+
+

सत्तारूढ दलको प्रस्ताव संसोधन हुन सक्छ : केसी

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते १६:४०

२० कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानका विवादित विषयमा सत्तारुढ दलले तयार पारेको प्रस्ताव आवश्यकताअनुसार परिमार्जन वा संसोधन हुनसक्ने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा नेता केसीले आफूहरुको प्रस्ताव अन्तिम नभई छलफलको लागि ल्याएकोले यसबाट डराउनु पर्ने वा अत्तालिनु पर्ने अवस्था नभएको बताए ।सात प्रदेशबाट आठ प्रदेशमा समेत जान तयार रहेको केसीले प्रष्ट पारेका छन् ।

साक्षात्कारमा केसीले भने-‘सत्तापक्षले सहमति इन्कार र प्रतिपक्षले प्रक्रिया ईन्कार गर्नुहुँदैन । प्रदेशको नामाकरणमा सहमति गर्न नसके प्रदेशसभालाई जिम्मा लगाउँदा पनि हुन्छ ।’

उनले काँग्रेसले प्रस्ताव ल्याउन हतार गरेको स्विकार्दै संविधान निर्माणको लागि समयावधी हेरफेर हुनसक्ने पनि बताए । केसीले भने-‘माघ ८ होईन, चैत्रभित्र भए पनि संविधान ल्याउनु पर्छ ।’

कार्यक्रममा नेकपा एमालेका सचिव गोकर्ण विष्टले काँग्रेस र एमालेले ल्याएको प्रस्ताव संविधान नभएकोले आत्तिनुनपर्ने भन्दै अधिकतम छलफल र लचकताका साथ अघि बढ्नुपर्ने बताए । उनले सडकबाट संविधान नबन्ने जिकिर गर्दै सडकबाटै संविधान बन्ने भए संविधानसभाको आवश्यकता किन पर्यो भनि प्रश्न समेत गरे ।

एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले आफूहरुले पूर्णरुपमा सहमति नखोजी मुख्य विषयका अन्र्तबस्तुमा मात्रै सहमति खोजेको स्पष्ट पार्दै सहमति सापेक्ष रुपमा हुनुपर्ने बताए । उनले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले सहितका दलहरुलाई प्रतिपक्षलाई दवाएर राज गर्ने राजाबादी सोचबाट माथि उठ्न समेत सुझाव दिए ।

सदभावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले सत्तारुढ दलहरुले गणितीय खेलमा संविधानको मस्यौदा बनाउन खोजे आफूहरु संविधानसभा छाडेर सडकमा आउने चेतावनी दिए । सत्तारुढ दलको प्रस्तावलाइ संवैधानिक राजनीतिक सम्वाद तथा सहमती समितिले ग्रहण गरेर संविधानसभामा पेश नगर्ने उनले स्पष्ट पारे ।

दलित जनजाती पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले संविधान बन्ने सम्भावना बढेपछि एमाओवादी र मधेशवादी संविधानसभा छाडेर भाग्न खोजेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?