+
+
रुसबाट निर्वासित पत्रकार इरिना भन्छिन् :

रसियनले पनि नपाएको सुविधाको प्रलोभनमा परेर नेपाली रेडजोनमा पुगेका छन्

रुसबाट निर्वासित पत्रकार फ्रन्टलाइनमा खटिएका नेपालीको परिवार खोज्दै काठमाडौंमा

निर्वासित रहेरै इरिनाले द्वन्द्वका क्रममा यौन हिंसामा परेका सयौं युक्रेनियन महिलादेखि निजी संवादमा युद्धबारे बोल्दा विदेशी नागरिकले भोगेको हैरानीबारेसम्म समाचार लेखिन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ जेठ १७ गते १८:४६

१७ जेठ, काठमाडौं । आफ्नो मुलुकबाट सयौं माइल दूरीमा रहेको देशका युवा आएर फ्रन्टलाइनमा लडिरहेको खबर सुन्दा रुसी पत्रकार इरिना क्राभ्सोभालाई आश्चर्य लागेको थियो ।

रुसको तर्फबाट फ्रन्टलाइनमा खटिएर नेपाली युवाले युद्ध लडिरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा पढ्दा उनी आफैं चाहिँ स्पेनमा निर्वासित जीवन बिताइरहेकी थिइन् ।

मस्कोको चर्चित पत्रिका नोभया गजेटाकी विशेष संवाददाता इरिना त्यसरी फ्रन्टलाइनमा खटिनु कति जोखिमपूर्ण छ भन्नेमा राम्रोसँग जानकार थिइन् ।

युद्धमा होमिनुपर्छ भनेर सयौं रुसी युवा देश छाडेर हिँडिसकेका थिए । यस्तोमा कुनै रणनीतिक सम्बन्ध समेत नभएको मुलुकका युवा आएर युद्ध लडिरहेको सुन्दा उनलाई थप खोजी गर्न रुचि लागेको थियो ।

रुसी सञ्चारमाध्यमले यो विषयलाई नसमेटेकाले पनि फ्रन्टलाइनमा खटिएका नेपालीबारे समाचार लेख्नुपर्छ भन्ने इरिनालाई लाग्यो । सरकारको काम कारबाहीप्रति सधैँ आलोचात्मक खबरदारी गर्दै आएको पत्रिका नोभया गजेटालाई सरकारले युद्ध सुरु हुनुअगावै प्रतिबन्ध लगाइसकेको थियो ।

रुसी मामलाबारे जानकार लेखक जुगल भुर्तेलका अनुसार, अन्य अखबरहरुलाई सरकारले आफ्नो पक्षमा ल्याइसक्दा पनि नोभया गजेटा (नेपालीमा नयाँ पत्रिका) मात्र एउटा यस्तो पत्रिका थियो, जसले लामो समयदेखि बलियो प्रतिपक्षको भूमिका खेलिरहेको थियो । यसका प्रधान सम्पादक डिमिट्री मुरातफले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पुर्‍याएको योगदानप्रति सन् २०२१ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए ।

‘जब युद्ध सुरु हुने भयो, हाम्रो अखबारमा पूर्णतः प्रतिबन्ध लगाइयो । सन् २०२२ देखि रुसका स्वतन्त्र पत्रकारलाई देश छाड्न दबाब भयो’, इरिना भन्छिन्, ‘त्यसपछि हाम्रो टिमले लाटभियामा नोभया गजेटा युरोपा नामक अखबार दर्ता गरेर चलाइरहेको छ ।’

रुसी र अंग्रेजी भाषामा रहेको यसको अनलाइन संस्करणलाई पनि मस्कोले प्रतिबन्ध लगाइसकेको छ । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर आफूहरुले लेखेका सामग्रीहरू पढिने गरेको उनी बताउँछिन् । प्रतिबन्धित नोभया गजेटाको सामग्री रुसमा कसैले सामाजिक सञ्जालमा शेयर गरे अपराध ठहर गर्दै प्रशासनले जेल हाल्ने गरेको छ ।

‘मैले जति परिवारसँग कुरा गरेँ, उहाँहरुले रसिया–युक्रेन युद्धमा सामेल हुन जानुअघि कुनै जोखिम महसुस गरेको पाइनँ’, उनी भन्छिन्, ‘उनीहरुलाई एजेन्टले एक वर्ष काम गरे रुसी नागरिकता पाइने भनेका थिए । तलब पनि आकर्षक दिने वाचा गरेको पाएँ, जुन रकम रुसीले पनि पाएका थिएनन् ।’

