Comments Add Comment

सीतापाइलादेखि नौबिसेसम्म अन्तर्राष्ट्रिय स्तरको सुरुङमार्ग बन्ने

नविन अर्याल

२५ कात्तिक, काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्यनाका नागढुङ्गामा मुलुककै पहिलो टनेल (सुरुङ) मार्ग निर्माण हुने भएको छ ।

२.६ किलोमिटर लम्बाइ रहने सुरुङमार्ग जापान सरकारको ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका)ले निर्माण गर्न लागेको हो । सुरुङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेछ ।

राजधानीमा मंगलबारदेखि सुरु भएको ‘नेपाल पूर्वाधार सम्मेलन’ लाई सम्बोधन गर्दै अर्थमन्त्री ड. रामशरण महतले सुरुङमार्ग निर्माणका लागि जाइका इच्छुक देखिएको बताएका छन् । अहिले जाइकाका उपाध्यक्ष तोसियुकी कोरोयागीको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको छ ।

sitapaila-to-naubise

उक्त टोलीसँग सुरुङ मार्ग निर्माण गर्ने विषयमा छलफल भइरहेको अर्थमन्त्रालयका सहसचिव मधु मरासिनीले अनलाइनखबरलाई बताए । ‘जाइका नागढुंगामा सुरुङ मार्ग निर्माणका लागि तयार छ, अहिले उक्त परियोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’ मरासिनीले भने- ‘सम्पूर्ण प्रकृया पूरा गरेर सुरुङ निर्माणका लागि सन् २०१५ मा दुई पक्षीय सम्झौता हुनेछ ।’

सुरुङ मार्ग निर्माणका लागि करिब २० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये करिव १५ अर्ब रुपैयाँ जाइकाले ०.१ प्रतिशत सहुलियत ब्याजदरमा नेपाललाई उपलब्ध गराउने सहसचिव मरासिनीले बताए । बाँकी रकम नेपाल सरकारले बेहोर्ने छ ।

उक्त ऋण भुक्तानी गर्ने अवधि ४० वर्षको हुने बताइएको छ । ‘परियोजनाको इआइए, डीपीआर गर्न बाँकी छ, परियोजनास्थलको ल्यान्ड इक्विजेसन गर्न बाँकी छ, यो सबै प्रकृया पूरा गरेर सन् २०१६ बाट परियोजना निर्माण कार्य सुरु गर्न हामीले दबाब दिएका छौं’ मरासिनीले भने- ‘उनीहरु यस प्रस्तावमा सहमत देखिएका छन् ।’

मंगलबार नेपाल भ्रमणमा रहेको जाइकाको टोलीले अर्थमन्त्री महतसँग भेटवार्ता गरेको थियो । सो अवसरमा यस सुरुङमार्ग परियोजनाको विषयमा पनि छलफल भएको बताइएको छ । अहिले उक्त टोलीले विभिन्न निकायसँग छलफल गरिररहेको अर्थमन्त्रालयले जानकारी दियो ।

राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा सुरुङ निर्माण भएमा ट्राफिक समस्या समधान हुनुका साथै त्यस क्षेत्रमा हुने सवारी दुर्घटनामा समेत कमी आउने छ । सवारीको सर्वाधिक चाप हुने उक्त मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा जाम हुनुका साथै ट्राफिक जामसमेत हुने गरेको थियो ।

‘सीतापाइलादेखि नौबिसेसम्म सुरुङ मार्ग निर्माण नगरी सुख छैन, सवारीलाई सुरुङमार्ग प्रयोग गरेवापतको पैसा असुली गरेर भए पनि उक्त परियोजना सम्पन्न गर्छौं’ सहसचिव मरासिनीले भने- ‘सुरुङमार्ग सञ्चालनमा आएपछि सवारी सञ्चालन कष्टसमेत केही घट्छ ।’

सुरुङमार्ग अन्तर्राष्ट्रिय स्तरको हुनेछ । जहाँ खाजाघरदेखि सौचालय, पसल, सर्भिस सेन्टर लगायतका सुविधाहरु हुनेछन् । सुरुङमार्गमा दुई लेनको गाडी आवत-जावत गर्न मिल्ने गरी निर्माण हुनेछ । सुरुङमार्गभित्रै पेट्रोलपम्प समेत रहनेछ । सुरुङभित्र पार्किङ, फुटपाथ र रिपेयरिङ सेन्टरसमेत रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment