ललितपुर । संगीतका निम्ति कहिल्यै कसैलाई गुरु नथापेका दीपक खरेलले उनको जीवनकै सबैभन्दा महत्वपूर्ण कन्सर्टको सुरुवात शनिबार गुरुबन्दनाबाट गरे ।
गुरुको शौभाग्य पाउनेहरुले सिकाउनेलाई नै इश्वर मान्छन्’ उनको भनाइ छ–’मलाई चाहि परब्रम्हले जे सिकायो त्यसैलाई श्रोताले मनपराइ दिए ।’
यसरी डिएभी स्कुलको अडिटोरियम खचाखच भरिएका श्रोता दर्शकमाझ उनलेईश्वरलाई नै आफ्नो गुरु ठानेर पहिलो गीत समर्पण गरेका थिए ।
आधुनिक नेपाली संगीतलाई थुप्रै सदाबहार गीत दिएका लोकप्रिय गायक दिपक खरेलले पहिलोपटक यति ठूलो दर्शकघेरामा आफ्नो एकल साँझ प्रस्तुत गर्दा पटक–पटक श्रोतालाई धन्यवाद दिए ।
दीपक खरेलको प्रस्तुतिसँगै यो वर्षको पलेँटी उत्सव सम्पन्न भएको छ । उत्सवमा खरेलबाहेक पहिलो दिन स्वयंपलेँटी संयोजक आभास र दोश्रो दिन गायिका कुन्ती मोक्तानले आफुलाई प्रस्तुत गरेका थिए ।
पलेँटीको सबैभन्दा उल्लेखनीय पक्ष नै यसका श्रोताहरु रहेको उनी बताउँछन् । ‘कुनै पनि कन्सर्ट स्तरिय हुनका निम्ति प्रस्तोताले मात्र पुग्दैन’ उनको भनाइ छ-‘सुनिदिने श्रोताले तयार पारेकोमाहोल पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।’
यसरी सुरू भएको थियो यात्रा
२०३४ सालमा साथीभाई माझ गुनगुनाइरहने शंकरदेव क्याम्पसका विद्यार्थीले गायककारुपमा यहाँसम्मको यात्रा अघि बढ्ला भन्ने कल्पना पनि गरेका थिएनन् । उनी कक्षामै टेबल ठटाएर मुकेश र तलतअजिजका हिन्दी गीतहरु सुनाउथे ।
कहिलेकाँहि नारायणगोपाल र बच्चुकैलाश अनि नातिकाजी पनि । साथीहरुएकपछि अर्को फर्माइस गर्थे । त्यसैबीच रेडियोमा गएर स्वर परिक्षा दिने दबाब पनि आउन थाल्यो । नभन्दै उनी पासपनि भइदिए । त्योबेला रेडियोमा स्वर परिक्षा पास गर्ने बित्तिकै एउटा गीत गाउन पाइन्थ्यो । त्यहि मौका पारेरद्वारिकालाल जोशीले आफ्नो गीत थमाइहाले । ‘मैले रचेका गीतहरु तिमीलाई भनेर नसम्झ’ बोलको गीत रेडियोले बजाउन त बजायो तर त्यति लोकप्रिय भइदिएन्’ उनले भने ।
खरेल त्यतिन्जेल शंकरदेवबाट अघिबढेर कीर्तिपुरमै एमबिएको विद्यार्थी भइसकेका थिए । २०३५ सालतिर त्रिविविमा संगीत समारोह आयोजना गरिएको थियो । शम्भूजित बाँस्कोटाकै शब्द र संगीतको एउटा गीत दिपकले प्रस्तुत गरिरहेका थिए, ‘तिम्रो त्यो हँसिलो मुहारको, झझल्को जब आउँदा…’
‘के होला– कस्तो होला भनेर एकदमै नर्भस थिएँ । गीत गाइसक्दा त ताली बज्यो । साथीभाइले असाध्यै हौस्याए । कतिसम्म भने उनलाई त आफू ठेलिएरै रेडियो नेपालको ढोकासम्म पुगेजस्तो भयो’ उनी सम्झन्छन् । जसै यो गीत रेकर्ड भएर बज्न थाल्यो दीपक खरेल श्रोताको मन मश्तिष्कमा राज गर्ने गायकका रुपमा पनि स्थापित भइदिए ।
त्योबेला एमबिए पढ्ने विद्यार्थीले ‘नेशनल डेभलपमेन्ट सर्भिस’ अन्तर्गत गाउँको स्कुलमा गएर पढाउनु पर्थ्यो । उनीपुगेको गाउँ अर्थात् खोटाङको चिसापानी लाहुरेहरुले भरिएको थियो । जो पनि कपडाको खोलले बेरिएको फिलिप्सरेडियो झुण्ड्याएर हिडिरहेका भेटिने । त्यो रेडियोमा दिनकै पाँच–छ पटकसम्म बज्ने ‘तिम्रो त्यो हँसिलो मुहार’कागायक त्यही गाउँमा छन् भन्ने थाहा पाउन गाउँलेलाई कति बेर लाग्थ्यो ? उनी जतिबेला जहाँ पुग्दा पनि प्रशंसकहरुलेघेरिन थाले । सबैले ‘गायक सर’ भनेरै पुकार्थे ।
‘ति निश्छल गाउँलेहरुले दिएको मायाबाटै मैले पहिलोपटक गायक हुनुको महत्व बुझेँ,’ उनी भन्छन्- ‘हुँदा हुँदा मेरोत्यो गीतकै फ्यान मसँग नजिकिन पुगिन् र जीवनसाथीसमेत त्यहि गीतले प्रदान गरिदियो ।’
त्यसपछि खरेलले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।
शनिबारको पलेँटीमा प्रस्तुत भएका ‘प्रतिक्षा गर मेरी मायालु’, बादल बनाइ देऊ’, पूर्णिमाको रात पनि’, तिम्रो हर प्रश्नको जवाफ’ र अन्तिममा गाइएको राष्ट्रिय गीत यो कर्मभूमिको आँगनमा’जस्ता थुप्रै लोकप्रिय गीतहरु उनको खातामा जम्मा भए ।
‘त्यो समय नै यस्तो थियो कि गीतसंगीतमा भिजेका साथीभाइको माहोलबाटै एक से एक गीत आउँथे,’ उनी भन्छन्-‘अपरिपक्व बेलामै स्वतः भेटिएका उतिबेलाको जस्तो गीत अहिले खोजेर पनि पाउन मुश्किल पर्ने भएको छ ।’
यसरी अगाडि बढेको उनको साँगीतिक यात्रालाई जागिरे जीवनले भने त्यति साथ दिएन । जागीरकै कारण नारायणगोपाल र गोपाल योञ्जनले दिन्छु भनेका बेलामा पनि उनीहरुको गीत गाउन नपाएकामा उनलाई अहिले पछुतो लाग्छ ।
आफ्नो स्वरको खुबै प्रशंसा गर्ने नारायणगोपाल उनलाई बारम्बार घरमा खान निम्त्याउँथे र आफैले पकाएको मासु पस्केर दिन्थे । तर, जागिरको दौडधुपले सुविस्तासाथ संगीतमा एकाग्र हुने मौका भने उनलाई विरलै मिल्थ्यो । ‘वर्षौं वर्ष जिल्लातिर सरुवा भएर जानुपर्ने’ गत वर्ष मात्र सरकारी सेवाबाट अवकाश पाएका उनी भन्छन्-‘मैले निरन्तरताका निम्ति राम्रो गीतसँगको पहुँच मात्र होइन श्रोतासँगको सम्पर्क पनि गुमाएँ ।’
प्रतिक्रिया 4