युद्ध सुरु हुने वित्तिकै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले थुप्रै विषयहरूमा सेन्सर लगाएका थिए । ‘यदि तपाईं पत्रकार हुनुहुन्छ भने रुस–युक्रेन वार भनेर लेख्न पाउनुभएन, स्पेशल मिलिट्री अपरेशन (विशेष सैन्य कारबाही) भन्नुपर्ने भयो’, इरिना भन्छिन्, ‘यस्तोमा स्वतन्त्र पत्रकारिता गर्नेहरू निशानामा पर्ने भइहाले ।’

इरिना कार्यरत पत्रिकाले सन् १९९९ को चिचेन युद्धमा सरकारको विपक्षमा खबर छापेको थियो । त्यसबेलादेखि नै पुटिनसँग तनाव बढेको थियो । सन् २०२२ मा पनि युक्रेनसँग युद्ध सुरु हुने बित्तिकै नोभया गजेटाका पत्रकारहरू निशानामा परिहाले ।

यस्तोमा इरिना सहितका पत्रकारहरू निर्वासित भएर रुसमा भइरहेको गतिविधिबारे खबर पस्किरहेका थिए । ‘केही साथीहरुले देश नछाड्ने त्यहीँबाट समाचार लेख्ने सोच बनाए’, इरिनाले सुनाइन्, ‘तीमध्ये मेरा ३० जना साथीहरु अहिले रुसी जेलमा छन् ।’

निर्वासित रहेरै इरिनाले द्वन्द्वका क्रममा यौन हिंसामा परेका सयौं युक्रेनियन महिलादेखि निजी संवादमा युद्धबारे बोल्दा विदेशी नागरिकले भोगेको हैरानी बारेसम्म समाचार लेखिन् ।

‘जब मैले रुसी सेनाका तर्फबाट फ्रन्टलाइनमा आएर नेपालीले लडिरहेका छन् भन्ने खबर पढेँ, त्यसपछि यो विषयमा पनि खोजी गर्नुपर्छ भन्ने लाग्यो’, इरिना भन्छिन्, ‘र, मैले नेपाल आएर रुसी सेनामा गएका युवाका परिवारलाई भेट्ने निधो गरेँ ।’

नेपाल आउनुअघि उनले खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ग्लोबल इन्भेस्टिगेटिभ जर्नलिज्म नेटवर्क (जीआईजेएन) मा सम्पर्क गरिन् । जीआईजेएनमार्फत नेपालको खोज पत्रकारिता केन्द्र (खोपके) सँग समन्वय गरेर उनले हालै रुसी सेनामा गएका नेपालीको परिवार भेटिन् । र, फर्किनुअघि नेपाली पत्रकारहरुसँग पनि आफ्नो अनुभव सुनाइन् ।

‘कहिल्यै पूरा नहुने प्रलोभनमा नेपाली ठगिए’

युद्धको रेडजोनमा मर्ने बाँच्ने ५०/५० प्रतिशत हो । यस्तोमा धेरै खतरा भएको क्षेत्रमा किन नेपाली गए होलान् ? जब यो प्रश्न उनले रुसी सेनामा गएका परिवारका आफन्तहरुलाई सोधिन्, आफूले अनौठो जवाफ पाएको इरिना सुनाउँछिन् ।

‘उहाँहरूलाई विदेशबाट आएका नागरिकको रुपमा राम्रो व्यवहार गर्छ भन्ने लागेको रहेछ, आकर्षक पैसा पाइन्छ भन्ने लागेको रहेछ’, उनले भनिन्, ‘वास्तविकता चाहिँ अधिकांशले अहिलेसम्म पनि आफ्नो प्रियजनको मृत्यु भइसकेको पुष्टि हुने आधार पनि भेटेका छैनन् ।’

पहिले रुसी सेनामा काम गर्न जानेले तालिम केन्द्रमा बस्दा सैनिक पोशाक लगाएर पोष्ट गरेको भिडियोहरू हेर्दा उनीहरू लोभिएको हुनसक्ने उनले बताइन् । सैनिक पोशाकमा खिचिएका आकर्षक टिकटक भिडियो र उच्च तलबको लोभमा पर्दा नेपाली युवा मृत्युको मुखमा पुगेको उनको बुझाइ छ ।

पत्रकारका रुपमा इलिनाको काम नै रुसी नागरिकसँग कुरा गरेर त्यहाँको गतिविधिबारे सबैलाई सुसूचित गराउनु थियो । तर, स्थानीयसँगको संवादबाट गर्नबाट सरकारले उनलाई टाढा बनाइदिएको छ ।

‘मैले जति परिवारसँग कुरा गरेँ, उहाँहरूले रुस–युक्रेन युद्धमा सामेल हुन जानुअघि कुनै जोखिम महसुस गरेको पाइनँ’, उनी भन्छिन्, ‘उनीहरुलाई एजेन्टले एक वर्ष काम गरे रुसी नागरिकता पाइने भनेका थिए । तलब पनि आकर्षक दिने वाचा गरेको पाएँ, जुन रकम रुसीले समेत पाएका थिएनन् ।’

रुसी सेनामा भर्ना गराउनुअघि वाचा गरिएकामध्ये अधिकांश पूरा हुने खाल्का नभएको उनी बताउँछिन् । ‘त्यसको पुष्टि रुसी सेनामा मारिएका नेपालीले अहिलेसम्म पनि क्षतिपूर्ति नपाउनुले गरिसकेको छ, भनेअनुसार उनीहरुले तलब पनि पाएका थिएनन्’, इरिना थप्छिन्, ‘रुसी सेनामा गएकाको श्रीमतीले मेरो श्रीमान् जीवितै छन् कि बितिसके भन्ने जानकारी पाउँ भनेर गुहार गर्दा पनि सुनुवाइ भएको छैन ।’

रुसी सेनामा जानुअघि आफूहरूलाई भ्रम मात्र दिइएको बुझेकाले पनि त्यो अनुभव अरुलाई नसुनाउँदा थप नेपाली रुस पुगेको उनको बुझाइ छ । ‘यसबारे धेरैभन्दा धेरै सचेतना फैलाउनुपर्छ, ताकि सबैले त्यहाँ कति जोखिम छ भन्ने बुझुन्’, इरिना भन्छिन् ।

रुसी सेनामा कति नेपाली छन् भन्ने यकिन विवरण छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार, २६६ जनाका परिवारले हालसम्म रुसी सेनाबाट फिर्ता ल्याइदिन भन्दै निवेदन दिएका छन् ।

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाका लागि भन्दै अभियान चलाइरहेकी कृतु भण्डारी आफूहरुसँग ६२० जना नेपालीको विवरण रहेको बताउँछिन् । मस्कोबाट निर्वासित पत्रकार इरिना भने एक हजार नेपाली युवा रुसी सेनामा कार्यरत रहेको आफूले बुझेको सुनाउँछिन् ।

‘रुसी सरकारले कति नेपाली कार्यरत् छन् भन्ने सूचना नदिनुको कारण उनीहरूलाई यसबारे नभन्दै फाइदा हुने भएकाले हो’, उनी थप्छिन्, ‘विदेशी नागरिकलाई फ्रन्टलाइनमा भर्ना गराएर प्रयोग गर्न पाइरहेका छन् भने धेरै विदेशी छन् भन्नै परेन । नबोलेपछि क्षतिपूर्ति पनि दिनु परेन, जे गर्न पनि स्वतन्त्रता हुने भयो ।’

बेलायती समाचार संस्था बीबीसीका अनुसार, अहिले रुसको जेलमा रहेकाहरुलाई पनि रुसले सैनिकका रुपमा प्रयोग गरेको छ । दशौं हजार रुसी सैनिक मारिएपछि वाग्नर ग्रुपका प्रमुखले आफैं रुसको जेलमा पुगेर युद्धमा सहभागी हुन भनेको बीबीसीको रिपोर्टमा उल्लेख छ ।

६ महिनासम्म युद्ध लड्न जीवितै रहे उनीहरूलाई सबै आरोपबाट मुक्त गरेर छाडिने उनले घोषणा गरेका थिए । ‘यो नीतिपछि फ्रन्टलाइनमा खटिएकाहरु थप जोखिममा छन्, फ्रन्टलाइनमा खटिएका अपराधीले हिंसा गरेको भिडियो प्रमाणहरु पनि साथीहरुले बाहिर ल्याएका छन्’, उनी भन्छिन्, ‘पहिले सरकारले त्यो गलत हो भनेको थियो, अहिले कुनै प्रतिक्रिया दिएको छैन ।’

