+
+

माओवादीले नाकले सास फेर्न छाड्यो

हामीले पहिले भनेका थियौं कि सर्वहारा वर्गको नेतृत्वमा जातिहरुको आत्मनिर्णयको अधिकार हुनुपर्छ । तर, यसमा सर्वहाराको नेतृत्व भन्ने प्रश्न चाहिँ हरायो । जातिको मात्र कुरा बाँकी रहेपछि यसलाई मैले के भन्ने गरेको छु भने पार्टीले नाकले सास फेर्न छोड्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २३ गते १९:१५

राम कार्की

म ०६४ को संविधानसभा चुनावमा ताप्लेजुङबाट लडें । त्यहाँ मेरा बाउ, बाजे साखा सन्तान कोही गएको ठाउँ होइन । मैले दुई दिनजति घुम्न पाएँ । लिम्बुहरुको घना बस्ती हो ताप्लेजुङ । कार्की परिवार २०/२५ घर थियो ।ram-karki

मैले दोस्रो मत ल्याएँ । तर, मैले डेढ सय बढी मत ल्याएको भए जित्थेँ । लिम्बु उम्मेदवारलाई पछि पार्दै दोस्रो भएँ । चुनाव जित्नु र हार्नुभन्दा पनि मैले धेरैको मन जितेँ । यसले के देखाउँछ भने तल जनतामा जातीय कुरा केही छैन ।

ओखलढुंगामा जन्मिएको एउटा कार्कीलाई कहाँको, कुन जातिको केही नभनी जनताले मत दिए । यो लिम्बु होइन, हाम्रो होइन भनेनन् । अहिले पनि जनताको बीचमा जातीय कुरा छैन । बरु यो जातीय कुराले बिगार्छ कि भन्ने डर मात्रै छ ।

संघीयतामा ठालुहरुको हालीमुहाली हुन्छ

स्वभाविकरुपमा संघीयतामा जाँदा सम्वन्धित जातिका ठालूहरुको अलिकति हालीमुहाली हुन्छ । त्यसो नहोस् भन्नका लागि वर्गको प्रश्नलाई पनि सँगै लैजानुपर्छ । जातिको कुरा गर्नु ठिकै हुन्छ तर, मान्छेको परिचय बहुल छ । उसको सांस्कृतिक परिचय छ । सभ्यताको परिचय छ ।

धेरैको दिमागमा क्षेत्र मात्र, इलाका मात्र, थर मात्र, आफ्नो गोत्रमात्र आउँला कि भन्ने खतरा बढेर गयो । नेपाल भन्ने नै दिमागमा छैन कि भन्ने डर लाग्छ कहिलेकाँहि

एकदमै बुझ्नु पर्ने यथार्थ के छ भने जनजातिका बाटाटाठाहरुले जसलाई आर्यन भन्नुहुन्छ, ती आर्यन भन्ने नेपालीलाई आर्यहरुबाटै चलेको मुलुक भारतमा जाँदा कस्तो व्यवहार हुन्छ ? यहाँको क्षेत्री बाहुन दिल्ली पुग्छ, त्यसलाई भारतीय आर्यनहरुले बहादुर र कान्छा भन्छन् । हाम्रो आर्यन भनेर स्वीकार गरेको पाइँदैन ।

त्यस्तै जसलाई हामीले भोट बर्मेली भन्छौं, चीन जाँदा उसलाई तिमी त हाम्रै जस्तै भनेर स्वागत गर्दैनन् । त्यो आत्मीयता देखिँदैन । त्यसैले सभ्यताको, जातिको, भाषाको आफ्नो इतिहास छ । तर, त्यो हुँदाहुँदै पनि यसभित्र नेपालीपन छ । यो अन्यत्र भन्दा फरक छ । यसलाई बिर्सन हुँदैन ।

कम्युनिष्टले जातीय हैन, वर्गको कुरा गरौं

कम्युनिष्टहरुले पहिचानको राजनीतिक गर्ने होइन । अरुले गरिरहेका छन्, गर्न दिउँ । हामीले त वर्गको कुरा गर्ने हो । आर्थिक सम्बृद्धिको कुरा गर्ने हो ।

कतिपय साथीहरुले जनजाति भएका कारण, दलित भएका कारण पद पाएका छन् । उनीहरुलाई यो कुरा चित्त नबुझ्न सक्छ । तर, मेरो यो विचार मार्क्सवादसम्मत छैन भने मलाई सावित गरिदेऊ ।

हामीले पहिले भनेका थियौं कि सर्वहारा वर्गको नेतृत्वमा जातिहरुको आत्मनिर्णयको अधिकार हुनुपर्छ । तर, यसमा सर्वहाराको नेतृत्व भन्ने प्रश्न चाहिँ हरायो । जातिको मात्र कुरा बाँकी रहेपछि यसलाई मैले के भन्ने गरेको छु भने पार्टीले नाकले सास फेर्न छोड्यो

हामीले अहिले यहाँका जातिहरुलाई पहिचान दिन जाँदैछौं भने कमसेकम आर्थिकरुपमा पनि वर्गीकरण गरौं । अति सम्वृद्ध, सम्वृद्ध र सम्वृद्ध उन्मुख भनेर वर्गीकरण गरौं र भोलि राज्यले आरक्षण दिँदा त्यो सम्वृद्ध उन्मुखलाई दिउँ ।

जसलाई हामी ताम्सालिङ भन्छौं, त्यहाँ सम्वृद्ध उन्मुखलाई दिँदा तामाङहरुले नै बढी पाउँछन् । शोसकहरु बढी बाहुन क्षेत्री नै हुन्छन् भन्दा स्वीकार गर्छन् । तर, बाहुन क्षेत्री सबै शोषक भन्दा कर्णालीको गरिव क्षेत्री, महाकालीको गरिव बाहुन पनि शत्रुको कित्तामा पुग्छन् ।

लोपन्मुख जातिहरु छन्, जोभित्र वर्ग नै छैन । उनीहरु र दलितको हकमा राज्यले १२ कक्षासम्मको शिक्षा निःशुल्क दिनुपर्छ । जस्तो, बच्चा स्कुल अनिवार्य पठाउनुपर्ने र तीन हजार पाउने व्यवस्था गरौं । उनीहरुको भाषाको हकमा यसरी अगाडि बढाऔं, अरुले पनि पढ्छन् ।

महत्वपूर्ण र बिर्सन नहुने कुरा हामीले पहिले भनेका थियौं कि सर्वहारा वर्गको नेतृत्वमा जातिहरुको आत्मनिर्णयको अधिकार हुनुपर्छ । तर, यसमा सर्वहाराको नेतृत्व भन्ने प्रश्न चाहिँ हरायो । जातिको मात्र कुरा बाँकी रहेपछि यसलाई मैले के भन्ने गरेको छु भने पार्टीले नाकले सास फेर्न छोड्यो ।

नाकले सास फेर्नु भनेको पहिले वर्गको कुरा गर्नु । त्यसको विस्तार रुपमा जातिहरुको आत्मनिर्णयको अधिकार भनिएको हो । मूल कुरालाई छोडिदिने ? मजदुरको कुरा छैन, किसानको कुरा छैन । मान्नुस्, भोलि यादवहरुले, साहहरुले र मगरहरुले प्रतिनिधित्व गर्न पाउने भए भने को, कुनचाहिँ मगर ? कुन चाहिँ वर्गको यादवले ?

हिजो राजासँग मिलेर, पछि कांग्रेससँग मिलेर अनि उसका छोराहरु एनजीओमार्फत एमालेसँग मिलेर र पछि हामी माओवादीसँग मिलेर जुन एलिटहरु र सम्भ्रान्तहरु छन्, उनीहरुले मात्रै जात र समावेशीका नाममा राइँदाइँ गरिरहने स्थितिको अन्त्य हुनुपर्छ । यसका लागि वर्गलाई पहिले समाउनुपर्छ । जुन अहिले माओवादीले छोडेको छ ।

तपाईले सर्वहाराको नेतृत्वमा जातीय मुक्तिको कुरा गर्नुहुन्छ, एकदम मिलेको देखिन्छ । जब सर्वहाराको नेतृत्व भन्ने छोडिदिनुहुन्छ, त्यसपछि गडबड सुरु हुन्छ । सर्वहाराको नेतृत्व हटेको स्थितिमा जातिको मुक्तिको कुरा गर्नु भनेको जातिहरुको आपसमा अन्तरद्वन्द्व बढाउनु हो ।

कम्युनिष्ट र देशभक्ति

देशभक्तिको सवालमा भने के हो कम्युनिष्टहरु अन्तराष्ट्रियतावादी हुन्छन् भनिन्छ । तर, म जहिले पनि कम्युनिष्टहरुको अन्तराष्ट्रिय गीतका दुईवटा हरफ सम्झन्छु । त्यसमा के भनिन्छ भने मानिसहरुको अन्तराष्ट्रिय जाति हुनेछ । तर, त्यसको दोस्रो हरफमा के भनिन्छ भने ‘आ-आफ्नो ठाउँमा डट ।’

मानिसहरुको अन्तराष्ट्रिय जाति हुनेछ तर, तिमी लड्ने भनेको आफ्नै ठाउँमा हो । यसको अर्थ त्यहाँ राष्ट्रवाद पनि छ, अन्तरराष्ट्रवाद पनि छ ।

हिजो राष्ट्र भनेर आफूलाई चिनाउनेजस्तो, हिजो राजा महाराजाले आफूलाई राष्ट्र भनेर चिनाउने ठाउँमा आज यहाँका सुकुम्बासी, किसान गोठालालाई पुर्‍याउनु पर्नेछ ।

नेपाल नै बिर्सिइने पो हो कि ?

यहाँ नेपालमा गडबड के भइदियो भने नेपालको कुरा गर्दा, बृहत्तर नेपाली राष्ट्रवादको कुरा गर्दा यहाँभित्र भएका थिचोमिचो र भेदभावलाई हामीले बिर्सियौं, जसलाई हामीले मण्डले राष्ट्रवाद भन्यौं । जनताको राष्ट्रवाद कस्तो हुन्छ त ? त्यो चित्रचाहिँ बाहिर आउन सकेन ।

नेपाल भन्ने नै दिमागमा छैन कि भन्ने डर लाग्छ कहिलेकाँहि । धेरैको दिमागमा क्षेत्र मात्र, इलाका मात्र, थर मात्र, आफ्नो गोत्रमात्र आउँला कि भन्ने खतरा बढेर गयो । जबसम्म दिमागमा नेपाल भन्ने चित्र आउँदैन, तबसम्म नेपाल कसरी अगाडि बढ्न सक्छ ?

यसमा के भने समग्र नेपालका हातगोडा र अंग प्रत्यंग भनेका मगर, राई, लिम्बु, गुरुङ, क्षेत्रीबाहुन, मधेसी र दलितहरु हुन् । उनीहरुमा समानरुपमा ब्लड सर्कुलेसन हुनुपर्छ है । तबमात्र नेपाल भन्ने शरीर बलियो हुन्छ भन्नेमा मेरो बलियो विश्वास छ । असमानता र भेदवाव हटाइनुपर्छ ।

जस्तो, लोकसेवा दिँदा रसुवामा सिडिओ हुन चाहने मान्छेले तामाङ भाषा जानेको होस्, तामाङ संस्कृति बुझेको होस् र तामाङको मनोविज्ञान बुझोस् । त्यसका निम्ति एउटा पेपर राखौं, राष्ट्रभाषाहरुको ।

यसो गर्दा तामाङ भाषाको संरक्षणका लागि तामाङ मात्र चिन्तित हुनुपर्ने अवस्था समाप्त हुन्छ र बाहुनले पनि पढ्छ ।

जसलाई कास्की वा लमजुङमा जानु छ, उसले गुरुङ संस्कृति, भाषा र मनोविज्ञान बुझेर जान्छ ।

सारमा भन्नुपर्दा नेपाली राष्ट्रवादलाई बलियो बनाउन नेपालीभित्रका ‘कम्पोनेन्ट’हरुलाई बलियो बनाउनुपर्छ । उनीहरुको भाषा, संस्कृतिको संरक्षण र विकास हुनुपर्छ ।

तर, अहिले राजनीतिक केन्द्रमा जुन छलफल भइरहेको छ, त्यसमा उनीहरुलाई बलियो बनाउने भन्ने कुरा छैन ।

जस्तो, सुदूर पूर्वलाई पहिला पनि लिम्बुवान भनिन्थ्यो, जनताको भाषामा । त्यसलाई लिम्बुवान भन्दा क्षेत्रीबाहुनको केही जानेवाला छैन । कांग्रेस-एमालेको पनि केही जाँदैन । तर, कांग्रेस एमाले लिम्बुवान शब्द सुन्नासाथ तर्सिन्छन् । उनीहरु सबैले नेपाली लेखे राष्ट्रवाद बलियो हुन्छ कि भन्ने खोक्रो कुरा गर्छन् ।

अर्कोतिर, त्यो लिम्बुवानको नाम लिम्बुवान, महान लिम्बुवान वा महान-महान लिम्बुवान भने पनि त्यो लिम्बुवानमा बस्ने जातिहरुको विकास, भाषाको संरक्षण हुन सकेन र आर्थिक रुपमा सम्पन्न तुल्याइएन भने त्यो नामले के गर्छ ?

त्यसैले यहाँ विभेदको पनि अन्त्य गर्नुछ र यहाँ विविधतालाई पनि समेट्नुछ । तर, अहिले सारमा छलफल भइरहेको छैन ।

(राजकुमार श्रेष्ठसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?