
News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या ५२८ पुगेको छ भने ११ भदौसम्म ११४ जनामा हैजा पुष्टि भएको छ।
- पर्साकै पोखरिया नगरपालिकामा ८ जनामा हैजा संक्रमण पुष्टि भएको छ र एक जनालाई वीरगञ्ज पठाइएको छ।
- हैजाबाट बच्न शौचालयमा मात्र दिसापिसाब गर्ने, हात धुने र पानी उमालेर खाने सुझाव दिइएको छ।
११ भदौ, काठमाडौं । वीरगञ्जमा झाडापखाला र हैजाका लक्षण लिएर अस्पताल पुग्ने संख्या ५ सय नाघेको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले बुधबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार झाडापखाला र हैजा संक्रमितको संख्या ५२८ जना पुगेको जनाएको हो ।
बुधबार साँझ ६ बजेसम्म ११४ जनामा हैजा संक्रमित पुष्टि भएकोमा बिहीबार १८ नयाँ संक्रमित थपिएका हुन् । गत २४ घण्टामा नै १०६ जना नयाँ बिरामी थपिएका छन् ।
तथ्यांक अनुसार आईसीयूमा ३५, एचडीसीयूमा ४ र वार्डमा २३२ जना झाडापखाला र हैजाका बिरामी उपचाररत छन् । गत शुक्रबार यता हालसम्म २५७ जना झाडापखाला र हैजाका बिरामी उपचारपछि अस्पतालहरूबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।
महाशाखाका अनुसार आरडीटी परीक्षणमा नारायणी अस्पतालमा ४७, तराई अस्पतालमा ४३, नेसनल मेडिकल कलेजमा १७ जना झाडापखालाका बिरामीमा हैजा संक्रमण पुष्टि भएको हो ।
यसैगरी, वीरगञ्ज हेल्थ केयर ५ र मंगलम प्याथोलोजि र भवानी अस्पताल गरिएको आरडीटी परीक्षणमा समान ४ जनामा हैजा संक्रमण पुष्टि भएको छ । यसैगरी अली अर्थो अस्पताल र एड्भान्स सेन्ट्रल अस्पतालमा गरिएको परीक्षणमा समान २/२ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार मंगलबार झाडापखाला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जका विभिन्न १६ वटा अस्पतालमा अहिले पनि झाडापखाला र हैजा संक्रमित गरेर २७१ जना बिरामी उपचाररत रहेको महाशाखाले जनाएको छ ।
पर्साकै पोखरिया नगरपालिकामा पनि ८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । बुधबार ३ जना र बिहीबार थप ५ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको पोखरिया अस्पतालका मेसु डा. आनन्द राैनियारले जानकारी दिए । ८ जनामध्ये एक जना संक्रमितलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ भने बाँकीको पोखरिया अस्पतालमै उपचार भइरहेको छ ।
आजै बाराको कलैया अस्पतालमा एक जनामा हैजा संक्रमण पुष्टि भएको छ । गत आइतबार झाडापखालाको लक्षण देखिएर अस्पतालमा भर्ना भएका एक पुरुषमा बिहीबार संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिए ।
विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ । उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् । हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ । जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ ।
विज्ञ अनुसार केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ ।
ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ । हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका मांसपेसी बाउँडिने, बान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् ।
गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने विज्ञ बताउँछन् ।
यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजनको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो ।
हैजाबाट बच्न शौचालयमा मात्रै दिसापिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन पानीले हात धुने, खाना बनाउनुअघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने विज्ञको सुझाव छ ।
प्रतिक्रिया 4