+
+
वर्कसप विष्फोट :

बारामा ३ जनाको ज्यान जाने गरी के पड्किएको थियो ? निष्कर्षमा पुगेन प्रहरी

बारामा तीन जनाको ज्यान जाने गरी १४ फागुनमा सिलिन्डर पड्किएको प्रहरीले बताएको थियो । तर मिसिल हेर्दा कवाड संकलकहरूले ल्याएको ‘शंकास्पद वस्तु’ विष्फोट भएको देखिन्छ । शंकास्पद वस्तुको स्रोतसम्म नपुगी प्रहरीले प्रतिवेदन बुझाइसकेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ जेठ ११ गते २०:०६
निजगढ नगरपालिका–७ बारामा रहेको रोहित वर्कसप ।

११ जेठ, काठमाडौं । १४ फागुन २०८० को मध्याह्न १२ बजेतिर निजगढ नगरपालिका–७ बारामा रहेको रोहित वर्कसपमा दुई जनाले सिलिन्डर आकारको फलामको वस्तु सिटी सफारीमा राखेर ल्याए ।

निजगढ–९ मा कवाड कारखाना चलाउँदै आएका रमेश जयसवाल र उनका कर्मचारी राकेश जयसवालले त्यसको मुखमा रहेको पित्तल निकाल्न नसकेको भन्दै वर्कसपमा लिएर आएका थिए ।

एक फिट लम्बाई र १२ किलो तौल भएको फलामको टुप्पोमा रहेको पित्तल निकाल्न वर्कसप सञ्चालक रेशम जर्गा मगरले ग्यास वेल्डिङ प्रयोग गरिरहेका थिए । त्यही बेला ठूलो आवाजसहित विष्फोट भयो ।

छर्रा लागेर गम्भीर घाइते वर्कसप सञ्चालक मगर, कर्मचारी २० वर्षीय ऋतु रजक र कवाड कारखानामा काम गर्ने ३५ वर्षीय राकेश जयसवालको उपचारका क्रममा मृत्यु भयो । वर्कसप मेकानिक ३४ वर्षीय भारतीय नागरिक फिरोज देवान, निजगढ–५ का ४६ वर्षीय सूर्यबहादुर थापा, अरबिन्द शाहलगायत घाइते भए ।

अनुसन्धानका क्रममा प्रहरीले महालक्ष्मी इन्टरप्राइजेजको नाममा कवाड कारखाना सञ्चालन गर्दै आएका ४० वर्षीय राज भनिने रमेशप्रसाद जयसवाल, बाराको निजगढ–९ का २९ वर्षीय टिकाराम पाख्रिन, ४० वर्षीय वासु तामाङ, सर्लाहीका ४० वर्षीय शिवशंकर शाह र ४७ वर्षीय विल्टु भनिने विल्ट महतोलाई पक्राउ गर्‍यो ।

उनीहरू विरुद्धको ज्यानसम्बन्धी कसुरको मुद्दा जिल्ला अदालत, बारामा विचाराधीन छ । तर रोहित वर्कसपमा के पड्किएको हो ? शक्तिशाली विष्फोट भएको वस्तुको स्रोत के हो ? भन्नेतिर प्रहरीले अनुसन्धान नै गरेको छैन ।

‘परिवार यही वर्कसपबाट चलेको थियो, बुबा पनि रहनुभएन । सबै तहनसहन भयो’, वर्कसप सञ्चालक रेशमका छोरा रोहित भन्छन्, ‘यस्तोमा पड्किएको कुरा कहाँबाट कसरी आयो भन्ने प्रश्नको जवाफ न प्रहरीले दियो र सरकारी वकिलको अभियोजनमा कतै खुलाइएको छ ।’

ट्रकबाट चालक र सहचालकले चोरेको वस्तु

पड्किएको वस्तु लिएर रोहित वर्कसपमा पुगेका कवाड सञ्चालक रमेश जयसवालले प्रहरीसँग दिएको बयान अनुसार १४ फागुनमा टिकाराम पाख्रिन र अर्का एक जना महिला मोटरसाइकलमा आएर आफूहरुसँग २ क्विन्टल फलाम रहेको बताएका थिए ।

