Comments Add Comment

विप्लवको ‘एकीकृत क्रान्ति’ कि भुलभुलैया ?

अरुण बराल/राजनीतिक टिप्पणी

१५ मंसिर, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबाट सम्बन्ध विच्छेद गरेको घोषणासहित नयाँ समूह बनाएका नेत्रविक्रम चन्दले ‘एकीकृत क्रान्ति’ को कार्यदिशा अघि सारेका छन् । के हो विप्लवको ‘एकीकृत क्रान्ति’ ? यसबारे स्वयं विप्लवलाई नै थाहा छैन ।

आफ्नो ‘एकीकृत क्रान्ति’बारे विप्लवले मिडियामा जवाफ दिने गरेका छन्- ‘यसबारे हामी छलफलमै छौं, हाम्रो राष्ट्रिय भेला पनि हुँदैछ, तर हामीले गर्ने क्रान्ति अब विगतको जस्तो नभई ‘एकीकृत क्रान्ति’ हुनेछ ।’

Netrabikram-Chand-Biplab
विप्लव

चितवनमा गोप्य बैठक चलिरहेका बेला विप्लव समूहका नेताहरुलाई ‘भूमिगत’ शब्दले निकै तर्सायो । बैठक सकिएलगत्तै एकजना केन्द्रीय नेताले भने- ‘हाम्रो विषयमा गलत हल्ला चलाइयो, हामी भूमिगत भएकै हैनौं । हामीले सशस्त्र छापामार युद्ध थाल्ने भन्ने हल्ला पनि गलत हो, हामी भूमिगत भएका हैनौं, हामीले आफ्नो राजनीतिक नारा ‘संविधानसभा विघटन गर, राष्ट्रिय राजनीतिक सभाको आयोजना गर’ भनेका छौं ।

विप्लवले भूमिगत नभएको प्रमाण दिन सोमबार जमलको राष्ट्रिय नाचघरमा उनकै उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

तर, विप्लव समूह भूमिगत हुन लागेको हैन र आफ्नो कार्यनीतिक नारा ‘राष्ट्रिय राजनीतिक सभा’ नै तय गरिएको हो भने वैद्य समूहबाट अलग भएर अर्कै पार्टी बनाउनुको कुनै अर्थ र औचित्य देखिँदैन ।

भ्रष्टाचारीमाथि कारवाही थालेर विप्लवले माओवादीको गुमेको साख जनतामा स्थापित गर्ने र जनताको सहानुभूति बटुल्ने सोचेका हुन सक्छन्, तर यतिले मात्रै कार्यकर्तालाई क्रान्तिको सपना बाँड्न पर्याप्त हुँदैन।

वैद्य समूहबाट अलग्गिएको यो समूहले थालेको अर्को नयाँ काम भनेकाे भ्रष्टाचारीहरुको नामावली संकलन हो । भ्रष्टहरुको नाम संकलन गरेर उनीहरुको सूची सार्वजनिक गर्ने र तिनमाथि जनकारवाही गर्ने सो समूहको तयारी देखिन्छ । तर, यति कामले मात्रै क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्न सक्दैन । यस्तो अभियान भारतको केजरीवालको भन्दा अलिकति ‘रेडिकल’ काममात्रै ठहरिने छ ।

भ्रष्टाचारीमाथि कारवाही थालेर विप्लवले माओवादीको गुमेको साख जनतामा स्थापित गर्ने र जनताको सहानुभूति बटुल्ने सोचेका हुन सक्छन्, तर यतिले मात्रै कार्यकर्तालाई क्रान्तिको सपना बाँड्न पर्याप्त हुँदैन । क्रान्तिको सपनामा कार्यकर्ताहरुलाई विश्वस्त तुल्याउन उनले जनवादी राज्यसत्ता कसरी प्राप्त गर्ने भन्ने ‘प्रोजेक्ट’ अघि सार्नुपर्ने हुन्छ । जसलाई उनले ‘एकीकृत क्रान्ति’ भन्ने अमूर्त पदावलीले ढाकछोप गरेका छन् ।

एकीकृत क्रान्तिबारे विप्लव आफैं स्पष्ट नभएपछि अरु मानिसहरु स्पष्ट हुने कुरै भएन । विप्लवले नेपालको अबको क्रान्ति विगतको जनयुद्ध (चिनियाँ मोडेल) जस्तो नहुने आफ्नो दस्तावेजमा उल्लेख गरेका छन् ।

वैद्य माओवादीले भन्दै आएको ‘जनयुद्धको जगमा जनविद्रोह’ पनि नेपालमा असम्भव रहेको विप्लवको ठहर छ ।

विप्लवका कतिपय नेता कार्यकर्ताले अब चे ग्वेभाराको बाटो समाउनुपर्ने बताउन थालेका छन् । तर, विप्लव चे ग्वेभारा नै बन्ने हो भने नेपालमा एकजना फिडेल क्यास्ट्रोको जरुरत पर्छ । विप्लवको फिडेल क्यास्ट्रो को बन्ला ? प्रचण्ड या बाबुराम ?

विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमा नेपालमा गाउँ र शहरको चरित्र बदलिएको विश्लेषण गरेका छन् । उनको यो विश्लेषण दीर्घकालीन जनयुद्धको आधार र कार्यदिशासँग मेल खाँदैन ।

‘एकीकृत क्रान्ति’ को शब्द बुनेका विप्लवले क्रान्तिको कस्तो मोडेल नेपालमा फिट हुन्छ भन्ने सार्वजनिक गर्न सकेका छैनन् । यो स्थितिमा प्रचण्ड र मोहन वैद्यको पार्टीबाट निराश बनेका जोदाहाहरु उनको समूहमा आए भने उनले के लाइन देलान् ? यो प्रश्न निकै चुनौतीपूर्ण छ ।

क्रान्तिकारी हुनका लागि विद्रोह गरेका विप्लव समूहका नेताहरु भूमिगत हुन लागेका हैनौं भन्दै स्पष्टीकरण दिँदै हिँड्न थालेका छन् । र उनीहरुले वैद्यले अघि सारेकै ‘गोलमेच सम्मेलन’को फेरो समातिरहेका छन् ।

भ्रष्टाचारीलाई मोसो दलेरमात्रै क्रान्तिकारी बन्न सकिँदैन, क्रान्तिकारी बन्नका लागि वैज्ञानिक खालको कार्यदिशा चाहिन्छ भन्ने कुरा विप्लव जत्तिको नेताले पक्कै पनि बुझेकै हुनुपर्छ । साथै भूमिगत हुने पन सिंघर्षको आवश्यकताले माग गरेको अवस्थामा मात्रै हो । भूमिगत हुनैका लागि भूमिगत त मोहनविक्रम सिंह पनि भइरहेकै छन् ।

विप्लवको ‘एकीकृत क्रान्ति’को शब्दजाल एमाओवादीका निराश कार्यकर्तालाई केही दिन थुम्थुम्याउने भुलभुलैया मात्रै बन्न सक्ने खतरा छ ।

विप्लवका कतिपय नेता कार्यकर्ताले अब चे ग्वेभाराको बाटो समाउनुपर्ने बताउन थालेका छन् । तर, विप्लव चे ग्वेभारा नै बन्ने हो भने नेपालमा एकजना फिडेल क्यास्ट्रोको जरुरत पर्छ । विप्लवको फिडेल क्यास्ट्रो को बन्ला ? प्रचण्ड या बाबुराम ?

किनभने, क्युवामा चेको लाइनले अन्तिम धक्काको मात्रै काम गरेको हो । बाँकी त्यहाँको जनआन्दोलनको परिस्थितिले उनलाई साथ दिएको हो भन्ने बुझ्न जरुरी छ । चेको नक्कल जुनसुकै देशमा गर्न सकिने भए बोलिभियामा उनी हार्ने नै थिएनन् ।

नेपालको परिस्थिति बोलिभियाको भन्दा क्युवासँग मिल्दोजुल्दो छ । तर, यसका लागि चे बन्न खोजेका विप्लवलाई साथ दिने क्यास्ट्रो अहिलेसम्म फेला परिसकेका छैनन् । तर, जहाँसम्म ‘चे’को लाइनको कुरा छ, अहिलेको युग र नेपालको भूराजनीतिक परिस्थिति क्युवाको कागतालीपूर्ण क्रान्तिको भन्दा गुणात्मकरुपमै भिन्न छ ।

विगतको जस्तै गाउँले शहर घेर्ने वा जनयुद्धमा जनविद्रोह फ्युजन गर्ने माओवादीका दुबै लाइनहरु नेपालमा प्रयोगबाटै असफल सावित भइसकेका छन् ।

यो वस्तुगत स्थितिमा विप्लवको ‘एकीकृत क्रान्ति’को शब्दजाल एमाओवादीका निराश कार्यकर्तालाई केही दिन थुम्थुम्याउने भुलभुलैया मात्रै बन्न सक्ने खतरा छ ।

क्रान्तिको स्पष्ट दिशा नभएकाले क्रान्तिका नाममा कार्यकर्ताले चन्दा उठाएर विप्लवलाई बदनाम बनाउने अर्को सम्भावनाको धेरैले अनुमान गरेका छन् ।

यद्यपि यो कुरालाई अस्वीकार गर्न सकिँदैन कि माओवादी स्कुलिङमा हुर्केका र यतिबेला चरम निराशामा रुमलिएका प्रचण्ड र वैद्यका धेरै कार्यकर्ताहरु फेरि एकपटक विप्लवको रुमानी क्रान्तिको नारामा आकर्षित हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment