Comments Add Comment

दाताको पैसामा झगडा परेपछि ‘ककस’ मा संकट

९ असोज, काठमाडौं । आन्तरिक द्वन्द्वका कारण जनजाति सभासदहरुको ककस औपचारिक रुपमा घोषणा नहुँदै सकसमा परेको छ ।

जातीय पहिचानसहितको संघीयताका लागि भन्दै जनजाति सभासदहरुले ककस बनाउन लामो प्रयास गरेका थिए । तर, जनजाति नेताहरुकै बेइमानीका कारण ककस आफैं संकटमा परेको नेताहरुले बताएका छन् ।

ककस गठनका क्रममा जनजाति सभासदहरुलाई प्रशिक्षण दिन भन्दै विदेशी एनजीओ आइडिया इन्टेरनेशनलले २८ लाख छुट्याएको थियो । तर, जनजाति महासंघका नेताहरुले पैसा हात पारेपछि ककस बनाउनेभन्दा जनजाति सभासदहरुलाई अलमल्याउने काम गरेका छन् ।

‘नागेन्द्र कुमालसँगै गुरुङ समाजका अध्यक्ष रेशम गुरुङ, रामजी कोङरेनले हामी जनजाति सभासदलाई अलमल्याउँछौं’ भन्दै मिनेन्द्र रिजाललाई आइडिया इन्टरनेशनलमा फोन गर्न लगाएर पैसा हात पारे’ एक नेताले भने-‘पैसा आएपछि बाहुन नेताहरुसँग पो सम्वाद गराउन थाले ।’

तर, छलफल लम्ब्याउने र ककस बनाउन कुनै पहल नगरेपछि जाजाति पार्टीका सभासदहरु आफैं ककस बनाउन कस्सिए । उनीहरुले जनजाति समुदायका कानून व्यवसायीहरुको संगठन लाहुर्निपको पहलमा यूएनडीपी र आईएलओबाट आर्थिक सहयोग जुटाएका छन् ।

केही चरणको छलफलपछि कांग्रेसका दुई सभासद बहादुरसिंह लामा र दिलमान पाखि्रन समेतले ककस तयारी समिति समेत बनाए ।

ककसमा नजान रामचन्द्रको निर्देशन

तर, एमालेसँगै कांग्रेस सभासदहरु समेत ककसमा नआउने भएका छन् । ककस तयारी समितिमा बसेपछि सभासद बहादुर सिंह र पाखि्रनले पार्टी कार्यवाहक सभापति रामचन्द्र पौडेलसँग छलफल गरेका थिए ।
तर, पौडेलले अघिल्लो संविधानसभाबाट नयाँ संविधान नबन्नुको कारण ककस नै भएको भन्दै सहभागी नहुन निर्देशन दिएको स्रोतले बताएको छ । जनजाति ककसमा कांग्रेस सभासदहरुको नाम देखेपछि एमाले नेता केपी ओलीले कांग्रेस नेता पौडेललाई कसस बनाएर सकस दिने पार्टीको नीति हो ? भन्दै प्रश्न गरेका थिए ।

अन्नपूर्ण होटलमा लफडा

कांग्रेस र एमाले पछि हटेपछि ककसको औपचारिक घोषणा रोकिएको छ । बरु ककस गठनको पक्षधरबीच फाटो देखिएको छ । राज्य पुनःसंरचना र न्याय प्रणालीबारे छलफल गर्ने भन्दै होटल अन्नपूर्णमा सभासदहरु भेला भएका थिए । सुरुका केहीबेर विषयबस्तुमा छलफल गरेपछि भेलाको धेरै समय भने ककस गठनबारे केन्दि्रत थियो ।

साना जनजाति पार्टीहरुले ककस घोषणा गर्नु पर्ने अडान लिएपछि संघीय समावादीका अध्यक्ष अशोक राई अर्को बैठकमा जानुछ भन्दै बाहिरिए । उनले एमाले र कांग्रेसका सभासदहरुसँग कुराकानी भइरहेको भन्दै केही दिन पर्खन आग्रह गरेका थिए ।

तर, भेलामा सभासद गोपाल दहितले ककसको अवधारणा प्रस्तुत गर्न सुरु गरे । लगतै एमाओवादी सभासद श्रीप्रसाद जबेगुले तयारी समितिको बैठक नै नगरी कहाँबाट अवधारणा आयो भन्दै प्रश्न गरे । उनले यस्तो भेलामा नबस्ने भन्दै बाहिस्कार गरेपछि भेलामा भाँडभैलो भएको एक सहभागीले बताएका छन् ।

गोपाल दहितसहितका सभासदहरु ५/७ जना सभासदको भए पनि ककस बनाउने पक्षमा छन् ।

तर, कांग्रेस र एमालेका जनजाति सभासदहरु विनाको ककस अर्थपूर्ण नहुने धेरैको मत छ । ‘जनजाति पार्टीका सभासदहरु त पहिचानसहितको संघीयताको पक्षमा छन् । उनीहरुलाई किन ककस चाहियो’ एक नेताले भने-‘कांग्रेस र एमालेका सभासदहरुलाई ल्याएर दबावपूर्ण भूमिका खेल्न मात्र ककस चाहिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment