
२३ असोज, काठमाडौं । नेपालमा हैजाको संक्रमणको प्रकोप तीव्र भएपछि सरकारले पर्सा र बाराका उच्च जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरू गर्न लागेको छ ।
पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिन लागिएको हो । परिवार कल्याण महाशाखाका अनुसार पर्सामा २६ असोजदेखि र बारामा २९ असोजदेखि अभियान सुरु हुनेछ ।
हैजा फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) सँग खोप मागेको थियो । मुखबाट दिइने हैजाविरुद्ध इयूभिकोल–एस खोप १० लाख १८ हजार मात्रा प्राप्त भएको छ ।
सरकारले परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगका खोप दिन लागेको हो ।
प्रतिकार्य स्वरूप सञ्चालन गर्न लागिएको हैजा खोप एक मात्रा मात्रै दिइने परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।
६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो । त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ ।
करिब डेढ महिनाको अवधिमा १ हजार ६८५ जनामा संक्रमण पुष्टि भइसकेको छ । अहिले पनि पर्सामा हैजा नियन्त्रण हुन सकेको छैन ।
नेपालको प्रस्ताव स्वीकृत भएपछि खोप प्राप्त भएको डा. लालले बताए । उनका अनुसार इयूभिकोल–एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो । नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ ।
मुखबाट दिइने खोप हो । यसको एक मात्रा मात्रै दिइने छ । यसभन्दा अगाडि पनि काठमाडौं उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो । डा. लालका अनुसार खोप खुवाएको दुई हप्तापछि खोपको प्रभावकारीता ८२ प्रतिशत देखिएको छ ।

‘पर्सा र बारा जिल्लामा फैलिएको हैजाको महामारी र हालैको अविरल वर्षपछि बाढीले ती क्षेत्रमा सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेका हौं,’ डा. लालले भने ।
पर्सा जिल्लामा ६ लाख ५२ हजार १२९ र बाराका ३ लाख ६३ हजार ९३१ गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ । पर्सामा २६ असोजदेखि र बारामा २९ असोज देखि सुरू भई कात्तिक महिनाभर खोप अभियान सुरू हुनेछ ।
खोप वितरण विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक स्थानहरूमा हुनेछ र छुटेका मानिसमा पनि घरघरमा पुगेर खुवाइने डा. लालले बताए ।
हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ । हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ । जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ ।
केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।
डा. लाल भन्छन्, ‘खोप उपचारको विकल्प होइन, तर प्रकोप नियन्त्रणमा सहयोगी भुमिका मात्रै खेल्नेछ । तर हैजा नियन्त्रणका लागि सरसफाइ नै पहिलो उपाय हो ।’
हैजा विरुद्धको खोप खाइसकेपछि पनि हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वच्छ खाना खाने, शैलाचालयमा मात्रै दिसा पिसाब गर्ने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपाउनुपर्ने डा. लाल बताउँछन् ।

हैजा विरुद्धको खोप कस्तो प्रकारको खोप हो ?
हैजा रोग विरुद्धको खोप मुखबाट खुवाइने खोप हो । यो खोप सुरक्षित र प्रभावकारी छ । खोप तयारी झोलको रूपमा प्लाष्टिकको उपलब्ध हुन्छ । यस खोप अभियानका लागि नेपालमा उपलब्ध हुने खोप इयूभिकोल–एस हो । यो खोप विश्व संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो । नेपालको नियामक निकाय औयषधि व्यवस्था विभागबाट अनुमति प्राप्त छ ।
खोप खान किन जरूरी हुन्छ ?
हैजा रोगबाट सुरक्षित हुन खोप खान जरूरी हुन्छ । साथै हैजाको महामारी भएका स्थानबाट अन्य स्थानमा रोग फैलिनबाट रोक्नका लागि खोप खानुपदर्छ ।
खोप कति मात्रा खुवाइन्छ ?
प्रतिकार्य स्वरुप सञ्चालन गरिन लागेको हैजा विरुद्धको खोप यस अभियानमा एकपटक दिइनेछ ।
खोप अभियान कहाँ सञ्चालन हुँदैछ ?
खोप अभियान पर्सा जिल्लाको सबै स्थानीय तह र बारा जिल्लाका कलैया उपमहानगरपालिका, जितपुुर –सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाँउपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहमा सञ्चालन हुँदैछ ।
कुन उमेर समूहलाई दिइन्छ ?
यो खोप एक वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिहरुले खानुपर्दछ । गर्भवती महिला र स्तनपान गराइ रहने महिलाई पनि खोप दिन हुन्छ । कुपोषण भएको, रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति एचआइभी संक्रमण भएको वा एड्स भएको व्यक्तिलाई पनि खोप दिन हुन्छ ।
नियमित खोप वा अन्य खोपसँगै यो खोप खान हुन्छ कि हुँदैन ?
हुन्छ । नियमित खोप तथा अन्य खोपसँगै हैजा विरुद्धको खोप खान हुन्छ ।
खोप कसले खान हुँदैन ?
यो खोप एकवर्ष भन्दा कम उमेरका बालबालिले खानु हुँदैन । ज्वरो आइरहेको, झाडापखाला भएको वा कुनै सिकिस्त बिरामीको भएको अवस्थामा खोप दिन हुँदैन । तर निको भएपछि खोप दिनुपर्छ । विगतमा खोप खुवाउँदा वा खोपमा भउको कुनै तत्वको कारणले रियाक्सन भएको भए स्वास्थ्यकर्मीको वा चिकित्सकको परामर्शपछि मात्र खोप दिन सकिन्छ ।

खोप लिएपछि के के असर देखिन सक्छन्?
खोप खाएपछि अत्यन्त्रै न्यून संख्यामा निम्न सामान्य असरहरू देखिन सक्छन् । तर यी असरहरू प्रायः आफैं ठीक हुन्छ ।
- पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने ।
- ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू दुख्ने, खाना खान मन नलाग्ने, थाकाइ लाग्ने ।
- खोकी लाग्ने, घाँटी दुख्ने, मुखमा घाउ आउने ।
- जिउ चिलाउने ।
खोप अभियान केन्द्र कहाँ कहाँ सञ्चालन गरिन्छ ?
- महानगर/उपमाहनगर/नगरपालिका/गाउँपालिका कार्यालय र वडा कार्यालय ।
- सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था र अस्पताल ।
- विद्यालय, कलेज तथा अन्य शिक्षण संस्था ।
- नियमित खोप सेवा सञ्चालन गर्न बाह्य खोप केन्द्र ।
- मन्दिर, मजिस्द, बसपार्क, नेपाल भारतको सिमानाका मुख्य नाका ।
- उद्योग, कारखाना, इटाभट्टा जस्ता अन्य स्थानहरू ।
खोप सञ्चालन हुँदाको दिन खोप लिन छुट भएमा के गर्ने ?
आफूलाई पायक पर्ने स्थानको खोप केन्द्रबाट खोप लिन छुटेमा नजिकैको अर्को खोप केन्द्रमा गएर खोप लिनु पर्दछ ।
प्रतिक्रिया 4