+
+

शीर्ष नेताहरुको संयन्त्र बनाउने बाबुरामको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २५ गते १९:३८

२५ कात्तिक, काठमाडौं । संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले राजनीतिक गतिरोध अन्त्यका लागि संवाद समितिमा रहेका शीर्ष नेताहरुको संयन्त्र बनाउने प्रस्ताव गरेका छन् ।

फाइल फाेटाे
फाइल फाेटाे

त्यही संयन्त्रले संविधानका अन्तरबस्तु र प्रक्रियाका विषयमा सहमति खोज्ने भट्टरार्इेको प्रस्ताव छ ।  तर, भट्टराईको प्रस्तावमा कांग्रेसका केही नेताले असहमति जनाएपछि दलहरुका बीचमा त्यस्तो सहमति हुन सकेन ।

मंगलबार बसेको सम्वाद समितिको बैठक रोकेर भट्टराईले कांग्रेस, एमाले, एमाओवादी, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए ।

विषयबस्तुमा सहमति हुन नसके प्रक्रियामा सहमति गर्नु पर्ने भन्दै भट्टराईले भने-‘कुन ढंगको प्रतिवेदन पठाउने, त्यसपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरुको बीचमा सहमति भएन भने निर्णय गर्न गाह्रो हुन्छ ।’

शीर्ष नेताहरु नै बसेर निर्णय गरिदिन आग्रह गरेको तर, सहमति हुन नसकेको भन्दै बैठकपछि भट्टराईले भने-‘नियमावलीले सबै कुरा सहमतिमै निर्णय गर्ने मात्रै अधिकार दिएको छ । अहिलेसम्म पठाइएका तीन वटा प्रतिवेदन पनि सहमतिमा मात्रै संविधानसभामा पठाइएको छ ।’

सम्वाद समितिको बैठकमा संविधानका अन्तरबस्तु र प्रतिवेदन पठाउने विषयमा भएको छलफलमा समितिका सदस्यहरुले बोल्ने क्रम जारी रहेकाले बैठक जारी राखिएको सभापति भट्टराईले जानकारी दिए ।

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको बैठक बुधबार दिउँसो १ बजे पुनः बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?