Comments Add Comment

गोरखा सैनिकले भने- हामी नेपाली हौं, ‘एनआरएन नागरिकता’ चाहिँदैन

११ असोज, लण्डन । गैरआवासीय नेपालीसँगै भूतपुर्व गोर्खाहरुलाई ‘एनआरएन नागरिकता’ दिने सहमतिप्रति पूर्वगोर्खा सैनिकले आपत्ति जनाएका छन् ।

गोरखा सैनिकहरुले आफूहरु नेपाली नागरिक भएकाले बेलायती नागरिकता पाए पनि नेपाली नागरिकता नत्याग्ने र छोराछोरीले समेत बंशजकै आधारमा नेपाली नागरिकता पाउनुपर्ने माग गरेका छन् । आन्दोलनरत गोर्खाहरुको संयुक्त सत्याग्रह संघर्ष समितिका संयोजक सन्तोष थलङले एक विज्ञप्तिमार्फत राजनीतिक अधिकारविनाको नागरिकता आफूहरुलाई मान्य नरहेको स्पष्ट पारेका छन् ।

भूतपूर्व गोर्खालाई एनआरएनका रुपमा बुझन नहुने भन्दै विज्ञप्तिमा सेनामा उत्कृष्ट सेवा पुर्‍याएवापत आफुहरुलाई सम्मानार्थ बेलायती नागरिकता दिइएको हुनाले नेपाली नागरिकता खोस्न नमिल्ने जिकिर गरिएको छ । गोर्खाहरुले आफूहरुको नेपाली नागरिकतालाई निरन्तरता दिइने र आफना छोराछोरीलाई बंशजका आधारमा नेपाली नागरिकता प्रदान गरिने व्यवस्था संविधानमा नगरिए आन्दोलन गर्ने बताएका छन् ।

सभ्य र शान्तिपूर्णरुपमा अघि सारेका आफ्ना मागहरुको सुनुवाइ नगरिए चक्काजाम र बन्द हडताल गरेरै भए पनि दबाब सिर्जना गर्न आफुहरु तयार भएको भन्दै थलङले आफ्ना मागप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार संविधानसभा अन्तर्गतको राजनीतिक सम्वाद तथा सहमति समितिले गैरआवासीय नेपालीका साथै गोर्खाहरुलाई राजनीतिक अधिकारबिनाको नागरिकता दिने सहमति गरेको थियो ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त भएपछि एनआरएन र गोर्खाहरुले राजनीतिक बाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने सहमति गरिएपछि गोर्खा सैनिकहरु रुष्ट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment