+
+

धनराज गुरुङ र गगन थापामाथि छानबिन गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

सभामुखलाई पाण्डेको आग्रह : कि प्रमाणित हुनुपर्‍यो, नभए संसदको रेकर्डबाट मेटाउनुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १३:३१

८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्ना उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामाथि लगाएको आरोपको छानबिन गर्न माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेले आइतबार आफ्ना उपसभापति गुरुङ र  महामन्त्री थापामाथि लगाएको आरोप पुष्टि गर्न आग्रह गरेका हुन् ।

गत आइतबार गृहमन्त्री लामिछानेले संसदमा गुरुङलाई कुटनीतिक राहदानी दुरुपयोग र थापालाई कृषि अनुदान दुरुपयोग र विदेशीलाई सूचना बेचेको आरोप लगाएका थिए ।

पाण्डेले छानबिन समिति बनाएर ती आरोपहरु पुष्टि गर्न चुनौती दिए । ‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि जसरी उहाँले लाञ्छना लाउनुभएको छ । म चुनौती दिन चाहन्छु– के कस्तो खालको टिओर बनाउनुपर्ने हो बनाउनुहोस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओरमा लेख्नुपर्ने हो कि, व्यक्तिको लेख्नुपर्ने हो कि, नेपाली कांग्रेस पार्टीको लेख्नुपर्ने हो लेख्नुस् । छानबिनको समय पनि तोक्नुहोस्’, पाण्डेलले भने ।

छानबिनपछि आउने निष्कर्ष स्वीकार गर्न आफूहरु तयार रहेको उनले बताए । ‘…हाम्रो उपसभापति रमहामन्त्री दोषी हुनुभयो भने उपसभापति र महामन्त्री त के कांग्रेसका को कोलाई कारबाही गर्नुपर्छ गर्नुहोस्’, उनले भने ।

पाण्डेले गृहमन्त्रीले राष्ट्रको सूचना बेच्ने व्यक्ति संसदमै छन् भनेको भन्दै पाण्डेले त्यो व्यक्ति देखाउन चुनौती दिए । ‘राष्ट्रिय सूचनाहरु बेच्ने एजेन्टहरु यही सदनमा छन् भन्नुभएको छ । गृहमन्त्रीज्यू को हो त्यो एजेन्ट देखाउनुहोस् । उसलाई यो सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्छौं । तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने माननीय गृहमन्त्रीज्यू तपाईंलाई यो सदनबाट गलहत्याउन, त्यो कामबाट पनि हामी चुक्ने छैनौं’, पाण्डेले भने ।

गृहमन्त्रीले लगाएका आरोपहरुमाथि छानबिनका लागि सांसद पाण्डेले सभामुखसमक्ष रुलिङको माग समेत गरेका छन् । पाण्डेले गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा बरबराएको टिप्पणी गरे ।

‘उहाँ बोल्न उभिनुभएन रोष्ट्रममा, लामो समय बरबराउनुभयो । बरबराउनुमात्रै भएन लाखौं करोडौं मानिसलाई उहाँले बराल्ने काम पनि गर्नुभयो । थुप्रै त्यस्ता विषयहरुको जवाफ हामी आगामी दिनमा दिँदै जानेछौं’, पाण्डेले भनेका छन् ।

पाण्डेले गृहमन्त्रीले लगाएको आरोप सत्य प्रमाणित गर्न वा संसदको रेकर्डबाट मेटाउन सभामुखलाई आग्रह गरे । ‘उहाँले लगाएका आरोपहरु यदि सत्य हुन् भने प्रमाणित गरेर देखाउनलाई सभामुखज्यूको रुलिङ चाहियो । होइन भने संसदको रेकर्डबाट हटाउनका लागि म आग्रह गर्न चाहन्छु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?