+
+

गार्डलाई गोली हानेर एसबीआई बैंकबाट २० लाख लुटपाट

२ मंसिर, रौतहट । चन्द्रनिगाहपुरस्थित मेनरोडमा रहेको नेपाल एसबीआई बैंकबाट लुटेराहरुले दिउँसै २० लाख रुपैयाँ लुटेका छन् । एसबीआई बैंकबाट रकम झिकेर निस्केका नजिकैको आइडी बैंकका गार्डलाई तिघ्रामा गोली हानेर लुटेराहरुले २० लाख रुपैयाँ लगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २ गते १५:३५
SBI-BANK-GUARD-KARKI
लुटेराको गोली लागेर घाइते बैंकका सुरक्षा गार्ड टेकबहादुर कार्की

गौतम श्रेष्ठ
२ मंसिर, रौतहट । चन्द्रनिगाहपुरस्थित मेनरोडमा रहेको नेपाल एसबीआई बैंकबाट लुटेराहरुले दिउँसै २० लाख रुपैयाँ लुटेका छन् । लुटिएको रकम इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक (आईडी)को हो ।

एसबीआई बैंकबाट  रकम झिकेर निस्केका नजिकैको आईडी बैंकका गार्डलाई तिघ्रामा गोली हानेर लुटेराहरुले २० लाख रुपैयाँ लगेका हुन् ।

मोटरसाइकलमा भागेका लुटेरालाई पछ्याइरहेको प्रहरीलाई काँसघारीमा लुकेर लुटेराले गोली चलाएपछि दोहोरो हानाहान भएको र एक लुटेरा घाइते भएको प्रहरीले जनाएको छ ।

ढाडमा प्रहरीको गोली लागेका घाइतेको अवस्था चिन्ताजनक रहेको भन्दै उनलाई भरतपुर अस्पताल पठाइएको छ । अन्य लुटेराहरु रकम लिई फरार भएका छन् ।

यसरी भयो घटना

नेपाल एसबीआई बैंकबाट २० लाख रकम लिएर बैंकबाट निस्कँदै गर्दा भर्‍याङ्गमा गार्डलाई चारजनाको समूहमा आएका लुटेराले गोली हानेका थिए ।

बा ५२ प ६९३३ र बा ६२ प ९४१८ नम्बरका पल्सर मोटरसाइकलमा हतियारसहित आएका लुटेराले रकम लिएर भागेको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । बैंक प्रहरी कार्यालय नजिकै रहेको छ ।

चन्द्रनिगाहपुरमै रहेको आइडी बैंकका गार्ड टेकबहादुर कार्कीलाई तिघ्रामा गोली लागेको र लुटेराहरु भागेको आइडी बैंकका म्यानेजर बासु भट्टराईले बताए ।

गार्डसँगै रकम लिन नेपाल एसबीआइ बैंक गएका आइडी बैकका कर्मचारी उज्वल रिजाललाई लुटेरा समुहले कुटपिट गरेका छन् ।

प्रत्यक्षदर्शीले लुटेराहरु गैंडाटारतर्फ भागेको बताएपछि प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीसहितको टोलीले पछ्याएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेत खटिएपछि लुटेराहरुले गैंडाटार नजिकैको जंगलमा मोटरसाइकल छाडेर भागेका थिए । लुटेरा भाग्न सक्ने सम्भावित सबै नाकाहरुमा प्रहरीले चेकजाँच कडा बनाएको थियो ।

SBI-BANK-RAUTAHAT
एसबीआई बैंकको चन्द्रनिगाहपुरस्थित शाखा

डीएसपी गिरीको टोलीले लुटेरालाई पछ्याउँदै गएपछि चन्द्रपुर ३ खैराको काँसघारीबाट लुटेराहरुले प्रहरीमाथि गोली प्रहार गरेका थिए । जवाफी कारवाहीमा प्रहरीको गोली लागी एक व्यक्ति घाइते अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा सिन्धुली पिपलमाडी १ का नारायण राई रहेका छन् । उनी लुटेरा समूहकै भएको प्रहरीको दाबी छ । प्रहरीको गोली लागेपछि राई मोटरसाइकलबाट ढलेको प्रहरी उपरीक्षक थपलियाले  बताए ।

ढाडमा प्रहरीको गोली लागेका राईको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भरतपुर पठाइएको चन्द्रनिगाहपुर अस्पतालले जानकारी दिएको छ ।

लुटेराको गोली लागी घाइते भएका आइडी बैंकका गार्ड तेजबहादुर कार्कीको भने चन्द्रनिगाहपुर अस्पतालमा उपचार भैरहेको छ ।

लुटिएको रकम र लुटेरा पक्राउ गर्न प्रहरी उपरीक्षकसहितको टोलीले विभिन्न स्थानमा सर्च अभियान चलाएको छ । बैंकमा लुटपाट भएलगत्तै रौतहटका सबै प्रहरी यूनिटहरुलाई एलर्ट गरी लुटेराको खोजी शुरु गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?