+
+

सेनाले खोज्न थाल्यो विप्लवको नालीबेली

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १३ गते २३:५६

Biplap

१३ मंसिर, काठमाडौ । नेकपा-माओवादीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुनः क्रान्तिको योजना बनाउन थालेको चर्चासँगै नेपाली सेनाले विप्लवको बायोडाटा खोज्न सुरु गरेको छ ।

वैद्यसँग यसैसाता विद्रोह गरेर भूमिगत बनेका विप्लवलगायत उनको समूहमा रहेका खड्गबहादुर बिकलगायत केन्द्रीय तहका नेताहरुको सूची बनाएर सेनाले उनीहरुको पृष्ठभूमि, बसोबास र गतिविधि गर्ने स्थानहरुको निगरानी सुरु गरेको छ ।

‘नेपालका हरेक राजनीतिकर्मीहरुको सूचना राख्नु सेनाको कर्तव्य हो,’ सैनिक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘संभावित द्रोहबारे बेलैमा चनाखो हुन र शान्ति कायम गर्नका लागि यो स्वाभाविक र नियमित कार्य हो, यसलाई अस्वाभाविक मान्नु हुँदैन ।’

यस्तो छ विप्लवको नालीबेली

रोल्पामा विसं. ०२४ सालमा जन्मिएका विप्लवले ०४७ सालमा पार्टी सदस्यता लिएका हुन् । ०४८ सालमा पार्टीमा पूर्णकालीन भएका विप्लव ०५४ सालमा माओवादीको केन्द्रीय सदस्य बनेका हुन् ।

सशस्त्र क्रान्तिमै जानुपर्ने योजना बुन्दै गरेका विप्लव सानैदेखि हठी स्वभावका थिए । ०२४ फागुन ११ गते रोल्पाको विकट इरिवाङ् गाविसको केबरीमा जन्मिएका उनी लाहुरे परिवारमा हुर्किएका हुन् । ८ वर्षको उमेरमा गाउँबाट टाढा पढ्न जार्ने बाध्यतामा रहेका उनी दुई कक्षासम्म गाउँकै राष्ट्रिय प्राविमा पढेका थिए । त्यसपछि लिबाङको बालकल्याण माविमा अध्ययन गरेका उनले ०४३ सालमा सोही विद्यालयबाट एसएलसी उर्तीण गरे । त्यसपछि उनी उच्च शिक्षाका लागि रोल्पाबाट काठमाडौ पसे ।

यो पनि पढ्नुस् : विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन

उनले काठमाडौंको ल क्याम्पसबाट कानून पढेका छन् । अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष हुँदै केन्द्रीय विद्यार्थी नेतासम्म बनेका उनले राजनीतिका कारण स्नातक तहको पढाइ पूरा गर्न पाएनन् ।

नेपालमा ठकुरी खलकलाई खान्दानी खलकमा रुपमा मान्ने प्रचलन छ । विप्लव २० वर्षकै उमेरमा ठकुरी खलककै शुभद्रा मल्लसँग प्रेममा फसे । विप्लवले तिनै सुभद्रासँग पञ्चेबाजा बजाएर जन्तीसहित धुमधामसँग मागी विवाह गरे ।

एक छोरी र दुई छोराका का पिता रहेका विप्लवको परिवार ०४५ सालमा रोल्पाबाट कपिलवस्तुको शिवगढी बसाइ सरेको छ ।

तत्कालीन दश वर्षे जनयुद्धका क्रममा कर्णालीलाई पार्टीको कार्यक्षेत्र बनाएका विप्लवले अशंमा पाएको १० कट्ठा जमीन ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनपछि पार्टीलाई बुझाएका छन् ।

विसंस ०३६ सालको विद्यार्थी आन्दोलनको प्रभावमा परेका चन्दले १५ वर्षको उमेरमा ०३९ सालमा अखिल छैठौंबाट विद्यार्थी राजनीति थालेका हुन् । पार्टी नेता काशीराम घर्तीको हातबाट पार्टी सदस्यता लिएका उनी ०४३ सालमा मोहन वैद्यले नेतृत्व गरेको मशालको विद्यार्थी संगठनको रोल्पा जिल्ला अध्यक्ष भए । ०४७ सालमा बाग्मती क्षेत्रको अध्यक्ष भएका उनी ०४८ सालमा विद्यार्थी केन्द्रीय समिति हुँदै केन्द्रीय अध्यक्ष भए । विप्लवले ०४७ सालपछि वाइसीएलमा पनि काम गरे ।

