+
+

पहिलोपटक नेपालमा पूर्वाधार सम्मेलन हुँदै, तीन सय विज्ञहरुकाे सहभागीता रहने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १८:२८

Nirman-Project

२५ असोज, काठमाडौं । नेपाल उद्योग परिसंघको अगुवाईमा पहिलोपटक ‘नेपाल पूर्वाधार सम्मेलन’ आयोजना हुने भएको छ । कार्तिक २५ र २६ गते होटल हायत रिजेन्सीमा हुने सम्मेलनमा स्वदेशी तथा विदेशी गरी तीनसय बढी सरोकारवालाहरुको सहभागीता रहने बताइएको छ ।

सम्मेलन नेपाल सरकार, निजी क्षेत्रका संघसंस्था, अन्तर्राष्ट्रिय संघसंस्था र विकास साझेदारहरुसँग सहकार्यमा गरेर आयोजना गर्न लागेको परिसंघले जानकारी दिएको छ ।

सरकार र निजी क्षेत्रको सहकार्यमा मुलुकको पूर्वाधार विकासलाई गति प्रदान गर्दै आगामी २०२२ सम्म नेपाललाई विकासशील मुलुकमा स्तरोन्नती गर्ने सरकारी लक्ष्यलाई साकार बनाउने सम्मेलनको मूख्य लक्ष्य रहेको छ ।

सम्मेलनमा विशिष्ट अतिथि तथा प्रमुख वक्ताको रुपमा छिमेकी मुलुक भारतका सडक, पारवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी रहने भएका छन् ।

सम्मेलनबाट नेपालमा पूर्वाधारका क्षेत्रमा रहेको लगानीको सम्भावनालाई क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार भई आगामी दिनमा पूर्वाधार तथा औद्योगिक विकासका लागि विदेशी लगानी भित्राउन सहयोग मिल्ने परिसंघको अपेक्षा गरेको छ ।

सम्मेलनमा आर्थिक विकासमा पूर्वाधारको महत्व, अन्य छिमेकी देशहरुका अनुभव र उत्कृट अभ्यासका साथै नेपालमा यस क्षेत्रको अवस्था, यसको विकासका लागि नीतिगत तथा अन्य व्यवधानका साथै तीनको समाधानका उपायका विषयमा व्यापक छलफल हुने परिसंघले बताएको छ ।

परम्परागत रुपमा ठुला विकास निर्माण र पूर्वाधार विकासको काम सरकार तथा मातहतका निकायबाट मात्र हुँदै आएको भएपनि पछिल्लो समय छिमेकी मुलुक भारतलगायतका देशहरुमा निजी क्षेत्रको सहभागितामा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने प्रचलन व्यापक बन्दै गएको छ ।

यस सम्मेलनले नेपालमा पनि आर्थिक विकासको मेरुदण्ड पूर्वाधार निर्माणका क्षेत्रमा कायम परम्परागत मान्यतालाई बदल्दै पूर्वाधार विकासमा फड्को मार्न निजी क्षेत्रको ज्ञान, शिप, अनुभव र लगानी अपरिहार्य छ भन्ने विषयलाई स्थापित गराउने परिसंघको विश्वास लिएको छ ।

सम्मेलनमा विकास निर्माण र पूर्वाधार क्षेत्रसँग सम्वन्धित विभिन्न सरकारी मन्त्रालय, विभाग र लगानी बोर्ड नेपालका साथै भारतीय उद्योग वाणिज्य महासंघ लगायत स्वदेशी विदेशी एक्स्पर्ट तथा सरोकारवालाहरुको सहभागीता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?