+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

कोशीमा झागड समुदायबाट पहिलो पटक मन्त्री

हरि अधिकारी हरि अधिकारी
२०८१ जेठ ६ गते १३:०७

६ जेठ, विराटनगर । कोशीमा सरकार विस्तारका लागि दलहरुबीच छलफल चलिरहेका बेला माओवादी केन्द्रकी सांसद बन्दना झागडलाई आफ्नो नाम आउँछ भन्ने लागेकै थिएन ।

पार्टीभित्र मन्त्रीका दाबेदार धेरै थिए, झिनो आस भने उनलाई पनि थियो । शुक्रबार बिहान माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले फोन गरेर झागडलाई राज्यमन्त्रीको शपथ लिनका लागि तयार भएर बस्न भने ।

उनले प्रत्याइनन् र भनिन् ‘नजिस्क्याउनु न दाईं ।’ आङ्बोले पार्टी र संसदीय दलको निर्णय सुनाएपछि उनी ढुक्क भइन् । झापाकी झागड पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनेकी छन् ।

कोशीमा मात्र होइन, नेपालमै गणतन्त्र स्थापना भएपछि झागड समुदायबाट अहिलेसम्म कोही मन्त्री बनेको थिएन । ४ मंसिरको प्रदेशसभा निर्वाचनमा उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

अपहेलित अल्पसंख्यक र उत्पीडित समुदायकी बन्दना सशस्त्र युद्धकालमा भूमिगत भएर राजनीतिमा सहभागी भएकी थिइन् ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पार्टीले उठाएको एजेण्डा अनुसार नै अल्पसंख्यक समुदायबाट बन्दनालाई मन्त्रिपरिषदमा पठाएको बताए ।

‘सामाजिक न्यायको दृष्टिले यो धेरै नै ठूलो विषय हो’, आङ्बोले भने ,‘उत्पीडित, उपेक्षित र राज्यबाट बहिस्करणमा परेकाहरुको मुद्दा माओवादीले उठाएको थियो, अवसर आउँदा नेतृत्व तहमा अल्पसंख्यक र उपेक्षित समुदायको प्रतिनिधिलाई पठायौं ।’

झापा, मोरङ र सुनसरीको दक्षिणी क्षेत्रमा झागड समुदायको बसोबास छ । झागडभित्रको खडिया समुदायकी बन्दना आफ्नो पार्टीले गरेको सशस्त्र युद्धकै कारण झागड समुदाय सरकारको नेतृत्व तहसम्म पुगेको बताउँछिन् ।

‘हिजो जनयुद्धमा उत्पीडित समुदायको मुक्तिको कुरा उठाएका थियौं’, उनी भन्छिन्, ‘जनयुद्धकै बलमा यहाँ पुगेका छौं ।’ अब प्रदेशको नीतिगत तहमा बसेर विभिन्न जातजातिका संस्कृति र रितिरिवाज संरक्षणको काम गर्ने उनको योजना छ ।

३७ वर्षीय बन्दना २०६० सालमा माओवादीमा पूर्णकालीन कार्यकर्ता बनेर भूमिगत राजनीतिमा लागेकी थिइन् ।

२०७० को संविधानसभा र २०७४ को प्रदेशसभा निर्वाचनमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेपनि उनले सांसद हुन पाइनन् । दोस्रो प्रदेशसभा निर्वाचन भने उनी सामानुपातिक सांसद निर्वाचित भइन् ।

झागड कोशी प्रदेशकी सबैभन्दा कान्छी सांसद हुन् । विपन्न परिवारकी उनको बाल्यकाल सामान्य थियो । सशस्त्र युद्धका बेला उनको घर माओवादीका नेता कार्यकर्ता बस्ने सेल्टर जस्तै थियो ।

माओवादीलाई सहयोग गरेको आरोपवमा राज्यपक्षले दुःख दिन थालेपछि १७ वर्षको उमेरमा ९ कक्षामा पढ्दापढ्दै २०६० सालमा उनी भूमिगत भएकी थिइन् । बन्दा अहिले माओवादी केन्द्र कोशी प्रदेश कमिटी सदस्य छिन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?