‘प्रतिकिलो ४५ रुपैयाँका दरले बिक्री गर्ने कुरा भएको थियो । पछि कारखानामा काम गर्ने राकेश जयसवाल सिटी रिक्सा लिएर उनको घर पुगेर फलाम ल्याएका थिए’, टिकारामले भनेका छन्, ‘फलाम ल्याएर हेर्दा १ क्विन्टल २८ किलो भएको थियो, त्यसवापत उनले मसँग ६ हजार २ सय रुपैयाँ लगेका थिए ।’

तीमध्ये सिलिन्डर आकारको वस्तुको मुखमा पितल जडान रहेकाले हम्मरले हान्दा पनि नखुलेपछि निकाल्नलाई वर्कसपमा गएको उनको भनाइ छ । प्रहरीले रमेशको बयानपछि टिकाराम पाख्रिनलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पाख्रिन घटनाको चार महिनाअघि ना ५ ख ९७२७ नम्बरको ट्रकममा सहचालकको रूपमा काम गर्दै आएका थिए ।

‘त्यो ट्रकमा प्रायः कवाड सामानहरू लोड हुने गर्छ, स्टिल कम्पनीमा अनलोड गर्ने बेला केही फलामको टुक्राहरू गाडीमै रहने गर्थ्यो ’, उनी भन्छन्, ‘त्यसरी रहेको फलाम चालक वासु तामाङ र मैले घरमा लगेर राख्थ्यौं ।’

गाडीबाट निकालेको फलाम जम्मा गरेर धेरै भएपछि बिक्री वितरण गर्ने गरेको उनले भनेका छन् । सिलिन्डर जस्तो वस्तु धनुषाको वीरेन्द्र बजारमा रहेको न्यू स्क्रेप फर्मको सामानबाट निकालेको उनले सुनाएका छन् ।

‘करिब ३८ टन फलामको टुक्रा अशोक स्टिलमा पुर्‍याउनका लागि ट्रकमा लोड भएको थियो । सामान लिएर जाँदा निजगढ बजारमा म र ड्राइभरले करिब ५० किलो जति निकालेका थियौं’, उनले प्रहरीसँग भनेका छन्, ‘त्यही बेला सिलिन्डर जस्तो वस्तु पनि निकालेका थियौं ।’

पछि बैंकमा किस्ता तिर्नका लागि पैसा चाहिएका बेला तामाङसँग सल्लाह गरेर मुखमा पित्तल जडान गरिएको वस्तुसहित १३८ किलो फलाम बिक्री गरेको उनले स्वीकारेका छन् ।

ट्रकका चालक वासु तामाङले पनि आफूले बिक्री गर्न भने पनि त्यो वस्तु कसरी विष्फोट भयो भन्ने थाहा नभएको खुलाएका छन् ।

‘त्यो न्यू स्क्रेप फर्मबाट ल्याएको फलाम थियो । तर विष्फोटक पदार्थ हो भन्ने थाहा थिएन’, उनले भनेका छन्, ‘मैले घटनापछि मात्रै विष्फोटक पदार्थ रहेछ भन्ने थाहा पाएको हुँ ।’

उनको बयानका आधारमा पक्राउ परेका गणेशमान चारनाथ नगरपालिका–४, धनुषास्थित न्यू स्क्रेप फर्मका सञ्चालक शिवशंकार साहले विष्फोट भएको सिलिन्डर जस्तो वस्तु आफ्नो फर्ममा कवाड सामग्री संकलन गरेर ल्याउने बिल्टु भन्ने बिल्ट महतोले २८ मंसिर २०८० मा ल्याएर बिक्री गरेको खुलाएका थिए ।

‘फलामको जस्तो देखिने सिलिन्डर आकारको त्यो वस्तु अन्दाजी १ फिट जति लामो र १२ किलो तौल भएको थियो’, उनले भनेका छन्, ‘त्यो वस्तु मैले महतोसँग प्रतिकिलो ५० रुपैयाँका दरले ६ सय रुपैयाँ तिरेर किनेको थिएँ ।’

सामान धेरै भएपछि अशोक स्टिलमा बिक्रीका लागि पठाउँदा बीचमा चोरी भएको समेत प्रहरी आएपछि मात्र आफूले थाहा पाएको उनले भनेका छन् । विष्फोट भएको सामान लिएर आउने महतोले भने आफूले गाउँघरमा गएर कवाडको सामान संकलन गरेर बिक्री गर्ने गरेको खुलाएका छन् ।

‘प्रहरीले घरमा आएर सोधपुछ गरेपछि मात्र विष्फोट भएको घटनाबारे थाहा पाएको थिएँ, त्यो समान मैले गाउँमा कवाड संकलन गर्ने क्रममा फेला पारेको थिएँ’, बिल्टु भन्छन्, ‘तिनघरे टोलमा जाँदा एक जना १२/१३ वर्षको बच्चासँग ३ सय रुपैयाँमा खरिद गरेर ल्याएको थिएँ ।’

अनुसन्धानका क्रममा उनले कमल परियारका छोरा १३ वर्षीय सरोज परियारसँग त्यो समान किनेको फेला परेको थियो । प्रहरीले गरेको सोधपुछका क्रममा कमलले गाउँभन्दा उत्तरतिर रहेको खोला बगरमा घुम्न गएका बेला बालुवामा गाडिएको अवस्थामा फलाम जस्तो वस्तु फेला पारेको खुलाएका छन् ।

‘कवाड लानेलाई बेचेर आएको पैसाले चटपटे खाने भनेर घरमा लिएर आएर झाडीमा लुकाएर राखेको थिएँ’, उनले भनेका छन्, ‘पछि कवाड आएर गाउँबाट किताब लाँदै गरेको देखेपछि मैले फलाम रहेको बताएको थिएँ ।’

उनले लैजान्छु भनेपछि आफूले बोरामा हालेर फलाम ल्याएको उनले भनका छन् । त्यसवापत विल्टुले ३ सय रुपैयाँ दिएको परियारले बताएका छन् । ‘त्यो पैसाले चटपटे र फ्रुटी खाएको थिएँ’, उनले भनेका छन् ।

अदालतले सबैलाई धरौटीमा छाड्यो

प्रहरी अनुसन्धानका आधारमा जिल्ला अदालत बारामा दर्ता मुद्दाबारे सुनवाइ हुँदा न्यायाधीश जगन्नाथ पौडेलको इजलासले ‘थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने’ अवस्था नदेखिएको भन्दै धरौटीमा छाड्न आदेश दिएको थियो ।

आदेश अनुसार पाख्रिन, तामाङ, शाह र महतो एक लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् । तर मृतक मगरका छोरा रोहित भने तीन जनाको ज्यान गएको घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्न नसकेको बताउँछन् ।

‘कवाडीको सामान उठाउने र ओसारपसार गर्ने व्यक्तिसम्म विष्फोटक पदार्थ कसरी पुग्न सक्छ ?’, उनले प्रश्न गरेका छन्, ‘तीन जनाको ज्यान जाने गरी भएको विष्फोटलाई किन र कसरी बेवारिसे फेला पारेको अज्ञात वस्तु घोषणा गरियो ?’

प्रहरीले अदालतमा पेस गरेको घटनास्थल मुचुल्कामा वर्कसपबाट एउटा टुक्रा किट जस्तो देखिने वस्तुमा HE (1F0105) लेखिएको फेला परेको भनिएको छ । नेपाली सेनाका एक पूर्वअधिकृतका अनुसार घटनास्थलका तस्वीर र मुचुल्कामा उल्लेख भएको विवरण हेर्दा विष्फोटक पदार्थ पड्किएको जस्तो देखिन्छ ।

‘एचई भनेको हाई एक्सप्लोसिभ हो, बच्चाले बगरमा भेट्टाएको हो भने द्वन्द्वकालको समयमा अलपत्र परेको विष्फोटक पदार्थ पनि हुनसक्छ’, उनले भने, ‘वर्कसपमा ल्याएर घनले हान्दा वा फुटाउन खोज्दा त्यसले डेटोरनेटरको काम गरेर विष्फोट भएको जस्तो देखिन्छ ।’

कतिपयले भने नेपाली सेनाको समन्वयमा बनिरहेको तराई–मधेश–काठमाडौं द्रुतमार्गको काममा प्रयोग भएको विष्फोटक पदार्थ कवाडसम्म पुगेर विष्फोट भएको हुनसक्ने आशंका गरेका छन् । तर प्रहरी अनुसन्धान यो विषयतिर प्रवेश नै गरेको देखिँदैन ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?