Comments Add Comment

एनआरएन आठौं क्षेत्रीय सम्मेलनमा जापानमा सुरु

NRN-japan

जापान । गैरआवासीय नेपाली संघ (एनआरएन)को आठौं क्षेत्रीय सम्मेलन बिहीबारदेखि जापानको नागानोस्थित तातेसिना रिसोर्टमा सुरु भएको छ ।

‘सम्बृद्ध नेपालका लागि आर्थिक मार्गचित्र’ नारासहित सुरु भएको सम्मेलनमा बिभिन्न मुलुकबाट करिव २ सयभन्दा बढि गैरआवासीय नेपाली तथा अतिथिहरु सहभागी छन् ।  सम्मेलनको उद्घाटन जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन अध्यक्ष शेष घले, सभासद् गगन थापा र स्थानीय चिनो शहरका मेयरले संयुक्तरुपमा गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्ताइनुभएका नेपालका अर्थमन्त्री डा. रामशरण महत बिशेष राजनीतिक परिस्थीतिका कारण जापान आउन असमर्थ भएपनि अनलाइनमार्फत् सम्मेलनलाई सम्बोधन गर्नुभयो । अर्थमन्त्री महतले जापान लगायत बिश्वका अत्यन्तै प्रतिस्पर्धी मुलुकमा पनि नेपालीले गरेको ठूलो प्रगतिबाट नेपाल र नेपाली गौरवान्वित रहेको बताउनुभयो ।

‘बिदेशमा नेपालीले आर्जन गरेका सीप, पूँजी र जाँगर अब नेपालमा लगाउनुपर्छ’ अर्थमन्त्री महतले भन्नुभयो-‘ लगानीका लागि लगानीमैत्री नीति र सरकार चाहिन्छ, लगानीमैत्री नीति बनाउन सरकार तयार छ ।’

नेपालमा एनआरएनको लगानी सुरु भइसकेको भन्दै उहाँले त्यसलाई अझै बढाउनुपर्ने बताउनुभयो । नेपाली नागरिकताको निरन्तरताका लागि नेपाल सरकार र सभासद्हरु समेत र सो माग सम्बोधन हुनेमा आफु बिश्वस्त रहेको उहाँले बताउनुभयो । ‘एनआरएनहरु नेपाल आउँदा बिदेशी भएर हैन नेपाली भएर आउन पाउनुहोस भन्ने हाम्रो चाहना हो’ अर्थमन्त्री महतले भन्नुभयो-‘नेपालीलाई भन्दा कम सुबिधा नहोस, भेदभाव नहोस भन्ने सरकारको चाहना छ ।’

सम्मेलनलाई सम्बोधन गर्दै एनआरएन अध्यक्ष शेष घलेले बिगत १० बर्षमा एनआरएनको संजाल विस्तार भएकाले अब यसलाई दिगो बनाउने र उपलब्धीमूलक काम गर्नेतर्फ आफ्नो प्रयत्न रहेको बताउनुभयो । नेपालमा अझै पनि बिदेशी लगानी र एनआरएन लगानी मैत्री कानून नभएको भन्दै उहाँले त्यसलाई परिवर्तन गरेर प्रशासनिक झण्झट कम नगर्दासम्म लगानी आर्कषिर्त गर्न कठिन हुने बताउनुभयो ।

एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अहिलेको अबस्थामा राष्ट्रियताको परिभाषा फेरिएको भन्दै मुलुकको सम्बृद्धि नै अहिलेको राष्ट्रियता भएको बताउनुभयो । एनआरएनको भवन निर्माणका लागि भइरहेको अर्थ संकलनमा अभियानमा ऐक्यबद्धता जनाउँदै उहाँले भवनका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभयो ।

सभासद् गगन थापाले एनआरएनले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मुलुकको सम्बृद्धिका लागि एनआरएनको सहभागिता अपरिहार्य रहेको बताउनुभयो ।

जापानका लागि नेपाली राजदूत मदन भट्टराईले जापानसँग दोहोरो कर अन्त्यसम्बन्धी सम्झौताका लागि पहल भइरहेको बताउँदै सम्झौतापश्चात जापानमा रहेका नेपालीले नेपालमा लगानी गर्दा दोहोरो कर तिर्नु नपर्ने बताउनुभयो ।

आर्थिक मार्गचित्रबारे छलफल

उद्घाटनलगत्तै नेपालको आर्थिक बिकाशको मार्गचित्र र गैरआवासीय नेपालीको लगानीका बिषयमा ‘थिमेटिक डिस्कसन’ भयो । कार्यक्रममा आफ्नो बिशेष प्रस्तुती पेश गर्दै सभासद् गगन थापाले गैरआवासीय नेपालीको संयुक्त लगानीबाट ठूला आयोजना मात्र नभई सानो लगानीलाई पनि ध्यान दिन आग्रह गर्नुभयो ।

अब गैरआवासीय नेपालीले परोपकारी कामको ढाँचा परिवर्तन गर्दै ‘सामाजिक उद्यमशिलता’मा ध्यान दिनुपर्ने थापाले बताउनुभयो ।  ‘तपाईहरुले बिदेशमा सिकेको काम गर्ने संस्कारलाई नेपालमा स्थापित गर्नुपर्यो’ थापाले भन्नुभयो ।

एनआरएन अध्यक्ष शेष घलेले नेपाललाई दोहोरो अंकको आर्थिक बृद्धि जरुरी रहेको बताउनुभयो । ‘नेपालको आर्थिक बृद्धिदर मनसुनमा आधारित छ, मनसुन राम्रो भयो भने धान खेती बढ्छ, आर्थिक बृद्धिदर बढ्छ’ उहाँले भन्नुभयो- मनसुनमा आधारित आर्थिक बृद्धिदर परिवर्तन गर्न आबश्यक छ ।’

राजनीतिक तहमा आर्थिक एजेण्डामा छलफल कम भएको बताउँदै अध्यक्ष घलेले प्रशासनिक झमेलाका कारण प्रत्यक्ष बैदेशिक लगानी आउन नसकेको स्पष्ट पार्नुभयो । ‘मैले आफ्नै होटल बनाउन खोज्दा नक्सा पास गर्न एक बर्ष धाउनुपर्यो’ उहाँले भन्नुभयो ‘यस्तो प्रशासनिक झमेला र पुराना ऐन नियमले कसरी लगानी आउन सक्छ ?’

नेपाल उद्योग बाणिज्य महासंघ अन्तराष्ट्रिय तथा गैरआवासीय नेपाली लगानी प्रर्बद्धन समितिका सभापति चन्द्रप्रसाद ढकालले नेपालको बजेट बराबर एक बर्षमा साढे ५ खर्व रेमिट्यान्स भित्रिने बताउँदै त्यसको दुई प्रतिशतमात्रै पूँजी निर्माणमा खर्च हुने गरेको बताउनुभयो । उहाँले रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा लगानी भएन भन्ने टिप्पणीप्रति आफु असहमत रहेको भन्दै उहाँले स्वास्थ्य, शिक्षा लगायतका अत्याबश्यक क्षेत्रमा रेमिट्यान्स लगानी भएको बताउनुभयो ।

छलफलमा एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतो, निवर्तमान अध्यक्ष जीवा लामिछाने, अष्ट्रेलियाकी महिला उद्यमी जमुना गुरुङ लगायतले नेपालमा गैरआवासीय नेपालीको लगानीका लागि आह्वान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment