+
+

पत्रकार डेकेन्द्र हत्यामा संलग्नलाई दुई वर्ष कैद सजाय

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २१ गते १७:११

२१ मंसिर, दैलेख । जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न पाँच माओवादी कार्यकर्तालाई कैद सजाय सुनाएको छ ।

dakendra-thapaन्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले जयबहादुर शाही, हरिलाल पुन, लक्ष्मीराम घर्तिमगर, निरकबहादुर घर्तिमगर र वीरबहादुर घर्तिमगरलाई हत्यामा संलग्न भएको ठहर गरी कैद सजाय सुनाएको हो ।

शाही, पुन र निरक घर्तिमगरलाई दुई वर्ष कैद सजाय सुनाइएको छ । उनीहरुलाई घटनास्थलमा मुकदर्शक भएर बसेकोमा डेढ वर्ष र शव गाड्न सहयोग गरेको कसुरमा ६ महिना गरी दुईवर्ष कैद सजाय भएको हो ।

अनुसन्धानको क्रममा प्रहरी र अदालतलाई थापा हत्याको विस्तृत जानकारी दिएको भन्दै अदालतले लक्षीराम घर्तिमगरलार्इ कम सजाय सुनाएको छ । उनलाई थापा हत्या हुँदा मुकदर्शक भइबसेकोमा एकवर्ष मात्रै कैद सजाय दिएको छ भने शव गाडेकोमा ६ महिना नै कैद सजाय तोकिएको छ ।

अर्का अभियुक्त वीरवहादुर घर्ति मगरलाई १ वर्ष कैद सजाय सुनाइएको छ। उनले थापालाई मार्न हुन्न भनेर प्रतिवाद गरेकोले मुकदर्शक भन्ने नमिल्ले अदालतको ठहर छ । तर, उजुर नगरेकोमा ६ महिना र शव गाढ्न सहयोग गरेकोमा ६ महिना गरी एकवर्षको कैद सजाय सुनाइएको छ ।

हत्याका अन्य अभियुक्तहरु बाँके कोहलपुर ३ का भक्तिराम लामिछाने, दैलेख पुराकोटका १ का बमबहादुर खड्का र केशव खड्का, कट्टी ७ का मुक्ति भन्ने बमबहादुर खड्का फरार छन् ।

पत्रकार थापालाई माओवादीले अपहरण गरी २०६१ साल साउन २७ मा हत्या गरेका थिए । हत्याको चार वर्षपछि डेकेन्द्रकी पत्नी लक्ष्मीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?