+
+

नेम्वाङले शीर्ष नेतालाई किन दाँजे हात्तीसँग ?

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ९ गते २०:४६
फाइल फोटो
फाइल फोटो

९ पुस, काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलहरुलाई हात्तीको संज्ञा दिएका छन् । नेताहरुको झगडाबाट दिक्क बनेका उनले शीर्ष नेताप्रति कटाक्ष गर्न हात्तीको विम्ब निकालेका हुन् ।

सहमति हुँदा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन तयार हुने नेताहरुले नमिल्दा तपशिल कि अनुसूची भनेर विवाद गर्ने गरेको उनले सुनाए ।
नेपाल पत्रकार महासंघले बुधबार राजधानीमा आयोजना गरेको गोष्ठीमा सभाध्यक्ष नेम्वाङले भने-‘हात्तीको विचमा माया प्रिती बस्दा पनि जंगललाई अफ्ठ्यारो, रिसाएर झगडा गर्दा पनि जंगललाई अफ्यारो ।’

केपी ओली नआएको भन्दै प्रमुख चार दलको बैठक स्थगित भएको प्रशंग उठाउँदै सभाध्यक्ष नेम्वाङले यो अविश्वास र तिक्तताको नमुना भएको बताए ।

‘दलहरुको बीचमा विश्वास हुँदा १५ मिनेट होइन, आधा घन्टा होइन, २ घन्टासम्म पर्खछन् । एकअर्काको शयनकक्षमा समेत प्रवेश गर्थे । अचम्म अचम्मको निर्णय गर्थे’ उनले भने-अहिले दलहरुबीच दूरी बढेको छ ।’

उनले नेताप्रति थप कटाक्ष गर्दै भने-दलहरु हिजो मिलेको बेलामा एउटा पक्षको लडाकुलाई शिविरमा राखेर निर्वाचनमा जान तयार भए । जब तिक्तता देखा पर्यो त्यो लडाकू रहेसम्म त संविधान एक इन्च पनि अघि बढ्दैन भन्न थाले ।’

दलहरुबीच सहमति हुँदा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन चुट्कीको भरमा बाधा अड्काउ फुकाएको उनले सुनाए । उनले भने-झगडा गर्न लागेपछि तपाई हामी छक्कै पर्ने गरेर अनुसूची र तपसिल भनेर झगडा गर्न थाल्नुहुन्छ ।’

दलहरुबीच भएको विवादकै कारण सम्वाद समितिमा भएका समस्यालाई पोको पारेर संविधानसभामा पठाउने काम भएको भन्दै उनले समस्या ज्यूँ का त्यूँ रहेको बताए ।

टाउको दुखेको दबाइ नाइटामा लगाइ भने जस्तो गर्न नहुने भन्दै उनले दलहरुलाई विश्वास गर्न आग्रह गरे । ‘यत्रो अविश्वास नगर्नुस् । संसार परिर्वतन गर्छु भन्ने दलहरु छन् र गरेर पनि देखाएका छन् । यी नेताले गरेनन् भने कसले गर्ने ?’

दलहरु एक वर्षमा संविधान बनाउँछु भनेर जनतामा गएको र जनताले जनादेश दिएर पठाएको भन्दै उनले भने-उनीहरु गरेनन् भने अरु कसले सक्छ ? दुई घन्टामा टुंग्याउनु भो भने माघ ८ मा संविधान जारी हुनसक्छ ।’

दलहरुबीच सहमति गर्ने क्षमता भएको तर, अविश्वासले नभएको भन्दै सभाध्यक्ष नेम्वाङले भने-प्रदेश संख्यामा ठूलो विवाद छैन । दुबै पक्ष लचिलो छ । ६ कि ८ कि ९ कि लचिलो छ । अन्य कुरामा लचिलो । सानातिना कुरा मिलेको छैन । एकदमै नजिक पुग्नु भएको छ । दुई घन्टामा सहमतिमा पुग्न सकिन्छ भन्ने एकदम यर्थाथ हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?