विसंस ०५१ देखि एक वर्ष ललितपुर जिल्ला सचिव र ०५३ सालमा उपत्यका ब्युरो सदस्य भएका उनी ०५४ सालमा काठमाडौबाट सरुवा भएर कर्णाली उपक्षेत्रीय ब्युरोको इञ्चार्ज बनेपछि राजधानी छाडेर उनी कर्णाली पुगे ।

पार्टीको चौथो विस्तारित बैठकबाट ०५४ सालदेखि केन्द्रीय सदस्यमा पदोन्नति भएका विप्लव त्यसपछि राप्ती क्षेत्रबाट ०५९ सालमा पोलिटब्युरो सदस्य बने । छोटो समयमा नै प्रचण्डले उनलाई उच्च नेतृत्वमा ल्याए ।

राजनीतिमा लागेर माओवादीकै भाषामा छोटो समयमै छलाङ मारेका चन्दले लामो जेल जीवन बिताएका छैनन् । राजधानीमा भएका शान्तिपूर्ण आन्दालनेका बेला उनी रत्नपार्कबाट पक्राउ परेका महेन्द्र पुलिस क्लवमा थुनिएका थिए । एकताका असनबाट पक्राउ परेका उनले डिल्लीबजार सदरखोरमा १७ दिन बिताएका छन् ।

युद्धमा विप्लवको प्रत्यक्ष संलग्नता

विप्लवले जनयुद्धकालमा धेरैवटा मोर्चामा लडाइँ लडेका छन् । कर्णालीमा भरुवा बन्दुक र रिभल्वरकोका भरमा सान्नीगार्ड प्रहरी चौकी आक्रमण गर्दा उनी राजनीतिक कमाण्डर थिए । ०५६ साल जेठमा कालीकोटको पदमघाट प्रहरी चौकी आक्रमणमा पनि चन्दको प्रत्यक्ष सहभागिता थियो । सो प्रहरी चौकीबाट माओवादीले १३ वटा राइफल कब्जा गरेका थिए ।

दाङमा नेपाली सेनामाथि भएको पहिलो आक्रमणदेखि म्याग्दीको बेनी आक्रमणसम्म जनसेनाको राजनीतिक कमिसार भई विप्लवले लडाइँको अनुभव संगालेका छन् ।

त्यस्तै उनी दाङको सतबरिया सशस्त्र प्रहरी क्याम्प आक्रमणको योजनाकार समेत रहेको बताइन्छ । त्यसैगरी दैलेखको नौमुले तथा खारा आक्रमणमा चन्द संलग्न थिए ।

जनयुद्धका दौरानमा बाजुराबाट समातिएर छुटेका उनी कालीकोट भिडन्त र बेनी आक्रमणबाट फर्किंदा अंगरक्षकको प्रतिरोधका कारण बाँच्न सफल भएको माओवादीहरु बताउँछन् ।

विद्यार्थीकालमा राजधानीमा सँगै काम गरेका उनका सहयोगीहरु विप्लव शुरुदेखि नै लडाइँ रुचाउने युवा रहेको सम्झन्छन् ।

विद्यार्थीकालमा वालपेन्टिङ गर्न जाँदा प्रहरीको हतियार खोस्नेदेखि पार्टीभित्रै गुट बनाएर बन्दुक किन्ने र सेनाको हेडक्वार्टर हान्ने योजना बनाउने गरेको र प्रचण्डले थुम्थुम्याउने गरेको विप्लवमा एक पुराना साथी स्मरण गर्छन् ।

तिपय माओवादी नेताहरु भने विप्लव बहादुर नभई डरपोक भएको तर्क गर्छन् । कटवाल प्रकरणका बेला विप्लवले डराएर राति नै डेरा परिवर्तन गरेको केही नेताको दाबी छ ।

सूचना स्रोत : जनयुद्धका नायकहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?