+
+

कोशीमा झागड समुदायबाट पहिलो पटक मन्त्री

हरि अधिकारी हरि अधिकारी
२०८१ जेठ ६ गते १३:०७

६ जेठ, विराटनगर । कोशीमा सरकार विस्तारका लागि दलहरुबीच छलफल चलिरहेका बेला माओवादी केन्द्रकी सांसद बन्दना झागडलाई आफ्नो नाम आउँछ भन्ने लागेकै थिएन ।

पार्टीभित्र मन्त्रीका दाबेदार धेरै थिए, झिनो आस भने उनलाई पनि थियो । शुक्रबार बिहान माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले फोन गरेर झागडलाई राज्यमन्त्रीको शपथ लिनका लागि तयार भएर बस्न भने ।

उनले प्रत्याइनन् र भनिन् ‘नजिस्क्याउनु न दाईं ।’ आङ्बोले पार्टी र संसदीय दलको निर्णय सुनाएपछि उनी ढुक्क भइन् । झापाकी झागड पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनेकी छन् ।

कोशीमा मात्र होइन, नेपालमै गणतन्त्र स्थापना भएपछि झागड समुदायबाट अहिलेसम्म कोही मन्त्री बनेको थिएन । ४ मंसिरको प्रदेशसभा निर्वाचनमा उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

अपहेलित अल्पसंख्यक र उत्पीडित समुदायकी बन्दना सशस्त्र युद्धकालमा भूमिगत भएर राजनीतिमा सहभागी भएकी थिइन् ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पार्टीले उठाएको एजेण्डा अनुसार नै अल्पसंख्यक समुदायबाट बन्दनालाई मन्त्रिपरिषदमा पठाएको बताए ।

‘सामाजिक न्यायको दृष्टिले यो धेरै नै ठूलो विषय हो’, आङ्बोले भने ,‘उत्पीडित, उपेक्षित र राज्यबाट बहिस्करणमा परेकाहरुको मुद्दा माओवादीले उठाएको थियो, अवसर आउँदा नेतृत्व तहमा अल्पसंख्यक र उपेक्षित समुदायको प्रतिनिधिलाई पठायौं ।’

झापा, मोरङ र सुनसरीको दक्षिणी क्षेत्रमा झागड समुदायको बसोबास छ । झागडभित्रको खडिया समुदायकी बन्दना आफ्नो पार्टीले गरेको सशस्त्र युद्धकै कारण झागड समुदाय सरकारको नेतृत्व तहसम्म पुगेको बताउँछिन् ।

‘हिजो जनयुद्धमा उत्पीडित समुदायको मुक्तिको कुरा उठाएका थियौं’, उनी भन्छिन्, ‘जनयुद्धकै बलमा यहाँ पुगेका छौं ।’ अब प्रदेशको नीतिगत तहमा बसेर विभिन्न जातजातिका संस्कृति र रितिरिवाज संरक्षणको काम गर्ने उनको योजना छ ।

३७ वर्षीय बन्दना २०६० सालमा माओवादीमा पूर्णकालीन कार्यकर्ता बनेर भूमिगत राजनीतिमा लागेकी थिइन् ।

२०७० को संविधानसभा र २०७४ को प्रदेशसभा निर्वाचनमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेपनि उनले सांसद हुन पाइनन् । दोस्रो प्रदेशसभा निर्वाचन भने उनी सामानुपातिक सांसद निर्वाचित भइन् ।

झागड कोशी प्रदेशकी सबैभन्दा कान्छी सांसद हुन् । विपन्न परिवारकी उनको बाल्यकाल सामान्य थियो । सशस्त्र युद्धका बेला उनको घर माओवादीका नेता कार्यकर्ता बस्ने सेल्टर जस्तै थियो ।

माओवादीलाई सहयोग गरेको आरोपवमा राज्यपक्षले दुःख दिन थालेपछि १७ वर्षको उमेरमा ९ कक्षामा पढ्दापढ्दै २०६० सालमा उनी भूमिगत भएकी थिइन् । बन्दा अहिले माओवादी केन्द्र कोशी प्रदेश कमिटी सदस्य छिन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?