+
+

मधेसमा भारतीय प्रभाव बढाउने मोदीको डिजाइन

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १९ गते २०:०६
फाइल फोटो
फाइल फोटो

१९ कात्तिक, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई विशुद्ध पूजापाठमा मात्रै सीमित नराखी मधेसमा भारतीय प्रभाव विस्तारका लागिसमेत भारतीय दूतावासले प्रयोग गर्ने भएको छ ।

मोदीको भ्रमणबारे बझ्न काठमाडौंबाट जनकपुर पुगेका भारतीय राजदूत रञ्जित रेले स्थानीय रंगभूमि मैदानमा भारतीय प्रधानमन्त्री मोदीले भाषण गर्ने खुलासा गरेका छन् ।

त्यस्तै विभिन्न विकास आयोजनाको शिलान्यास गर्ने र गरिब विद्यार्थीलाई साइकल बाँड्नेसम्मको प्याकेज भारतीय दूतावासले बनाएको छ ।
गत साउनमा काठमाडौं आउँदा संसदमा भाषण गर्दै नेताहरुको ‘ब्रेनवास’ गरिसकेका मोदीले अब जनकपुरमा गर्ने भाषणमार्फत मधेसका जनतामा भारतीय प्रभाव थप विस्तार गर्ने विश्वास दूतावासले लिएको सूत्रहरुको भनाइ छ ।

अर्को देशको सरकार प्रमुखले विदेशमा जाँदा के-कति गतिविधि गर्न पाउने भन्नेमा नेपाल सरकार चनाखो देखिँदैन । आफूप्रति नेपाली नेताहरुको अतिशय भक्ति र आशक्तिको फाइदा उठाउँदै मोदीले अब नेपाली नेताले जस्तै गाउँ-गाउँमा पसेर भाषण ठोक्ने रणनीति बनाएका हुन् ।

भारतीय राजदुत रेले सोमबार जनकपुर पुगेका बेला विभिन्न राजनीतिक दल एवं सभासदहरुसँग भेटघाट  गरे । यस क्रममा उनले मोदी स्थलमार्गबाटै जनकपुर आउने जानकारी दिएको पूर्वसभासद फरमुद नदाफले बताए ।

नेपालको गरीबीलाई देखाउँदै, आफ्नो देशमा जस्तै साइकल बाँड्ने र आयोजनाहरु शिलान्यास गर्ने मोदीको रणनीतिले नेपालीमाथि भारतको जवरजस्त प्रभाव छाड्ने भारतीय रणनीति रहेको बुझिएको छ

राजदूत रेले जनकपुरको रंगभूमिमा मोदीले भाषण गर्ने जानकारी दिएको एक सहभागीले बताए । जनकपुरको समग्र विकासमा मोदीले सम्वोधन गर्ने स्रोतले भन्यो ।

स्रोतका अनुसार मोदी भिट्टामोड नाका हुँदै नेपाल प्रवेश गर्ने र जनकपुरमा आएर जानकी मन्दिरमा दर्शन गर्ने कार्यक्रम  छ । त्यसपछि उनले जनकपुरमा केही आयोजनाको शिलान्यास समेत गर्नेछन् । त्यसको रकम करिब १५ करोडको रहने बताइएको छ ।

यी आयोजनाअन्तरगत जनकपुरका तीनवटा पोखरीको समेत मर्मत गरिनेछ । मोदीले जनकपुरको तेहला, मरहा र अरगजालाई सहयोग गर्ने बताइएको छ ।

स्रोतका अनुसार मोदी मंसिर ९ गते बिहान जनकपुर आउने छन् । भ्रमण कार्यक्रमअनुसार जनकपुरमा उनले केही विपन्न वर्गका विद्यार्थीलाई साइकलसमेत वितरण गर्ने कार्यक्रम रहेको राजदूतले जनकपुर पुगेर खुलासा गरेका छन् ।

नेपालको गरीबीलाई देखाउँदै, आफ्नो देशमा जस्तै साइकल बाँड्ने र आयोजनाहरु शिलान्यास गर्ने मोदीको रणनीतिले नेपालीमाथि भारतको जवरजस्त प्रभाव छाड्ने भारतीय रणनीति रहेको बुझिएको छ ।

भारतले नेपालमा माथिल्लो तहबाट मात्रै हस्तक्षेप बढाउँदै आएको थियो । तर, अब मोदीले जनस्तरबाटसमेत हस्तक्षेप बढाउने नीति अघि सारेका छन् । यसका लागि विकास र अनुदानको अस्त्र प्रयोग गरिनेछ, जसले गर्दा भारतीय हस्तक्षेपको आलोचना गर्ने राष्ट्रवादीहरुलाई ‘विकास विरोधी’ देखाउन सकिने भारतीय दूतावासको डिजाइन रहेको छ ।

भारतीय दूतावासले नेपालको स्थानीय निकायमा प्रत्यक्ष लगानी गर्न नपाउने र आर्थिक सहयोग अन्तरराष्ट्रिय मान्यता अनुसार सरकारी निकायमार्फत गर्नुपर्ने आवाज उठिरहेका बेला मोदीले जनकपुरमा जिविस सभापतिले जस्तै रंगभूमिमा भाषण गर्ने, विकास आयोजना उदघाटन गर्ने र साइकल बाँड्ने नीति लिएका हुन् ।

व्यापारीको अनुनय

भारतीय राजदूतसँगको छलफलमा स्थानीय व्यापारीहरुले रेल्वे बन्द भएपछि व्यापारीहरुलाई निकै समस्या भएको भन्दै यसका लागि जटही रुटको विकास गरी भारतको पिपरौनमा भन्सार कार्यालयको स्थापन गर्न दूतावाससँग मागसमेत गरेका छन् ।

सुरक्षा अधिकारी पनि जनकपुर पुगे

यसैवीच भारतीय राजदूत जनकपुर पुगेसँगै काठमाडौंबाट सरकारी अधिकारीहरु पनि मोदी आउने बाटो हेर्न जनकपुर पुगेका छन् ।

जनकपुरमा सोमबारदेखि सुरक्षा अधिकारीहरुको सक्रियता बढेको हो । नेपाली सुरक्षाका अधिकारीसँगै भारतीय सुरक्षा टोलीले पनि जनकपुर भ्रमण गरेका छन् ।

नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र गृहसचिवसहितको टोलीले मंगलबार जनकपुरको स्थलगत अवलोकन गरेको छ ।

sadak2

बाटोको कन्तविजोग

गृहसचिव सूर्यप्रसाद सिलवालसहित सुरक्षा निकायका प्रमुखले भारतीय प्रधानमन्त्री स्थलमार्गबाट जनकपुर आउने भएपछि जीर्ण जलेश्वर-जनकपुर सडकखण्डको स्थलगत निरीक्षण गरेका हुन् ।

सरकारी टोलीले भारतको सीतामढीसँग सीमाना जोडिएको भिठ्ठामोडसम्म पुगेर त्यहाँको सडक र सुरक्षाबारे सीमामा खटेका भारतीय सुरक्षाकर्मीसँग जानकारी लिएको छ ।

गृहसचिव सिलवालले सडक तत्काल मर्मतसम्भार गर्न सडक डिभिजन कार्यालय मुजेलिया र शान्ति सुरक्षा बहाल गर्न महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेलाई निर्देशन दिएका छन् ।

महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डलाई मर्मत सम्भार गर्न र उच्च सुरक्षा व्यवस्था मिलाउनसमेत सिलवालले निर्देशन दिएका छन् ।
अहिले विभिन्न सरकारी निकायहरुले बाटो मर्मत गर्ने कार्यमा चासो देखाएका छन् ।

जनकपुरको शहरी सडकको अवस्था जीर्ण रहेकाले आवत-जावतमा समस्या भइरहेको छ । अहिले आएर मोदी आउने बाटोलाई निर्माण गर्नमा तिव्रता दिइएको छ ।

यसअघि नै ठेक्का लागेको जनकपुर-जटही सडकखण्ड ठेकेदारको लापरवाहीका कारणले निर्माण हुन सकेको छैन ।  अहिले आएर विमानस्थलसम्म सडक निर्माण कार्यलाई तिव्रता दिइएको छ ।

भिठ्ठामोडदेखि जनकपुरसम्मको सडक दुरी १९ किलोमिटर छ । जसलाई मर्मत गर्ने कार्य सुरु भएको छ । भिठ्ठामोड-जलेश्वर-जनकपुर सडकखण्डको १९ किलो मिटरमा कालोपत्रे उकिएर हेरिनसक्नु खाल्डैखाल्डामा परिणत भएको छ । सडकमा ढुंगा, बालुवा, धुलो र पुराना ईंटा थुप्रिएका छन् ।

यद्यपि सडकको मर्मत गर्ने काम अहिले पनि थालिएको छैन । बर्षौदेखि अस्तव्यस्त बनेको यो सडक मर्मत सम्भारको मुख ताकिरहेको छ । जनकपुर नगर क्षेत्रको सडक र सरसफाइको दुरावस्था पनि सडकभन्दा कम छैन ।jankpur

मोदी जनकपुर आउने भएपछि जानकी मन्दिरलाई समेत सिँगार्न थालिएको छ । मोदीलाई देखाउन आवास तथा भौतिक योजना मन्त्रालयले भिठ्ठामोड-जलेश्वर-जनकपुर सडक मर्मतका लागि पर्याप्त बजेट उपलब्ध गराउने बताएको छ ।

तर, अहिलेसम्म सडक डिभिजन सडक कार्यालय मुजेलियालाई सडक मर्मत हुने वा नहुने भन्नेवारे अतोपत्तो छैन । डिभिजन सडक कार्यालय मुजेलियाका डिभिजन इन्जिनियर दिनेश अर्यालले बजेट आए पनि एक महिनामा १९ किलोमिटर सडकको मर्मत गर्न सम्भव नभएको बताए ।

मोदी जनकपुर आउन अब २० दिन पनि बाँकी छैन । यो  अवधिमा सडकको मर्मत गर्नु भनेको चमत्कारबाहेक केही नठहरिने अर्याल बताउँछन् ।
अहिलेसम्म जनकपुरको जानकी मन्दिर छेउको तेलहा मरहा पोखरीमा विगतमा भत्काइएका संरचना यत्रतत्र छन् । स्थानीय रंगभूमिसमेत फहोरै फोहोर छ ।

सुरक्षा कडा पारिने

मोदीको जनकपुर भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिने स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानवीच मोदीको सुरक्षालाई लिएर नियमित बैठक बसिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले बताए ।

जनकपुरको प्रसिद्ध जानकी मन्दिरबाट दर्शन गरेर मोदी हवाइजहाजबाट काठमाडौ जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?