७ मंसिर, काठमाडौं । सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई सार्क सम्मेलनको तीन दिनअघि नै आइतवारदेखि खाली गराउन थालेको छ ।
सार्क सम्मेलनलाई लक्षित गरेर सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुरै खाली गर्ने विमानस्थल प्रमुख रतिशचन्द्र लाल सुमनले बताएका छन् ।
‘विमानस्थलको सुरक्षा संवेदनशीलताका कारण खाली गराउन लागिएको हो,’ उनले भने ।
सार्कमा सहभागी हुन आउने अतिविशिष्ट पाहुनाको सुरक्षालाई ध्यानमा राख्दै विमानस्थलमा नियमित गरिने पार्किङसमेत हटाइएको छ । आइतवारदेखि नै विमानस्थलबाट ट्याक्सी तथा निजी तथा पर्यटक गाडीहरुको पार्किङ हटाइएको हो ।
त्यहाँ राखिने गरिएका पर्यटक र निजी सवारी साधनहरु विमानस्थलको गोल्डेन गेटको छेउमा राखिएको छ । आन्तरिक उडानमा जानेहरु गोल्डेन गेटबाटै हिँडेर भित्र जानुपर्नेछ । त्यस्तै फर्किनेहरुले पनि ट्याक्सी चढ्नका लागि भारी भर्कम बोकेर हिँड्न पर्नेछ ।
विमानस्थलमा अति सास्ती खेप्नुपर्ने देखिएकाले धेरैले टिकट बुकिङ रद्द गर्न थालेको ट्राभल एजेन्ट राजेन्द्र दाहालले बताए । ‘अति जरुरी अवस्थाका बाहेक अरुले मंसिर १२ सम्मको टिकट रद्द गरेका छन्’ उनले भने ।
कतिपय एयरलाइन्सहरुले आफैं उडान कटौती गरिसकेका छन् । मंसिर ९ देखि १२ सम्म त्रिभुवन विमानस्थलबाट विमान उड्नै नसक्ने अवस्था रहेकाले आफै उडान कटौती गरिएको हो ।
मंसिर ९ गते अधिकांश भीभीआइपीहरुको अवतरण हुने भएकाले त्यस दिन आन्तरिक उडान भर्न निकै कठिन हुने देखिएको छ । आकाश नै खाली गराएर भीभीआइपीको स्वागतको तयारी सरकारले गरेको छ ।
भीभीआइपीको सुरक्षा व्यवस्थापनका लागि नेपाली सेनाका प्राबिधिक जर्नेल सहायकरथी बिजेन्द्र गौतमको नेतृत्वका विशेष कार्यदल सक्रिय भइसकेको छ ।
विमानस्थलभित्रै भीभीआइपी सुरक्षाका लागि कम्तिमा चार घेरा बनाएको स्रोतले जनाएको छ । जसमध्ये भित्री दुई घेरामा नेपाली सेना हुनेछन् भने बाहिरका दुई घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहनेछन् ।
सार्क सम्मेलनका क्रममा राजधानीकाे सडक यातायात पनि नियन्त्रित हुनेछ ।
(याे पनि पढ्नुहाेस्– चार दिनसम्म राजधानीमा गाडी नचढेकै जाति )
श्रीधर पाैडेलले खिचेका थप तस्वीर