त्यस्ता अपराधी बाँचेर बाहिर आउँदा परिवारमा फेरि अर्को अपराध गरेका घटनाहरु पनि सार्वजनिक भएका छन् । अहिले नेपाली कार्यरत् रहेका कतिपय पोष्टमा त्यस्ता कैदीहरुले युद्धको नेतृत्व गरिरहेको समेत सार्वजनिक भएका छन् । ‘यस्तोमा रुसी सेनामा जाँदाको दुःखद् पाटोबारे थप प्रचार हुन जरुरी देख्छु’, इरिना भन्छिन् ।

निर्वासित पत्रकारको जीवन

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक अलेक्सी नभाल्नी जेलमै मारिए । इन्टरनेश्नल फेडरेसन अफ जर्नलिस्ट (आईएफजे) का अनुसार, इरिना कार्यरत् नोभया गजेटका खोज पत्रकार एलिना कोस्यूचेन्को र इरिना बेब्लोयालाई पनि निर्वासनमै रहेका बेला २०२२ अक्टोबरमा विष खुवाइएको आशंका छ ।

इरिना पनि आफ्ना तीन साथीहरुलाई विष सेवन गराउने प्रयास भएको सुनाएकी छन् । यद्यपि, उनीहरू बच्न सफल भएका छन् । अहिले रुसमा ‘फरेन एजेन्ट ल’ ल्याइएको छ, जसमा कुनै पनि व्यक्तिलाई विदेशबाट पैसा आउने वित्तिकै एजेन्ट घोषणा गरिन्छ ।

नोबेल पुरस्कर पाएका उनका सम्पादकलाई पनि रुसी सरकारले विदेशी एजेन्ट घोषणा गरिसकेको छ । यो घोषणापछि पत्रिकालाई विज्ञापन दिन वा अरु कुनै किसिमको सहयोग गर्न पनि प्रतिबन्ध लाग्छ ।

‘युद्ध सुरु हुनुअघि नै निर्वासित म चाहिँ अहिलेसम्म सुरक्षित छु, तर सधैँ होइन’, उनी भन्छिन्, ‘सुनेको छु, यो वर्ष मलाई पनि उनीहरुले विदेशी एजेन्ट घोषणा गर्न खोज्दैछन् । त्यो भयो भने भोलिका दिन झन् गाह्रो हुनसक्छ ।’

निर्वासित भएर आफ्नो मुलुकमा भइरहेको गतिविधिबारे समाचार लेख्न सहज हुने कुरै भएन । ‘तपाईं तपाईंको देशमा एक/दुई वर्ष बस्नुभएन भने त्यहाँको घटनाक्रमलाई अलि फरक तरिकाले हेर्नुहुन्छ’, उनी भन्छिन्, ‘किनभने त्यहाँ के भइरहेको छ र आमनागरिकले के महसुस गरिरहेका छन् भन्ने तपाईंले महसुस गर्न सक्नुहुन्न ।’

पत्रकारका रुपमा इलिनाको काम नै रुसी नागरिकसँग कुरा गरेर त्यहाँको गतिविधिबारे सबैलाई सुसूचित गराउनु थियो । तर, स्थानीयसँग संवाद गर्नबाट सरकारले उनलाई टाढा बनाइदिएको छ ।

‘अहिले पनि विभिन्न माध्यमबाट कुरा गरिरहेको त हुन्छु, तर बाहिर बस्दा सूचना लिन स्वाभाविक रुपमा सहज हुँदैन’, उनले अनुभव सुनाइन्, ‘यद्यपि, कतिपय गोप्य तरिकाले मसँग सम्पर्क गर्छन्, सूचना दिन्छन् ।’

रुसमा भइरहेको गतिविधिबारे स्वतन्त्र रुपले समाचार लेख्दा उनलाई पुटिन समर्थकहरुले मन पराएका छैनन् । उनीहरुले हाकाहाकी ‘विदेशी पैसा खाएर लेखेको’ भनिदिन्छन् । तर, जो शान्तिको पक्षमा छन्, उनीहरुले पढेर धन्यवाद दिन्छन् । ‘तिम्रो कामको तारिफ गर्छु’ भन्दै सन्देश पठाउँछन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?