Comments Add Comment

भारतीय सडक मन्त्रीले भने- विकास निर्माण गर्ने जिम्मा निजी क्षेत्रको हो

Purbadhar-Sammelan
२६ कात्तिक, काठमाडौं । भारतीय सडक पारवाहन तथा राजमार्ग मन्त्री नितिन जैराम गडकरीले निजी क्षेत्रको सहभागिताबीना कुनै पनि देशको विकास नहुने बताएका छन ।

नेपाल उद्योग परिसंघको आयोजनामा राजधानीमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०१४ मा उनले यस्तो बताए । सरकार विकास तथा उद्योगमा लगानी गरेर देशको विकास नहुने गडकरीले ठोकुवा गरे ।

‘विकास निर्माणको जिम्मा निजी क्षेत्रको हो, सरकारले त वातावरण बनाएर प्रोत्साहन मात्रै गर्ने हो’ उनले भने- जुन सरकारले व्यापार गर्छ, उसका जनता भिखारी हुन्छन् ।

पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारी र पूँजी बजारले महत्वपूर्ण भुमिका खेल्ने गडकरीको भनाई थियो । भारतमा पूवाधार परियोजनाले बण्ड जारी गर्दा दशौं गुणा बढी आवेदन परेको स्मरण गर्दै भिजन र सही कार्ययोजना भए पूँजी विकासको बाधक नहुने उनले बताए ।

गडकरीले समयमै निर्णय गर्न नसकेर नेपालको विकासले गति लिन नसकेको बताए । ‘नेपालमा समयमा निर्णय नहुने समस्या छ’ गडकरीले भने- समयमै निर्णय गर्नुभयो भने लगानी ओइरिन्छ ।

भारतमा पनि सरकारी संयन्त्रले समयमा निर्णय गर्न थालेपछि मात्रै विकासले गति लिएको उनको भनाई छ । ‘भारतमा पनि पहिले कर्मचारीतन्त्र प्रत्येक समय यो काम गर्न संभव छैन भन्थे, अहिले नेपालमा त्यही समस्या छ भन्ने सुनेको छु’ उनले भने ।

कर्मचारीतन्त्रको परम्परागत मानसिकताका कारण मुलुकको विकास हुन नसक्ने उनको भनाई थियो ।

भिजन भएको राजनीतिक नेतृत्वले दुई वर्षमै काम गरेर देखाउन सकने गडकरीले बताए । ‘जहाँ इच्छा छ, त्यहाँ उपाय हुन्छ’ उनले भने- जहाँ इच्छा छैन त्यहाँ सेमिनार र सम्मेलन मात्रै आयोजना हुन्छ ।

सडक नै सम्मृद्धि भएको भन्दै सरकारलाई पूर्वाधार विकासमा गंभिर हुन आग्रह गरे । नेपाल बनाऔं भन्ने अभियान सञ्चालन गरेर पूर्वाधारमा लगानी भित्र्याउन उनले सुझाए ।

‘नेपालको विकासका लागि भारत साथमै छ’ उनले भने -तपाईहरु वातावरण बनाउनुहोस, हामी पनि लगानी गर्न आउँछौं । सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ता र उच्च सरकारी अधिकारीहरु गरी ७ सयको सहभागिता छ ।

पूर्वाधार विकासका लागि सरकार प्रतिवद्ध

प्रधानमन्त्री शुसील कोइरालाले पूर्वाधार विकासमा क्षेत्रमा रहेका समस्याहरुको उचित समाधान निकाल्न र आगामी दिनमा नयाँ नीति निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

कोइरालाले नेपालको पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा व्यापक संभावना रहेकाले लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे ।

उनले पूर्वाधार विकासमा निजी क्षेत्रको भूमिका उल्लेख्य रहने बताए । ‘अबको गुग निजी पूर्वाधार विकासको युग हो’ उनले भने -पूर्वाधार विकासको आधार नै निजी क्षेत्र हो ।

गुणस्तरीय पूर्वाधार विकास हुनसके मात्रै देशको अर्थतन्त्र र जनताको जिवनस्तर माथि पुग्ने कोइरालाको भनाई थियो ।

अर्थमन्त्री डा. रामशरण महतले आर्थिक सुधार र पूर्वाधार विकासका लागि जस्तो सुकै सहयोग गर्न र निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए ।

दुई दशकअघि शुरु गरेको आर्थिक सुधारको प्रतिफल अहिले आइरहेकाले त्यसलाई नयाँ चरणमा लैजान दोस्रो चरणको सुधारको अभियान चलाएको मन्त्री महतको भनाई थियो ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्री बिमलेन्द्र निधीले कुनै पनि देशको आर्थिक सामाजिक विकासका लागि पूर्वाधार पूर्वसर्त भएकाले सरकार तथा निजी क्षेत्र मिलेर यस क्षेत्रको विकासमा सहकार्य गर्नु पर्ने बताए ।

त्यसैगरी, परिसंघका अध्यक्ष निवर्तमान अध्यक्ष विनोद चौधरीले पूर्वाधार विकासमा भारत र चिनबाट सिक्नु पर्ने बताए । ‘भारतमा पूर्वाधार विकासमा क्रान्ति ल्याउने व्यत्तित्व नै आज हामीसँग हुनु हुन्छ, त्यसैले नेपालको पूर्वाधार विकासमा यस सम्मेलन महत्वपूर्ण छ’ चौधरीले भने ।

परिसंघका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले नेपालको आर्थिक सामाजिक विकासका लागि र आम मानिसको जिवनस्तरमा सुधार गर्नका लागि यस पूर्वाधार सम्मेलन कोशेढुंगा सावित हुनेछ’ बताए ।

परिसंघ तथा सम्मेलनका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले नेपालको पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउने उदेश्यले सम्मेलनको आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment