+

ट्राफिक प्रहरीलाई कुन रोगको जोखिम बढी ?

२०८१ जेठ  ७ गते १८:३३ २०८१ जेठ ७ गते १८:३३
ट्राफिक प्रहरीलाई कुन रोगको जोखिम बढी ?

काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालले काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो, केही समयअघि । ३३८ जना ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षणको क्रममा अधिकांशमा श्वासप्रश्वासको समस्या भेटियो ।

साथै उनीहरुमा आँखा, छाला तथा ढाडको समस्या पाइयो । फोक्सो तथा छातीरोग विशेषज्ञ डा. नवीनकुमार मिश्र भन्छन्, ‘लामो समय धुलो र धुँवाको सम्पर्कमा रहनेहरुलाई सीओपीडी (जीर्ण खालको श्वासप्रश्वास रोग) र दमको समस्या हुनसक्छ । ट्राफिक प्रहरीमा यसको जोखिम उच्च छ । किनभने उनीहरु हरक्षण धुलो र धुवाँको सम्पर्कमा छन् ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्ठका अनुसार उपत्यकामा १८ सयभन्दा बढी ट्राफिक प्रहरी कार्यरत छन् । उनीहरुले सामान्यतया दैनिक १० देखि १४ घण्टा ड्युटी गर्नुपर्ने हुन्छ ।

बाटोघाटोमा महिनौं उभिएर बस्नेहरुमा दम, खोकी आम समस्या हो । ‘’यसलाई हामी चिकित्सकले ‘पेशागत दम खोकी’ भन्ने गरेका छौं’’ डा. मिश्र भन्छन् ।

वायु प्रदूषणले गर्दा सुरुमा श्वासनलीको एलर्जी हुन्छ । सोही समस्या यथावत रहँदा अस्थामा हुन्छ । यसलाई ‘एक्सट्रिन्सिक आस्थमा (बाह्यकारक दम)’ पनि भन्ने गरिन्छ । ‘यस्तो समस्याको सबैभन्दा जोखिममा ट्राफिक प्रहरी छन्,’ डा. मिश्र भन्छन्, ‘यदि पहिलेदेखि अस्थामा समस्या छ भने पनि उनीहरुमा त्यो समस्या बल्झिन सक्छ ।’

सन् २०१७ मा गरेको एक अध्ययनले ट्राफिक प्रहरीमा शारीरिक र मानसिक दुवै समस्या रहेको देखाएको छ । उक्त अध्ययनमा सहभागीमध्ये ५८.८ प्रतिशत ट्राफिक प्रहरीलाई कुनै न कुनै किसिमको मानसिक समस्या थियो ।

‘इन्टरनेसनल जर्नल अफ अकुपेस्नल सेफ्टी एन्ड हेल्थ’मा प्रकाशित ‘काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको स्वास्थ्य समस्या’ शीर्षकको उक्त अध्ययनमा औसत ३१ वर्ष उमेरका २९६ जना ट्राफिक प्रहरी सहभागी थिए । त्यसमध्ये सयमा ७२ जनामा आँखा पोल्ने, चिलाउने र आँसु आइरहने समस्या आएको बताएका थिए । त्यस्तै १० मध्ये करिब ९ जनालाई (८७.८ प्रतिशत) शरीरको कम्तीमा एक भागमा (घाँटी, काँध, ढाड-कम्मर, घुँडा, खुट्टा, जोर्नी) अत्याधिक दुख्ने समस्या थियो ।

‘दैनिक सयौं मान्छेहरुसँगको कुराकानी, खटपट, किचकिच र चर्को ध्वनिका कारण ट्राफिक प्रहरीमा मानसिक समस्या हुन्छ,’ वरिष्ठ फिजिसियन डा. दीपेश शाक्य भन्छन् । डा. शाक्यका अनुसार ट्राफिक प्रहरीलाई डिहाइड्रेसन, हिट स्ट्रोक र पिसाब संक्रमणको जोखिम हुनसक्छ ।

स्वस्थ रहन दैनिक दुई-तीन लिटर पानी शरीरलाई जरुरी हुन्छ । ‘तर एकै ठाउँ घण्टौं उभिंदा उनीहरुले पानी पिउन पाउँदैनन् वा सम्भव हुँदैन । किनभने एक त ट्राफिक व्यवस्थापन गर्ने चटारो हुन्छ, अर्को चाहिं पानी पिएपछि पिसाब फेर्ने अनुकूलता नहुन सक्छ ।’ यस्तो प्रतिकूलताले गर्दा ट्राफिक प्रहरीलाई हिट स्ट्रोक, डिहाइड्रेसनको समस्या त हुन्छ नै, पिसाब संक्रमणको जोखिम पनि उत्तिकै छ ।

स्वस्थ मान्छेले दैनिक डेढ लिटर पिसाब फेर्नुपर्ने हुन्छ । यसमा घटबड हुँदा मूत्रनलीमा असर गर्न सक्छ । डा. शाक्यका अनुसार ट्राफिक प्रहरीले पिसाब रोकेर बस्नुपर्ने बाध्यता पनि हुन्छ । यसले उनीहरुको मिर्गौलालाई खराब गर्न सक्छ ।

ट्राफिक प्रहरीलाई धुवाँ र धुलोले जस्तै चर्को ध्वनिले पनि असर गर्ने चिकित्सकहरु बताउँछन् । गाडीको चर्को हर्नकै कारण उनीहरुमा श्रवण क्षमताको समस्या देखिने गरेको डा. शाक्यको भनाइ छ ।

काठमाडौंको वातावरणमा वायु मात्र होइन, ध्वनि प्रदूषण पनि उत्तिकै छ । सन् २०२२ मा प्रकाशित ट्राफिक प्रहरीको सचेतनासम्बन्धी अध्ययनले काठमाडौं महानगरपालिकामा औसत सवारी साधनको आवाज ६० देखि १०० डेसिबल रहेको जनाएको छ । सामान्य कुराकानी गर्दा ध्वनि ६० डेसिबलको हुन्छ । ७० डेसिबलभन्दा चर्को ध्वनिमा लामो समय अर्थात् महिनौं वा वर्षौंसम्म बस्दा श्रवणशक्ति गुम्ने खतरा हुन्छ । उक्त अध्ययनअनुसार उपत्यकाका ट्राफिक प्रहरी लामो समयसम्म चर्को आवाज सुन्न बाध्य भएकाले उनीहरूले सधैंका लागि श्रवणशक्ति गुमाउने खतरा छ ।

हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको ट्राफिकसँग सम्बन्धित वायु प्रदूषणबारे एक अध्ययनले विश्वभर वायु प्रदूषणका कारण मानिसको आयु २० प्रतिशतले घट्दै गएको र दक्षिण एशियामा त्यसको असर अझै भयावह रहेको जनाएको छ । उक्त अध्ययनले नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा जन्मिएका बच्चाको आयु प्रदूषित हावाका कारण ३० महिनाले घट्न सक्ने उल्लेख छ । अध्ययनका अनुसार सडकमा हुने प्रदूषणले विशेषगरी फोक्सो र हृदयरोगको जोखिम बढाउँछ ।

लामो समय उभिनुपर्ने भएकाले ट्राफिक प्रहरीलाई भेरिकोज भेन अर्थात पिंडौलाको नसा फुल्ने वा सुनिन्ने समस्या हुनसक्छ । यसलाई पेशाजन्य समस्या पनि भनिन्छ । किनभने यो लामो समय उभिएर काम गर्ने व्यक्तिमा देखिन्छ, जसमध्ये ट्राफिक प्रहरी एक हो । दैनिक ६ घण्टाभन्दा बढी उभिने मानिसमा यस्ता समस्या देखिन्छ । शरीरमा रक्तप्रवाह प्रक्रियामा समस्या हुने गर्छ । यो शरीरको हात, खुट्टा जुनसुकै भागमा पनि हुनसक्छ । यसलाई समयमा उपचार नगरेमा खुट्टा दुख्ने, सुन्निने, हिंड्न र उभिन समेत गाह्रो हुन्छ ।

ट्राफिक प्रहरीलाई ढाड र कम्मर दुख्ने समस्या हुन्छ । किनकि एउटै पोजिसनमा दिनभरि उभिएर काम गर्दा शरीरको सबै भार मेरुदण्डमा पर्छ । यस्तो अवस्थामा नसा च्यापिने समस्या पनि हुनसक्छ ।

ट्राफिक प्रहरी स्वास्थ्य
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय