+
+

अनुभूति : ‘लोभी’ हजुरबाले दिएको दक्षिणा गुन्द्रीमुनि राखें

दसैंको टीकाको दिन धादिङस्थित हाम्रो घरमा अलि बढी नै रमाइलो हुन्थ्यो । बुढी हजुरआमा हुनुभएकाले ठूलाबा, ठूलीआमा लगायत २५ जनाको भान्सा त्यस दिन हाम्रै घरमा हुन्थ्यो ।

टीका लगाएपछि लङ्गुर बूर्जा खेलेर घर पुग्दा ओझेल आँगनमा झरेको मात्रै थियो । ठूली भाउजू आमाको जुम्रा हेर्दै रैछिन् । मलाई देख्नेवित्तिकै आमाले भन्नुभयो- ‘यसले आज पनि पैसा हारेर आयो जस्तो छ ।’

‘मलाई टीका लगाएर पैसा द्या छ र हार्ने ।’ एकचोटि झर्केर उकालो लागें गाउँतिर । नारने सुसिलो हाल्दै हाम्रै घरतिर आउँदै थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ८ गते ९:४३

चन्द्रमणि शर्मा ‘ब्राम्हण’

दसैंको टीकाको दिन धादिङस्थित हाम्रो घरमा अलि बढी नै रमाइलो हुन्थ्यो । बुढी हजुरआमा हुनुभएकाले ठूलाबा, ठूलीआमा लगायत २५ जनाको भान्सा त्यस दिन हाम्रै घरमा हुन्थ्यो ।

Dashain-tikaटीका लगाएपछि लङ्गुर बूर्जा खेलेर घर पुग्दा ओझेल आँगनमा झरेको मात्रै थियो । ठूली भाउजू आमाको जुम्रा हेर्दै रैछिन् । मलाई देख्नेवित्तिकै आमाले भन्नुभयो- ‘यसले आज पनि पैसा हारेर आयो जस्तो छ ।’

‘मलाई टीका लगाएर पैसा द्या छ र हार्ने ।’ एकचोटि झर्केर उकालो लागें गाउँतिर । नारने सुसिलो हाल्दै हाम्रै घरतिर आउँदै थियो ।

दसंैको टीकाको दिन निधारभरि अक्षता लाउँदा त रमाईलै लाग्थ्यो । तर, सुको हात नपर्दा सार्‍है रीस उठ्थ्यो । मभन्दा सानी बैनीहरु दसैंमा दसदेखि बीस रुपैयाँसम्म जम्मा गर्थे । मैले चाँहि जहिले पनि बाको ट्याङ्कामा छापा मार्नुपर्ने । दसैंमा एक सुको पनि दक्षिणा नपाइने ।

हाम्रो घरमा बाले वर्षमा नौवटा श्राद्ध गर्नुहुन्थ्यो । श्राद्धमा लाग्ने खर्च बाले जहिले पनि बाक्सामा रुमालभित्र पट्याएर राख्नुहुन्थ्यो । धेरैजसो दुई र पाँचका नोट हुन्थे ।

दसैंका दिन बिहान पनि त्यही रुमालवाट पाँच पाँचको तीनवटा नोट झिकेको थिए । यदि जितेको भए तीनवटा नोट जस्ताको तस्तै राखिदिने र बाँकी पैसा फेरि लङ्गुरबुर्जामा थापिदिने योजना थियो । तर, साइला दाइले पहिलो झमटमै टाट पल्टाइदिए ।

‘म त अब मामाघर जान्छु ।’

मामाघर पुग्न दुईघण्टा जति लाग्थ्यो । बाटामा एकछिन फकाएपछि बैनीले ५ रुपैयाँ दिई । साँध भन्ज्याङमा दुई वटा खाल रहेछन् । गट्टी पनि ठुल्ठुला । एकछिन हेरें र पानमा फ्यात्त ५ रुपैयाँ राखें । झण्डी चौबर । एकहुल मान्छे कराए । बैनीको पाँच रुपैयाँ पनि गयो । आधा दिन पूरा नहुँदै २० रुपैयाँ हारेपछि ओठ तालु सुक्यो । बैनीले अत्याइसकेकी थिई मामालाइ भन्दिन्छु । आङ सिरिङ्ग भो ।

‘म तँलाई पाँचको साटो ७ रुपैयाँ दिन्छु मामालाई नभन् है’ दुई रुपैयाँ बढी दिने कुरा गरेपछि मुख बन्द भयो उसको ।

मामाघर पुग्दा साढे तीन भएको थियो । दही च्युरा र हलिमुङ्ग्रे केरा खाँदै गर्दा माइजुलाई सोेधें । ‘डुम्रीचौरको भिनाजु (मामाका ज्वाइ) कहिले आउनु हुन्छ ?’

‘भोलि बेलुका आउने रे ।’ माइजुको कुरा सुनेपछि अरु मामाघर भिनाजुसँगै जाने योजना बनाएँ । कारण दिदी भिनाजुहरु संग जाँदा अलि धेरै दक्षिणा पाइने सम्भावना हुन्थ्यो ।

त्यो दसैंमा मैले कम्तिमा ५० जम्मा पार्नैपथ्र्थो । बाको चोरेको १५ तिरेर पनि तिहारमा लङ्गुर बुर्जामा थाप्ने पैसा मावलीवाटै उठाउनु थियो ।
जहिलेसम्म मैले लङ्गुर बुर्जामा पैसा थापें । एक रुपैयाँ पनि मारिँन । तर, हरेकपटक पानमा पैसा थाप्नु अगाडि डबल त्रिबल परेको सपना देख्थें । तीन कक्षा पढ्दादेखि सुरु भएको त्यो योजना १० कक्षासम्म जारी रहयो ।

द्वादशीको बिहान दिदी भिनाजुकै लाइनमा बसेर मावालीघर डुल्न थालें । अरुप्रति त गुनासो थिएन । हजुरबा (आमाको बा) ले दुई रुपैयाँ नबढाएकोमा रीस उठ्थ्यो । मलाई लाग्यो, भिनाजुसँगै गएपछि बाध्यताले पनि पाँचको नोट दिन्छन् ।

भिनाजुको खुट्टामा ढोगेपछि हजुरबाले भने ।

‘आमा कहिले आउछे नि ?’

‘भोली ।’ मैले भने ।

‘तँ त अस्ति नै, आ’को भन्या हैन । किन यति ढिला ।’ फेरि सोधे ।

‘अहिले थाह पाउँछौ बुढा ।’ मैले मनमनै भनें ।

भित्र गएका हजुरबा बाहिर निस्केनन् । कान्छी माइजूले बोलाउनुभयो ।

‘ज्वाइँ टीका लगाउन भित्रै आउनुस् ।’

दिदी भिनाजु लगायतले पालै पालो टीका लगाएपछि मेरो पालो आयो । सबभन्दा पहिला थालीमा आँखा पुग्यो । नयाँ नोट त्यो पनि दश भन्दा कम्तिका एउटै छैन । भिनाजुसँग आउँदाको फाइदा पहिलो पल्ट थाहा पाएँ ।’ बुढाले टीका लाउँदै आशिर्वाद दिए- बुढो हजुबालाई पनि माया गरेस ।’

टीका लगाएपछि हजुरबाको हात थालीतिर गएन । म झसङ्ग भएँ । कमिजको गोजीबाट एकमुुठा नोट निकालेर दुईरुपैया थमाए । मलाई भाउन्न भएर आयो । दूध पनि खाइँन । तीन दिन कुर्दा पनि बुढाले रेट नबढाएपछि असाध्यै रिस उठ्यो र त्यो पैसा गुन्द्रीमुनि राखिदिए ।

फेरि अर्को चिन्ता पर्‍यो । मैले गुन्द्रीमुनि पैसा राखेको कुरा म बाहेक अरुलाइ थाहा थिएन । भेटेजतिलाई भनें ‘मैले त्यो पैसा गुन्द्रीमुनि राखिदिएँ ।’

बेलुकासम्म कुरो हजुवाको कानमा परेछ । खबर पठाए । ‘त्यो रोगेलाई म कहाँ पठाइदे ।’

भोलिपल्ट गएँ । ‘तैले हिजो गुन्द्रीमुनि पैसा राखेको हो ?’

‘हैन झरेछ ।’ मैले सानो स्वरमा भनें । मनमनै भनें- पैसा पनि थोरै, फेरि गाली पनि ? मलाई नरमाइलो लाग्यो ।

‘आफ्नो हजुरवाले दिएको पैसा पनि त्यसो गर्छन् त मोरा ।’ फेरि कमिजको गोजीमा हात हालेर बूढाले दस, बीस र पचासको मुुठोको भित्रपटि्टबाट दुई रुपैयाँ झिके । र, त्यसमा एक मोहोर थपेर दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?