन्त्रता र समानता भन्ने मूल नाराका साथ स्थापना भएको युवाहरुको अन्तर्राष्ट्रिय सञ्जाल ह्वाइट जोनका कार्यालयहरु अमेरिका, अष्ट्रेलिया, जापान, कुबेत, दक्षिण कोरिया, नेपाललगायतमा स्थापना भइसकेको खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?