+
+

कहाँ हराए ती चोक, ती दोकान, ती मिठाई ?

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८१ जेठ १९ गते १८:४३

हामी सानै थियौं । पानमा स्वाद भिजेको थिएन तर चकलेट देख्दा मुखमा पानी आउँथ्यो । चकलेटको मोहले डोर्‍याउँदै हामीलाई चोकसम्म पुर्‍याउँथ्यो । चोक, वास्तवमा चोक मात्र थिएन । हाम्रो बाल्यकालको धुमिल स्मृतिलाई सधैं बचाइराख्ने साक्षी थियो । आज कहाँ छ त्यो चोक ? कहाँ छ त्यो दुकान ? कहाँ छ त्यो चौतारी ? कहाँ छ त्यो समय ?

हो, समय बितेर गयो । समयले आफ्नो पोल्टामा धेरै कुरा लगेर गयो । आज त्यो चोक त्यस्तै छैन, जस्तो हाम्रो बाल्यकालमा थियो । अहिले त ठूलाठूला कंक्रिटका ठडिएका महल छन् । त्यही महलमा सबैथोक छ । नुनदेखि सुनसम्म । जिरादेखि हीरासम्म ।

अर्थात् भव्य मार्ट ठडिए, जहाँ मान्छेले आफ्नो आवश्यकताका सबै कुरा किन्न सक्छन् । त्यो पनि एकै छानोमुनि । अवश्य पनि यो विकास हो । तर विकासले कतिपय कुरालाई विस्थापित गर्ने रहेछ । जस्तो हाम्रो बाल्यकालको स्मृतिलाई, त्यो चोकलाई, त्यो घुम्टीलाई ।

घुम्टी (काठले बनाइएको मझौला अस्थायी सौदापात राख्ने ठाउँ), जहाँ खासगरी पान बेचिन्थ्यो । त्यसबेला दोकानको नाम राख्ने चलन उति थिएन । दोकानेको नामबाटै चिनिन्थ्यो । त्यो पान दोकानमा अरुपनि थुप्रै कुरा थियो । बिस्कुट, भुजिया, चकलेट । हेर्दै खाउँ–खाउँ लाग्नेगरी सजाइएका हुन्थे । हामीलाई त्यो घुम्टीले मोहनी लगाउँथ्यो । किनभने त्यहाँ हामीले खोज्ने मीठोमसिनोको भण्डार नै थियो ।

चोकमा अरु पनि स–साना दुकान थिए, काठले बारबेर गरेको । जस्तापाताले छाएको । ‘गंगाको दोकान’ हाम्रो लागि खास थियो । किनभने हामीले खोज्ने जति सबै मिठाई वा खानेकुरा त्यही पाइन्थ्यो । नयाँ बिस्कुट, चकलेट पनि त्यहाँ नै सबैभन्दा पहिले राखिएका हुन्थे । दोकानमा नयाँ खानेकुरा आउनसाथ हाम्रो मुखमा पानी भरिन्थ्यो । तर त्यसबेला पैसा कहाँबाट ल्याउने ?

चोकमा धेरै दोकान त थिएन । तर सबै दोकानसँग मान्छेको भावनात्मक सम्बन्ध जोडिएको हुन्थ्यो । नुनतेल खानेदेखि चियानास्ता गर्नेसम्म त्यही दोकानहरुले गाउँलाई सहज बनाइदिएको थियो । त्यहाँ चम्पालालको दोकान थियो, पण्डितको होटल थियो, शंकरको नास्ता दोकान थियो, रामदाइको स्टेसनरी थियो ।

शंकर दाइको आलुचप खाने, पण्डित होटलमा रसभरी अनि मःम खानुपरे साइँला दाइको एभरेस्ट मःम । चिनी किन्न चम्पालालको पसल पुग्ने अनि जिन्सका लागि दुर्गास्टोर खोज्ने चलन थियो ।

सहरैपिच्छे खानेकुराको विशेषता फरक-फरक थियो । तराईका सहरहरुमा पुरी तरकारी, समोसा, छोलाभुटुरे, चनाचिउरा बढी थियो । पहाडतिर सुकुटी, थुक्पा, दहीचिउरा, मासुचिउरा, खीर, सेल, मालपुवा जस्ता कुरा थियो ।

हरेक सामान खोज्न फरक-फरक दोकान चहार्नुपर्थ्यो । चिनी किन्न एउटा दोकान, आलु चप खान अर्कै दोकान, पान किन्न एउटा दोकान, लुगाफाटो किन्न अर्कै दोकान । गाउँलेहरु किनमेलका लागि त्यहाँ जमघट हुन्थे । आपसमा भलाकुसारी गर्थे । केटाकेटीहरु हातमा दुई-चार रुपैयाँ पाउनासाथ त्यही चोकमा दौडिंदै पुग्थे ।

दोकानेसँग प्राय: सबैको चिनजान हुन्थ्यो । गाउँले र दोकानेबीच सौहार्द्धपूर्ण सम्बन्ध हुन्थ्यो । त्यसैले भर-अभरमा एकअर्काको सहयोग हुन्थ्यो । उधारो सौदापात गर्न सकिन्थ्यो । खल्तीमा पैसा नभएपनि खाली हात फर्कनुपर्ने स्थिति हुँदैनथ्यो । यसरी दोकान र गाउँलेबीच अंकगणितको मात्र होइन, भावनाको पनि जोडघटाउ हुन्थ्यो ।

तर समयसँगै यी दोकानहरु ओझेल पर्न थाले । त्यहाँ ठूलाठूला महल निर्माण हुँदै गए । मार्टहरु बने, जहाँ एकै ठाउँ सम्पूर्ण सरसामान पाइन्छ । मलहरु खुले, जहाँ भएभरका सौदापात गर्न सकिन्छ । न उधारो, न मोलमोलाइ । पैसा पनि डिजिटल भुक्तानी गर्ने चलन आयो । धेरै कुरा बद्लिए । किनमेल संस्कृति बद्लिए । मान्छेहरु बद्लिए । चोक बद्लिए ।

पहिले पहिले दोकानमा प्रवेश गर्दा नगर्दै दोकानदार सोध्थे, ‘के छ हालखबर ? सञ्चो सुविस्ता के छ ?’ अहिले त न दोकानेले चिन्छन्, न दोकानेलाई । यन्त्रमानव जस्तो भयो मान्छे पनि ।

समय अनुसार हरेक कुरा बदलिन्छ । बदलिनुपर्छ पनि । त्यस्तो बदलावलाई आत्मसात गर्नुपर्छ । यद्यपि यसले कतिपय पुराना कुराहरुलाई भने ओझेल पार्नेरहेछ । कतिपय कुरालाई गायब बनाइदिने रहेछ ।

अहिले समानता चाहिने भयो, एकरुपता चाहिने भयो । एउटै रङ, एउटै डिजाइन र एउटै नामका बजार चाहिने भयो । वातानुकूलित बजार, एउटै बजारमा तरकारी, खाद्यान्न जस्ता दैनिक उपभोग्य सामानसँगै बच्चाको खेलौना, छोराको लुगा, बुहारीलाई भाँडाकुँडा, आमालाई डस्ना र बाबालाई पेय पदार्थ खरिद गर्न सकिने अनि किनमेलपछि खाजा खाएर फिल्म हेरेर मज्जा लिन सकिने बजार मनपराइने भयो । अहिले आनन्द छ । बाहिर आइसक्रिम अनि भित्र पिज्जा छ र त्यो खान पनि पसल–पसल धाउनु पर्दैन (निःशुल्क होम डेलिभरी) हुन्छ । रमाइलो छ, हरेक सहरमा एउटै नाम, उस्तै बनावटका बजारमा किनमेल गर्न पाइएको छ । अनि जे-जे मन लाग्यो घरमा नै मगाउन पाइएको छ ।

पछिल्लो चरणमा मःम, चाउमिन, चटपटे, पानीपुरी जस्ता खानेकुरा थपिए । तर खानामा विविधता ?

खानामा पनि ब्रान्ड नै हाबी भयो । हरेक सहरमा एउटै नाम र एकै किसिमका परिकारहरु पाउने हुने भयो । पसलका साहु फरक होलान् । तर ब्रान्ड र आइटम सेम रे । हाम्रो सहरमा आँगन, केएफसी, पिज्जा हट खुल्यो ।

यो सहर बन्दै जाँदा मेरो छिमेकीको किराना दुकान बन्द भयो । छोराहरु जागिरे भए, अंकल नि बूढो भए । खासै फरक परेन । तर अर्का छिमेकीको रेडिमेड कपडा बेच्ने ’ट्रेडर्स’ को नि व्यापार घट्यो । सिरुवा र दशैंमा त थाइल्याण्ड, चाइनाबाट पनि लुगा मगाउने तिनको पसलमा जिन्स मात्रै हजारौं थान बेच्थे । तर अहिले सो पसलमा सयको संख्यामा मात्रै पनि ग्राहक छैनन् रे । पहाडतिर माइलीको स्वादिलो थुक्पा अनि सोनेलालको समोसा मनपराउनेहरु हराउन थाले । अब मान्छे ‘हेल्थ कन्सियस’ भयो रे । पिज्जा, डोसा मनपराउने अनि समोसामा चिल्लो, लोकल मासुमा कोलेस्टेरोल र युरिक एसिड देख्न थाले ।

राम्रो त सायद भयो होला तर आफ्नोपन कता हरायो कता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?